बीबीए टपर फुर्वा भन्छिन् :  पाठ्यक्रमबाहिरका कुरा पनि पढे राम्रो अंक आउँछ

३.९८ जीपीए ल्याएकी उनले भाइस चान्सलर पदक पाइन्

पुस १०, २०८२

सुदीप कैनी

BBA topper Phurwa says: Studying outside the curriculum will help you get good marks

What you should know

काठमाडौँ — कक्षामा प्राय: प्रथम भइराख्ने फुर्वा शेर्पाले त्रिविको व्यापार प्रशासन (बीबीए) मा सर्वोत्कृष्ट नतिजा ल्याएर इतिहास रचेकी छिन् । रामेछापकी उनले काठमाडौंको गोल्डेन पिक हाइस्कुलबाट एसईई र ग्लोबल कलेजबाट कक्षा १२ पास गरेकी थिइन् । 

यी दुवै परीक्षामा उनी स्कुल र कलेज टपर थिइन् । स्नातक तहमा भने उनी विश्वविद्यालय टपर छात्रको रूपमा दरिइन् । ‘कहिलेकाहीँ मात्र कक्षामा दोस्रो, तेस्रो हुन्थें । धेरैजसो पहिलो नै भइराख्थें,’ त्रिविको दीक्षान्त समारोहस्थल दशरथ रंगशालामा भेटिएकी उनले भनिन्, ‘कक्षा १२ व्यवस्थापन संकायबाट गरे । बीबीएमा स्नातक पूरा भयो । तत्काल स्नातकोत्तर गर्ने रुचि छैन ।’

 केही समय कामको अनुभव गर्ने अनि रुचिअनुसारको विषयमा स्नातकोत्तर भर्ना हुने उनले भनाइ छ । ‘के विषयमा स्नातकोत्तर गर्ने निर्णय गर्न सकेको छैन । मेरो रुचिको क्षेत्र लेखा (एकाउन्ट हो । केही समय अभ्यास गर्छु । त्यसपछि थप उच्चशिक्षाका लागि भर्ना हुन्छु ।’

उनीले शंकरदेव क्याम्पसबाट बीबीए गरेकी हुन् । भर्नाका लागि लिएको प्रवेश परीक्षामा पनि उनी दोस्रो भएकी थिइन् । हरेक दिन मेहनत गरेर पढ्न सके नतिजा राम्रो प्राप्त हुने उनको विश्वास छ । शेर्पाले भनिन्, ‘नयाँ-नयाँ कुरा हरेक दिन पढ्नुपर्छ । उच्चशिक्षामा पाठ्यक्रमभन्दा बाहिरको पनि पढ्नुपर्छ । लेख्ने तरिका पनि बुझेको हुनुपर्छ ।’ 

पाठ्यक्रमबाहिरका सँगै आफ्नो विषयसँग मिल्ने देशभित्र र बाहिरका कुरा पनि पढे अंक ल्याउन सजिलो हुने उनले बताइन् । उनले ३.९८ जीपीए प्राप्त गरेकी थिइन् । दीक्षान्त समारोहमा उनलाई शिक्षामन्त्री तथा त्रिविका सहकुलपति महावीर पुनले भाइस चान्सलर पदक प्रदान गरे । उनी स्नातक तहमै सर्वप्रथम भएकी हुन् । ‘धेरै विद्यार्थी राम्रो नतिजा ल्याएपछि विदेश जाने भन्छन् । मलाईचाँहि नेपालमै उच्चशिक्षा पढ्ने र सेवा गर्ने इच्छा छ,’ उनले भनिन् । 

सुदीप कैनी कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully