सरकारी जागिरे बने त्रिविको गोल्ड मेडलिस्ट

जागिरे जीवनबाट फुर्सद निकालेर पढेका कमल पौडेल एमए, अर्थशास्त्रमा ३.७७ जीपीए ल्याउँदै नेपाल टप गरे

पुस १०, २०८२

सुदीप कैनी

Tribhuvan University gold medalist becomes government employee

What you should know

काठमाडौँ — पाल्पा तानसेनका कमल पौडेलले एमए अर्थशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्कृष्ट नतिजा ल्याए । बुटवल बहुमुखी क्याम्पसबाट ३.७७ जीपीए ल्याएका उनले त्रिविको ५१ औं दीक्षान्त समारोहमा ३ वटा पदक तथा पुरस्कार पाए । 

उनले त्रिविबाट तारापद चौधरी स्वर्ण पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार प्राप्त गरे । पेसाले भने उनी ९ वर्षदेखि सरकारी कर्मचारी हुन् । 

उनी यातायात व्यवस्था विभागअन्तर्गत बुटवल सवारी परीक्षण कार्यालयमा कार्यरत छन् । कक्षा १२ मा विज्ञान, स्नातक तहमा इन्जिनियरिङका विद्यार्थी पौडेलले स्नातकोत्तरमा भने अर्थशास्त्र विषय रोजेका थिए । ‘अर्थशास्त्रबारे बुझ्ने र ज्ञान लिने भोक थियो,’ उनले भने, ‘बिहान, बेलुका फुर्सदको समयमा अध्ययन गरे राम्रो नतिजा आयो ।’

उनले तानसेनकै पदम पब्लिक नमुना सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए । तानसेनमा नै विज्ञान विषयमा कक्षा १२ पास गरे । काठमाडौंस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा उनले स्नातक गरे ।

अर्थशास्त्र अध्ययन गरेर प्राप्त गरेको ज्ञानलाई पनि प्रयोग गर्न कोसिस गर्ने उनको भनाइ छ । ‘जागिरसँगै समय निकालेर पढेँ । पेसाभन्दा बाहिरको ज्ञान लिउँ भनेर पढेको हो,’ उनले भने, ‘उच्चशिक्षामा स्वअध्ययन ठूलो कुरा हो । नतिजा राम्रो आयो । ज्ञानका लागि पढेको थिएँ । सर्वोत्कृष्ट भए पछि खुसी लागेको छ ।’ 

समय मिलेका बेला आफ्नो रुचिको विषय अध्ययन गर्न उनी सुझाव दिन्छन । ‘कार्यालय समय अघि, पछाडि पढेर नतिजा ल्याएको हुँ । अर्थशास्त्र बुझ्ने रुचि थियो । नयाँ विषयले झन् पास गर्न सकिँदैन भन्ने त्रास भयो । थप धेरै मेहेनत गरियो । इन्जिनियरिङ पढेको भनेर अर्थशास्त्रमा भर्ना नभएको भए राम्रो नतिजा सम्भव थिएन,’ उनी भन्छन् । 

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully