सरकारले जेन-जीसँग गरेको सम्झौता कार्यान्वयनबारे प्रधानमन्त्रीसँग कुरा राख्यौं : सोबिता गौतम

'संविधान संशोधन कार्यदलको कुराहरूमा त्यो विषय कसरी समेट्न सकिएला र आगामी दिनहरूमा हामीले २१ वर्षमा संघीय निर्वाचनमा भाग लिन सक्ने कसरी गराउन सक्छौं भन्ने बारेमा कुरा गर्‍यौं ।'

पुस ६, २०८२

कान्तिपुर संवाददाता

We spoke to the Prime Minister about the implementation of the agreement signed by the government with Gen-G: Sobita Gautam

What you should know

काठमाडौँ — सरकार र जेन-जीका विभिन्न समूहबीच भएको सम्झौताको कार्यान्वयन अवस्थाबारे रास्वपाले प्रधानमन्त्री सुशीला कार्कीसँग चासो राखेको छ ।

रास्वपा सभापति रवि लामिछानेसहितका पदाधिकारीले आइतबार प्रधानमन्त्रीसँग गरेको भेटका क्रममा सरकार र जेन-जीबीच भएको सम्झौता कार्यान्वयनको विषयमा कुरा भएको रास्वपा सचिवालय सदस्य सोबिता गौतमले जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीसँगको छलफलका विषयमा पत्रकारहरूलाई जानकारी दिँदै रास्वपा सचिवालय सदस्य गौतमले सरकार र जेन-जीबीच मंसिर २४ मा भएको सम्झौता कार्यान्वयनको अवस्थाबारे पार्टीका तर्फबाट चासो राखिएको बताइन् । 'भदौ २३ र २४ को घटनासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीसँग धेरै कुरा भए । त्यसमा जेन-जी उमेर समूहका साथीहरूले सरकारसँग सम्झौता पनि गर्नुभयो । त्यो सम्झौतामा उठाएका विषयवस्तु कार्यान्वयनको अवस्था के छ र सरकारले अहिले ती सम्झौता कार्यान्वयन गर्न के गरिरहेको छ ? भन्ने कुरा उठायौं,' गौतमले भनिन् ।

कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा चुनाव गराउने म्यान्डेट पाएको कुरा उल्लेख गर्दै गौतमले निर्वाचन सम्पन्न गर्न सरकार लाग्नुपर्ने कुरा राखेको जानकारी दिइन् । संविधानले प्रतिनिधिसभामा उम्मेदवार बन्नका लागि २५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था गरेको छ तर जेन–जी उमेर समूहले २१ वर्षमा नै किन नगर्ने ? १८ वर्षमा किन नगर्ने ? भन्ने खालका प्रश्न उठाइरहेको अवस्थामा भविष्यमा संविधान संशोधन गरेर सांसदको उम्मेदवार बन्न २१ वर्षको उमेर राख्नेबारे के गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको उनले जानकारी दिइन् । 'संविधान संशोधन कार्यदलको कुराहरूमा त्यो विषय कसरी समेट्न सकिएला र आगामी दिनहरूमा हामीले २१ वर्षमा संघीय निर्वाचनमा भाग लिन सक्ने कसरी गराउन सक्छौं भन्ने बारेमा कुरा गर्‍यौं,' उनले भनिन् । 

मुलुकमा राजनीतिक संकट नआओस् भन्नका लागि रास्वपाले खेलिरहेको भूमिका र पार्टीले निर्वाचन तयारी गरिरहेको सम्बन्धमा पनि प्रधानमन्त्रीसँगै मन्त्रीहरूलाई जानकारी गराएको गौतमको भनाइ थियो ।

पार्टी सभापतिको जिम्मेवारीमा रवि लामिछाने फर्किएको जानकारी प्रधानमन्त्री कार्कीलाई गराइएको गौतमले जानकारी दिइन् । 'प्रधानमन्त्री र मन्त्रीहरूसँग आजको संवाद सभापति लामिछाने पार्टीमा औपचारिक रूपमा कार्यभार सम्हालेर उहाँ आइसक्नुभएको छ भनेर औपचारिक रूपमा सरकारलाई जानकारी पनि गरायौं । राजनीतिक हिसाबले सरकारलाई जानकारी गराउनु हाम्रो दायित्व ठान्यौं,' गौतमले भनिन् ।

विगतको सरकारको पालामा सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर 'अधिक अभियोजन' गरिएको विषय पनि प्रधानमन्त्रीसँग राखिएको उनले जानकारी दिइन् । प्रधानमन्त्री कार्की र अहिलेको सरकारका मन्त्रीहरूले विगतमा लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्ने अभिव्यक्ति दिएको स्मरण गराइएको र त्यसमा सरकारको क्षेत्राधिकार रहेको विषयसम्म सच्याउन आग्रह गरिएको पनि उनले बताइन् ।  

बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए । रास्वपाको तर्फबाट सभापति लामिछानेसँगै उपसभापति डीपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, सचिवालय सदस्य गौतम र शिशिर खनालको सहभागिता थियो ।

कान्तिपुर

Link copied successfully