प्रधानमन्त्रीसँग रविले भने : ‘समयमै चुनाव हुनुपर्छ, संक्रमणकाल लम्बिनु देशले दुःख पाउनु हो’

प्रधानमन्त्री सुशीला कार्कीले रास्वपा नेताहरूलाई भनिन् - 'फागुन २१ मा चुनाव सकेर हात धोएर घर जान पाए हुन्थ्यो भन्ने कुरा मात्रै दिमागमा आइरहेको छ'

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Ravi told the Prime Minister: 'Elections should be held on time, prolonging the transition period will cause suffering to the country'

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी फागुन २१ मा घोषित चुनाव सम्पन्न गर्नका लागि सम्पूर्ण शक्ति लगाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भनेका छन् ।

प्रधानमन्त्री कार्कीलाई भेट्न आइतबार साँझ बालुवाटार पुगेका लामिछानेले रास्वपा पूर्णतः चुनावमा लागिसकेको पनि जानकारी दिएका थिए । 

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार रास्वपा सभापति लामिछानेसहितका नेताहरूले सरकारका गतिविधि चुनावमा केन्द्रित हुनुपर्नेमा कुरामा जोड दिएका थिए । रावलका अनुसार सभापति लामिछानेले भनेका थिए, 'समयमै चुनाव हुनुपर्छ । चुनाव हुन नदिनका लागि विभिन्न पक्षबाट अनेक बहाना र बखेडा आउन सक्छन्, त्यसमा सरकार सतर्क हुनुपर्छ। संक्रमणकाल लम्बिने भनेको देशले दुःख पाउनु हो ।'

सभापति लामिछानेले रास्वपा चुनावमा लागिसकेको र अन्य राजनीतिक दलहरू पनि त्यसतर्फ अगाडि बढेको आफूलाई महसुस भएको प्रधानमन्त्री कार्कीलाई बताएको रावलले जानकारी दिए । 'हामी चुनावमा फूल फ्लेजमा लागिसक्यौं । समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची लगभग टुंगो लागिसक्यो । उम्मेदवारका अनुहार स्पष्ट भइसके । अरू दलहरूले पनि उम्मेदवार छानिराखेको देख्दा भित्री तयारीमा हुनुहुन्छ भन्ने विश्वास छ,' लामिछानेले भनेका थिए । रास्वपालाई चुनाव चाहिएको र सरकारले चुनाव गराउँछु भनिरहेकाले अब मुलुकमा चुनावको माहोल ल्याउनुपर्ने लामिछानेको भनाइ थियो ।

प्रधानमन्त्रीका प्रेस संयोजक रावलका अनुसार लामिछानेले सरकार र जेन-जीबीच भएको सम्झौता कार्यान्वयनको अवस्थाबारे पनि चासो राखेका थिए । उनले घाइतेबारे सरकारको सचेत छ कि छैन भनेर पनि सोधेका थिए । निर्वाचन आयोग र सुरक्षा निकायलाई विश्वासमा लिएर तथा ती संयन्त्रलाई पर्याप्त स्रोत साधन उपलब्ध गराएर चुनाव गराउनका लागि तम्तयार राख्नुपर्ने सुझाव पनि लामिछानेले सरकारलाई दिएका थिए । 

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले चुनावले मात्रै मुलुकमा शान्तिको वातावरण बनाउने बताएको रावलले जानकारी दिए । 'हामी शान्ति होस् भन्ने चाहन्छौं, शान्ति चुनावले मात्रै गर्न सक्छ । संक्रमणकाल लम्बिन हुँदैन भन्ने कुरा रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले राख्नुभएको थियो,' रावलले भने । 

रास्वपा सभापति लामिछाने र अन्य नेताहरूका कुरा सुनेपछि प्रधानमन्त्री कार्कीले आफ्नो ध्यान फागुन २१ का लागि घोषित चुनाव सम्पन्न गराउने मात्रै रहेको बताएकी थिइन् । प्रेस संयोजक रावलका अनुसार  प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, 'फागुन २१ मा चुनाव सकेर हात धोएर घर जान पाए हुन्थ्यो भन्ने कुरा मात्रै दिमागमा आइरहेको छ । तपाईंहरू पनि चुनावमा लाग्नुस् । अरू दलहरूलाई विश्वासमा लिएर चुनावमा जानका लागि हाम्रो ठाउँबाट हामी प्रयास गर्छौं, तपाईंको तर्फबाट पनि लाग्नुहोला ।'

बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए । रास्वपाको तर्फबाट सभापति लामिछानेसँगै उपसभापति डीपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, सचिवालय सदस्य सोबिता गौतमलगायतको सहभागिता थियो । 

कान्तिपुर

Link copied successfully