भैरहवा उडान नभएपछि भरतपुर हुँदै बुटवल जाँदै लामिछाने

शुक्रबार बिहान ७ नबज्दै काठमाडौंस्थित त्रिभुवन विमानस्थल पुगेका लामिछाने दिउँसाेसम्म भैरहवाकाे माैसम नखुलेपछि भरतपुर विमानस्थल भएर गाडीमा बुटवल जाने लागेका हुन् ।

पुस ४, २०८२

कान्तिपुर संवाददाता

Lamichhane going to Butwal via Bharatpur after no flight to Bhairahawa

काठमाडौँ — बाक्लाे हुस्सुका कारण भैरहवा विमानस्थलमा उडान हुन नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने भरतपुर भएर बुटवल जान लागेका छन् ।

सहकारी ठगी मुद्दामा तुलसीपुर उच्च अदालतको बुटवल इजालासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको गत साउन २६ गतेको आदेश बदर गर्दै बिहीबार बिगो बराबरको बैंक जमानत लिएर शर्तसहित लामिछानेलाई थुनामुक्त गर्न आदेश गरेको थियो ।

लामिछाने रिहा हुनका लागि रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भएर कागज गर्नुपर्ने अदालतको आदेश भएकाे थियाे । ललितपुरकाे नख्खु कारागारमा रहेका उनी त्यसकै लागि भैरहवा आउने तय भएकाे थियाे । 

शुक्रबार बिहान भैरहवा जान खाेजेका लामिछाने काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा राेकिएका थिए । बिहान ७ नबज्दै विमानस्थल पुगेका उनी दिउँसाेसम्म भैरहवाकाे माैसम नखुलेपछि भरतपुर विमानस्थल भएर गाडीमा बुटवल जाने भएका हुन् । लामिछाने काठमाडाैंबाट दिउँसाे २ बजेतिर भरतपुर भएर बुटवल गइरहेकाे रास्वपा नेता गणेश पराजुलीले बताए । 

लामिछाने थुनामुक्त हुने प्रक्रिया पूरा गर्न शुक्रबार जिल्ला अदालत रुपन्देही उपस्थित हुने भएपछि बिहानैदेखि जिल्ला अदालत परिसर र गाैतमबुद्व विमानस्थल बाहिर कार्यकर्ता प्रतीक्षामा छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully