मत परिणामको ताजा अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । बिहीवार पार्टी शपथग्रहण लगत्तै पार्टी कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनी गरिएको उल्लेख गर्दै आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिए । उनले भने, 'एमालेको नेतृत्वमाथि प्रचारको हल्लाले भएन । अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्महरूको फेरि थालनी गर्ने हल्ला मच्चाइएको छ । यो मिडिया ट्रायल यथार्थ हल्ला हुन सक्छ । म तपाईँहरूलाई भन्न चाहन्छु, एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नुपर्दछ । ढालिनेछ यो सरकार । यसका निम्ति नेकपा (एमाले)ले देशभरिबाट तयारी हालतमा बस्नुपर्दछ ।'
तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीचको सम्झौता अवैध भएको बताएका छन्। उनले सरकारले अनधिकृत रूपमा जेन–जीसँग सम्झौता गरेको भन्दै उक्त सम्झौतालाई नाटकको संज्ञा दिए ।
उनले भने, ‘त्यो कला नभएको नाटक हो। भद्दा नाटक हो। देशलाई असहजतातर्फ धकेल्ने नाटक हो। त्यसैले एमाले त्यसलाई खारेज गर्दछ। लागू हुन दिँदैन।’ उनले राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने पनि बताए ।
तेस्रो कार्यकालमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले चुनावको तयारी नगरी षड्यन्त्रको तयारी गरिरहेको बताएका छन्। सपथग्रहणपछि बोल्दै उनले सरकारले अनधिकृत धाक लगाउने काम गरिरहेको बताउँदै भने, ‘त्यसलाई हामी सशक्त रूपमा अस्वीकार गर्छौँ।’ उनले राष्ट्रलाई अदालतले विकल्प दिने बताउँदै सरकार असंवैधानिक तरिकाले गठन भएको बताए।
उनले २४ गते अचानक धोका भएको बताउँदै भने, ‘अहिले देशमा अराजकता मच्चाउन खोजिएको छ। हामी त्यसलाई रोक्छौँ।’
एमाले ११औं महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमा खसआर्य समुदायका पुरुषको वर्चस्व देखिएको छ। जम्बो पदाधिकारी टीम निर्वाचित हुँदा महिला र दलित समेत १/१ जनामात्रै परेका छन्।
पदाधिकारीमा एमालेले समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छैन। जसका कारण पार्टीको निर्णायक भूमिकामा रहने पदाधिकारीमा महिला र दलितको प्रतिनिधित्व न्यूनमात्रै भएको छ भने मुस्लिम र थारु समुदाय छुटेका छन्। अध्यक्षमा केपी शर्मा ओली तेश्रो कार्यकालका लागि निर्वाचित हुँदा पाँच उपाध्यक्ष चयन भए। तर महिला अँटाएनन्। संविधान र कानुनले राज्यका हरेक निकायमा सबै जातजाति र समुदायको समावेशी समानुपातिक प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ।
१९ पदाधिकारीमध्ये १८ जना पुरुष अर्थात् ९४.७४ प्रतिशत छन् भने सचिवमा महिला पद्माकुमार अर्याल एक जनामात्रै निर्वाचित भएकी छन्। मधेसी समुदायका रघुवीर महासेठ उपमहासचिव निर्वाचित भएका छन्। सचिवमै दलित समुदायका छविलाल विश्वकर्मा दोहोरिएका छन्।
जनजाति समुदायका पृथ्वीसुब्बा गुरुङ र रामबहादुर थापा बादल उपाध्यक्ष तथा सचिवमा शेरधन राई निर्वाचित भएका छन्।
जातीय क्लष्टरका आधारमा सबैभन्दा धेरै खसआर्य समुदायको ७३.६८ प्रतिशत, आदिवासी जनजाति १५.७९, महिला, मधेसी र दलित ५.२६ प्रतिशत प्रतिनिधित्व भएको छ। थारु र मुस्लिम समुदाय भने पदाधिकारीमा समेटिएनन्। प्यानलै बनाएर दुई समूहको उम्मेदवारी पर्दा यी समुदायबाट उम्मेदवारी नै परेन।
एमालेको उपाध्यक्षमा पराजित बिन्दा पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
त्यस्तै, सचिवमा प्रतिस्पर्धा गरेकी रचना खड्का पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
उनीहरु खुल्ला केन्द्रीय सदस्यबाट निर्वाचित भएका हुन् । सचिवको प्रतिस्पर्धा गरेका गोकुल बास्कोटा पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन्। केन्द्रीय सदस्य उठेकी उषाकिरण तिम्सिना भने पराजित भएकी छन्।
एमालेको ११औं महाधिवेशनमा मधेसी महिलातर्फ सविता यादवले सर्वाधिक मतसहित विजयी भएकी छन्। केन्द्रीय सदस्य समावेशी मधेशी महिलातर्फ उम्मेदवार बनेकी यादवले २ हजार ५२ मत प्राप्त गरेकी छन् ।
मधेशी महिलातर्फ ६ केन्द्रीय सदस्यका लागि ७ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये यादवले सबैभन्दा धेरै मत ल्याएर विजयी भएन् ।
मधेसी महिलातर्फ ज्वालाकुमारी साह, रामरती देवी राम, प्रतिक्षा तिवारी, सरिता कुमारी गिरी (यादव) र जुली कुमारी महतो विजयी भएका छन्।
एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्य भुगोल सुदूरपश्चिम महिलातर्फ लीला कुमारी भण्डारी, कमला कुमारी ओली र भगिरथी सिंह विजयी भएका छन् । उनीहरूमध्ये भण्डारीले १५ सय ९२, ओलीले १५ सय ७१ र सिंहले १४ सय ३१ मत ल्याएर विजयी भएका हुन् । यस पदका लागि ७ जनाले प्रतिस्पर्धा गरेका थिए ।
निर्वाचित १९ पदाधिकारीमा एक्ली महिला बनेकी छिन, पद्माकुमारी अर्याल । उनी १५ सय ३० मत ल्याएर विजयी भएकी हुन् ।
१९ पदाधिकारीको प्रतिस्पर्धामा पद्माकुमारीका अलवा सचिव पदमै रचना खड्का र उपाध्यक्ष पदमा बिन्दा पाण्डे पनि प्रतिस्पर्धामा थिइन् । रचनाले ८ सय ७७ मत र पाण्डेले ९ सय २१ मत ल्याएर पराजित भइन् ।
जेन-जी विद्रोहपछि अध्यक्ष ओलीको पक्षमा खुलेर सार्वजनिक भएका महेश बस्नेत ११औं महाधिवेशनबाट सबैभन्दा धेरै मत प्राप्त गरेर सचिवमा विजयी भएका छन् ।
एमालेको ११औं महाधिवेशनबाट निर्वाचित ९ सचिवमध्ये सबैभन्दा धेरै मत महेश बस्नेतले प्राप्त गरेका छन् ।
एमालेको ११औं महाधिवेशनबाट निर्वाचित ९ सचिवमध्ये सबैभन्दा धेरै मत महेश बस्नेतले प्राप्त गरेका छन् । बस्नेतले १५४४ मत पाए ।निर्वाचित ९ सचिवमा पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले (११८१) र भानुभक्त ढकालले ११०८ मत प्राप्त गरे ।
एमाले महाधिवेशनको उपाध्यक्षको पदमा सबैभन्दा धेरै मत पृथ्वीसुब्बा गुरुङले ल्याएका छन्। उनले १,७३७ मत ल्याएका छन्। जेन–जी विद्रोहअघिको सरकारमा उनी सूचना तथा संचार मन्त्री थिए।
त्यस्तै, त्यतिबेला नै अर्थ मन्त्री रहेका विष्णुप्रसाद पौडेलले दोस्रो धेरै मत अर्थात् १,६७५ मत ल्याएका छन्। तेस्रो धेरै मत भने माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ले पाएका छन्। उनले १,५१६ मत पाए। गोकर्णराज विष्टले १,३६८ र रघुजी पन्तले १,२५८ मत पाए।
एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक विजयी भएपछि उनका शुभेच्छुक र समर्थकहरुमा खुशीयाली छाएको छ ।
मतदान स्थल बाहिर ओली पक्षका समर्थक र कार्यकर्ताहरूले विजयी भएकोमा नाराबाजी गरेका छन्। 'आज होइन, भोलीलाई २० वर्ष ओलीलाई’ भन्दै उनीहरूले नाराबाजी गरिरहेका छन्।
आधा घण्टाभित्र सबै १९ पदाधिकारीको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । त्यहीकारण मतदाताहरु मतगणना स्थलमा बसेर नतिजाको व्यग्र प्रतिक्षा गरिरहेका छन् । ५० प्रतिशत मतगणनाको नतिजा सार्वजनिक हुँदासम्म अध्यक्षमा केपी ओली फराकिलो मतान्तरले अघि छन् ।
एमाले नेतृत्वका लागि करिब ५० प्रतिशत मत गणना सकिएको छ । ११३९ मत गणना गर्दा अध्यक्षमा केपी शर्मा ओली ८४३ मतका साथ अगाडि छन् भने ईश्वर पोखरेलले २९६ मत ल्याएका छन् । महासचिवमा शंकर पोख्रेलले ६१३ मतका साथ अग्रता लिइरहेका छन् भने सुरेन्द्रप्रसाद पाण्डेले ५२६ मत ल्याएका छन् ।
![[LIVE] UML General Convention: Continuous updates](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/59743618820135462891870798627149496461678895n-18122025105241-1000x0.jpg&w=1001&h=0)










