गोवाको नाइटक्लबमा लागेको आगलागीमा परी मृत्यु भएका पाँच नेपालीको शव परिवारलाई हस्तान्तरण

दूतावासका अनुसार मृत्यु भएका पाँच मध्ये चार शव मंगलबार र बुधबार गरेर नेपाल पुर्याइएको हो ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Bodies of five Nepalis killed in Goa nightclub fire handed over to families

काठमाडौँ — भारतको पर्यटकीय गन्तव्य गोवाको एक नाइटक्लबमा लागेको आगलागीमा परी मृत्यु भएका पाँच नेपालीको शव परिवारलाई हस्तान्तरण गरिएको छ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृत्यु भएका पाँच मध्ये चार जनाको शव मंगलबार र बुधबार गरेर नेपाल पुर्याइएको हो । 

दूतावासका नायब प्रमुख सुरेन्द्रबहादुर थापाका अनुसार एक जनाको शव भने परिवारका सदस्यले भारतमै बुझेर हरिद्वारमा अन्त्येष्टि गरिसकेका छन्। दूतावासले सार्वजनिक गरेको विवरणअनुसार घटनामा दाङ घोराहीका चूर्णबहादुर पुन, सिन्धुली दुधौलीका लीलबहादुर कटवाल (विवेक क्षेत्री), झापाका सविन विश्वकर्मा, डडेलधुराका मनोज झोरा र टिकाराम विकको मृत्यु भएको थियो। दुधौलीका विवेक क्षेत्री रोजगारीको सिलसिलामा पाँच वर्षदेखि गोवाको नाइटक्लबमा काम गर्दै आएका थिए।

आगलागीको उक्त घटनामा जम्मा २५ जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले जनाएका छन्, जसमा पाँच जना पर्यटक समेत थिए ।गोवाका अग्नि नियन्त्रक प्रमुख नितिन भी. राइकरले भारतीय प्रसारणकर्ता ‘सीएनएन न्युज १८’ सँग भनेअनुसार, धुवाँ भवनभर फैलिँदा धेरै व्यक्तिलाई बाहिर निस्कन नसक्दा ज्यान गुमाउनुपर्‍यो। आगो पार्टी चलिरहेको बेला ‘फायर शो’ हुँदा काठका संरचनामा फैलिएपछि भवन छिट्टै धुवाँले ढाकिएको उनको भनाइ छ।

कान्तिपुर संवाददाता

Link copied successfully