रोमानिया, क्रोएसिया र सर्बियाको भिसा भएका नेपाली तस्करको प्रलोभनमा परेर ग्रिस पुग्ने गरेका छन्, कागजातविहीन अवस्था, अमानवीय बासस्थानमा उनीहरूलाई प्रतिघण्टा ५ युरोमा स्ट्रबेरी रोप्न–टिप्न लगाइन्छ ।
What you should know
काठमाडौँ — ग्रिसमा यतिबेला स्ट्रबेरीको सिजन सुरु भएकाले गणेश थापालाई यसको बिरुवा रोप्न भ्याइनभ्याइ छ ।
बुटवल घर भएका उनी राजधानी एथेन्सबाट ट्याक्सीमा झन्डै तीन घण्टामा पुगिने लाप्पा गाउँमा काम गर्छन् । उनीसँगै ७ महिलासहित ३२ नेपाली कृषि श्रमिकको हैसियतमा यहाँ काम गरिरहेका छन् ।
‘सेप्टेम्बरदेखि स्ट्रबेरी सिजन सुरु हुन्छ । यो जुनसम्म चलिरहन्छ । अहिले स्ट्रबेरी रोप्न, फल टिप्न र बजारमा पठाउन भ्याइनभ्याइ छ,’ उनले कान्तिपुरलाई फोनमा भने । ग्रिसमा सबैभन्दा बढी स्ट्रबेरी लगाउने क्षेत्र मानोलाडा हो । ९० प्रतिशत स्ट्रबेरी मानोलाडा क्षेत्रमै उत्पादन हुन्छ । यसभित्र मानोलाडा, नेआ मानोलाडा, नेओ भूप्रासियो, लाप्पा र वार्डा गाउँहरू पर्छन् । जहाँ कम्तीमा चार हजार नेपाली श्रमिक कागजातविहीन हैसियतमा राज्यबाट लुकीछिपी स्ट्रबेरी खेतीमा कार्यरत छन् ।
लगातार मूल्य बढिरहने र करोडौं युरोको मूल्य भएको कृषि उद्योगका रूपमा स्थापित भएकाले पूर्वग्रीक प्रधानमन्त्री जर्ज पापान्द्रेउले स्ट्रबेरीलाई ‘रातो सुन’ को नाम दिएका थिए । ग्रिसमा यो ‘रातो सुन’ पूर्ण रूपमा निर्यातयोग्य उत्पादन हो । उत्पादनको चार प्रतिशत मात्रै स्थानीय बजारमा खपत हुन्छ, बाँकी निर्यात हुने गरेको छ । ग्रिसको फलफूल तथा कृषि सामग्री निर्यातक संघको प्रतिवेदनअनुसार स्ट्रबेरी निर्यात प्रत्येक वर्ष अघिल्ला वर्षको रेकर्ड तोड्दै अघि बढिरहेको छ । सन् २०२४ मा ८० हजार टन स्ट्रबेरीबाट मात्रै ग्रिसले ७ सय १२ मिलियन युरो आम्दानी गरेको थियो ।
स्ट्रबेरी उत्पादन र निर्यात बढ्नुको कारण हो, सस्तो ज्यालामा काम गर्ने नेपालीसहित आप्रवासी श्रमिक ग्रिस पुग्नु ।
त्यस्ता आप्रवासी श्रमिकलाई ग्रिसको गाउँ–गाउँमा पुर्याउन मानव तस्करी गर्ने सञ्जालहरू सक्रिय छन् । युरोपेली संघ (ईयू) का बाह्य सीमामध्ये पर्ने भौगोलिक अवस्थाका कारण ग्रिस युरोप प्रवेश गर्नेहरूका लागि मुख्य ‘गेटवे’ बन्दै आएको छ । विशेषगरी समुद्र मार्ग हुँदै युरोप छिर्न चाहनेका लागि ग्रिस सहज प्रवेशद्वार बनेको छ । धेरै आप्रवासी टर्की र उत्तर अफ्रिकी देशहरूबाट ग्रिस प्रवेश गर्ने गरेका छन् । नेपाली भने रोमानिया र क्रोएसियाबाट ग्रिस प्रवेश गर्दै आएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै करिब ४० हजार नेपाली युरोप गएका थिए, जसमा सबैभन्दा बढी रोमानिया २१ हजार, क्रोएसिया ११ हजार, सर्बिया ३२ सय, पोर्चॅगल १९ सय, स्लोभेनिया ११ सय र अस्ट्रिया १ हजार जना गएका हुन् । उनीहरूमध्ये अधिकांश व्यक्तिगत पहुँच (एजेन्टमार्फत) गएका हुन् ।
सुरुमा लगानी, त्यस पछाडि बन्धक
ग्रिस सरकारले २०२५ का लागि युरोपियन सदस्य राष्ट्रबाहेक बाहिरी देशबाट ल्याउन ८९ हजार आप्रवासी श्रमिकको कोटा तोकेको थियो । जसमा सामान्य श्रमिकका लागि ४१ हजार ६ सय ७०, मौसमी श्रमिकका लागि ४५ हजार ६ सय २० र उच्च दक्ष श्रमिकका लागि २ हजार जनाको कोटा निर्धारण गरेको थियो ।
ती कोटामा नेपालबाट कानुनी प्रक्रियामार्फत श्रमिक लैजान मुस्किल छ । फेरि ९ महिनाका लागि मात्रै मौसमी श्रमिक पठाउने नीति नेपाल सरकारको छैन । सोही कारण ग्रिसको गाउँ–गाउँमा रहेको श्रमिक अभाव पूर्ति गर्न मानव तस्करी भइरहेको छ । तस्करले रोमानिया, क्रोएसिया, सर्बियाको श्रम भिसा भएका नेपालीलाई ग्रिसमा १३ सय युरोसम्म कमाइ हुन्छ भनेर हवाई र स्थलगत मार्गबाट लैजाने गरेका छन् । त्यसरी लाग्ने खर्च भने मानव तस्करले नै बेहोरिदिने गरेका छन् ।
बुटवलका थापा गत १ अप्रिलमा रोमानियाबाट ग्रिस पुगेका हुन् । ‘नेपालमा केआईआई म्यानपावर कम्पनीलाई ५ लाख ५० हजार रुपैयाँ तिरेर रोमानियामा ड्राइभिङ काममा गएको थिएँ । कम्पनीसँग गरिएको करारअनुसार तलब र काम पाइनँ । अर्को कम्पनीले आवासीय कार्ड बनाइदिन्छु, मेरोमा काम गर्न आऊ भनेर लग्यो,’ उनले भने, ‘कार्ड बनाउन लाग्ने रकम मसँग माग्यो । भिसाको म्याद सकिनुअघि त्यो कम्पनीले कार्ड बनाउन सक्दिन भन्दै पैसा फिर्ता दियो । नेपाल फर्केर जान सकिनँ । अन्तिम विकल्प ग्रिस देखें ।’
उनी रोमानियाबाट ग्रिस पुर्याउने स्नेहा थापाको सम्पर्कमा पुगे । ग्रिसमा बसेर स्नेहाले टिकटक र फेसबुकमार्फत रोमानियामा कानुनी हैसियतमा काम गर्नेसँग सम्पर्क गर्ने र कृषि फार्मको ठेक्का लिनेलाई श्रमिक पुर्याइदिने काम गर्छिन् । स्नेहाले नै ग्रिससम्म पुर्याएबापत प्रतिव्यक्ति ट्याक्सी भाडासहित ३५ सय युरो तिर्नुपर्ने, त्यो तलबबाट काटिने र आफूले सम्पर्क गराइदिएको व्यक्तिको फार्ममा गएर काम गर्नुपर्ने सर्त राखेकी थिइन् । त्यो सर्तमा थापासहित ५ जना सहमत भए ।
‘हामीलाई ट्याक्सीमा रोमानियाबाट १४ घण्टामा बुल्गेरिया हुँदै ग्रिस पुर्याइयो । बुल्गेरियाको बोर्डर सजिलैसँग पास भयो । बुल्गेरियाबाट ग्रिसको बोर्डर पनि सहजैसँग पास भयो । हामी लोकलको गाडीमा चढेका थियौं । गाडीमा जाँच भएन । प्रशासनसँग मिलाउने जिम्मा उनीहरूको थियो,’ थापाले भने । उनीहरूलाई बंगाली नागरिकले ठेक्का लिएको फार्ममा पुर्याइएको थियो । ‘हामी ३५ जनामध्ये चार जनासँग मात्रै ग्रिसको शरणार्थी कार्ड छ । पाँच जनासँग मात्रै राहदानी छ । बाँकीसँग राहदानीसमेत साथमा छैन । केहीलाई पुलिसबाट जोगिन मालिकले स्थानीय कार्ड बनाइदिएको छ । मेरो कार्ड बन्ने प्रक्रियामा छ । कार्ड बनाइदियो भने सुरक्षित तरिकाले काम गर्न, बस्न, डुल्न सहज हुने थियो,’ उनले भने ।
उनलाई ग्रिस ल्याउन लागेको खर्च बंगालीले प्रत्येक महिनाको तलबबाट कटाउने गर्छ । ‘मेरो गत महिना मात्रै ग्रिस आउन लागेको पैसा काटेर सकियो । यो पैसा सकाउन ७ महिना लाग्यो । जुन, जुलाई र अगस्ट गरी तीन महिना काम नै भएन,’ उनले भने, ‘फेरि पानी परेका बेला काम बन्द हुन्छ ।’
मानव तस्करले श्रमिकबाट नै आफ्नो प्रचारप्रसार गरिरहेको देखिन्छ । ग्रिस पुगेका नेपालीमाझ एजेन्ट सुस्मिता थापा चर्चित छिन् । उनले रोमानिया, बुल्गेरिया, म्यासेडोनिया, बोस्निया, अल्वाना, टर्की र साइप्रसमा रहेका नेपालीलाई ग्रिस, इटाली, स्पेन र फ्रान्स पुर्याउने गर्छिन् । उनले आफ्नो टिकटकमा भनेकी छन्, ‘कुनै पनि युरोपियन मुलुकमा काम नपाएर वा अवैध भएर बस्नुभएको भए शून्य लागतमा आई डाउन पेमेन्टमा काम गर्न सकिने व्यवस्था छ ।’ उनीमार्फत ग्रिस पुगेका नेपाली श्रमिकले ‘हामी सुस्मिता थापाको मान्छे हौं । हामी सकुशल आइपुगेका छौं । सुस्मिता दिदीलाई धन्यवाद छ । तपार्इंहरू पनि आउने भए सुस्मिता दिदीलाई सम्पर्क गर्नुहोला’ भन्दै भिडियो बनाएर हालिदिएका हुन्छन् । पछिल्लो एक वर्षमा मात्रै उनले १ सय २० भन्दा बढी समूहलाई ग्रिस पुर्याएकी छन् ।
बन्धक श्रम शिविर
करिब १५ वर्ष अघिसम्म ग्रिसमा अल्बेनियन, रोमानियन, बुल्गेरियन र इजिप्सियन कृषि श्रमिकको दबदबा थियो । त्यसयता, प्रत्येक सिजनको सुरुआतमा थोरै बुल्गेरियन र रोमानियन आउँथे । बंगाली, पाकिस्तानीपछि अब नेपाली देखिँदै छन् । अर्कोतर्फ स्ट्रबेरी रोप्न र टिप्न नेपालीको शारीरिक बनोट उपयुक्त मानिन्छ । नेपालीे ‘शान्त स्वभावमा चुपचाप’ काम गर्छन् । अधिकांश नेपाली श्रमिक कागजातविहीन भएकाले देशनिकाला वा पक्राउ पर्ने डरले ठेकेदारसँग प्रतिवाद गरिहाल्दैनन् । यसले नेपाली श्रमिक मुख्य छनोटमा पर्न थालेको पाइन्छ ।
रोमानियामा ९ महिनासम्म काम गरेर स्नेहा थापाको सम्पर्कबाट ग्रिस पुगेकी कोहलपुरकी अनु श्रेष्ठसँग राहदानी छैन । रोमानियाको वैधानिक मानिएको ‘अस्थायी आवासीय पत्र (टीआरसी)’ बोकेर जहाजमा ग्रिसको राजधानी पुगेकी थिइन् । रोमानियाको वैध टीआरसी वाहकलाई युरोपभर भिजिट गर्न पाइन्छ । तर, काम गर्न पाइँदैन ।
‘मलाई स्नेहाले नै होटलको काममा भनेर बोलाएकी थिइन् । यहाँ कृषि श्रमिक भएँ । त्रिपोलीको एउटा कृषि फार्ममा ज्यादै कठिन काम गरिराख्नुपरेको छ । मजस्तै ४० जना नेपाली छौं । कसैको राहदानी साथमा छैन । ठूलो–ठूलो सपना देखाएर छिरायो । ग्रिसमा कार्ड बन्दैन रहेछ । सबै इलिगल छन्,’ भिडियोमा हातको ठेला देखाउँदै उनले भनिन्, ‘लरी ट्रकभित्र बसेर बिहान ७ बजे जान्छौं । १० बजे आफूले बनाएर लगेको खाजा खान्छौं । बेलुका ५ बजेसम्म सकिनसकी काम गर्नुपर्छ ।’
आफ्नो रोजगारदातासँग कृषि श्रमिकको नजिकको सम्बन्ध हुँदैन । तिनीहरूले रोजगारदाताको पूरा नामसम्म थाहा पाउँदैनन् । उनीहरूको सिधा सम्बन्ध ठेकेदार (सुपरभाइजर) सँग रहन्छ । जसले श्रमिक र उत्पादकबीच मध्यस्थको भूमिका खेल्छन् । अधिकांश ठेकेदारले श्रमिक ल्याउने र अनुचित फाइदा लिने गरिरहेका हुन्छन् ।
नेपाली श्रमिकमाझ ‘जति निहुरियो, उति युरो’ भन्ने भनाइ लोकप्रिय छ । उनीहरूलाई प्रतिघण्टा ५ युरो दिइन्छ । तर, कतिपय ठेकेदारले आफूले ल्याउन लगानी गरेको र त्यसको ब्याज लाग्ने भन्दै प्रतिघण्टा साढे ४ युरो मात्रै दिने गरेका छन् । ‘तीन डिग्री चिसोमा काम गर्नुपर्छ । हिउँसँग जुध्नुपर्छ । न बिदा हुन्छ न त समयमा पैसा । इलिगल बन्नु पनि धेरै पीडा रहेछ,’ अनुले भनिन्, ‘काम गर्ने ठाउँमा शौचालय छैन । पानीको बोतल बोकेर शौचालय गर्ने ठाउँ खोज्दै दौडिनुपर्छ ।’ उनीहरूले हरेक दिन आठ घण्टा गरी महिनामा ३० दिन काम गर्न पाएमा मात्रै १ हजार ८० युरोदेखि १२ सय युरोसम्म कमाउँछन् । जसमा खानाबापत १ सय ५० युरो र बसेबापत ५० युरो तिर्नुपर्छ ।
बस्ने ठाउँ भने निकै अस्वस्थकर छ । श्रमिकका आवासीय क्याम्प (अस्थायी प्लास्टिक) विशाल स्ट्रबेरी खेतहरूबीच छरिएका छन् । जसलाई नेपालीले गाई, बाख्रा राख्ने ‘झुपडी/टहरा’ सँग दाँज्ने गर्छन् । एकै कोठाभित्र ३० जनासम्म राखिएको हुन्छ । सानो ठाउँमा बस्ने भएकाले सामाजिक दूरी कायम गर्न असम्भव हुने त्यहाँ कार्यरत उर्मिला योञ्जन बताउँछिन् । ‘हामी बसेको टहरालाई दुई वटा भागमा बाँडेको छ । एउटा कोठामा केटाहरू बस्छन् । एउटामा केटीहरू बस्छौं । सुत्ने बेड छैन । स्ट्रबेरी राख्ने क्रेटमाथि ओछ्यान लगाएर चलाएका छौं । सामान राख्ने ठाउँ छैन,’ उर्मिलाले भनिन्, ‘क्याम्पका अधिकांश भागमा दुर्गन्ध असह्य हुन्छ । शौचालय भनेको जमिनमा खाल्डो खनिएको मात्र हो । त्यहाँ बग्ने पानी छैन । जाडोमा प्रायः बिरामी पर्छौं ।’
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई उर्मिला सर्बिया पुगेकी थिइन् । उनी सुस्मिता थापामार्फत ग्रिस पुगेकी हुन् । ‘युरोपमा बन्धकजस्तै छौं । सिंगो गाउँ नै डिपोर्टटेसन सेन्टरजस्तो लाग्छ । यहाँबाट बाहिर जाउँ भने राहदानी छैन । ठेकेदारको पैसा चुक्ता नभएसम्म काम छोड्न पाइँदैन,’ उनले भनिन्, ‘बिहानदेखि बेलुकासम्म श्रम शिविरमा काम गरिरहेको अनुभव हुन्छ ।’ उनलाई लाग्छ, ‘आफू त्यहाँबाट रिलिज हुनु भनेको नै पक्राउ पर्नु हो ।’
मानव तस्करीविरुद्ध ग्रिसको अभियान
ग्रीक प्रहरीले कृषि फार्मका श्रमिकमाथि शोषण भएको, कागजातविहीन अवस्थामा काममा लगाइएको र मानव तस्कर बढेको भन्दै छापा हान्ने अभियान चलाएको छ । गत ७ अक्टोबरमा ग्रीक प्रहरीले मानव तस्करी गरेको भन्दै २९ वर्षीय एक नेपाली युवतीसहित १० पाकिस्तानी नागरिकलाई पक्राउ गरेको थियो । ती नेपाली युवतीको पहिचान भने खुलाइएको छैन । ८ अक्टोबरमा स्थानीय प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार ती समूहलाई ‘आपराधिक समूहमा संलग्नता, मानव तस्करी, श्रम शोषण, आप्रवासन संहिता र लागूऔषधसम्बन्धी कानुन उल्लंघनसम्बन्धी मुद्दा’ लगाइएको छ ।
यो समूहबाट एक कृषि फार्ममा बन्धक बनाई खेतीमा लगाएको भन्दै २५ नेपाली श्रमिकलाई पनि उद्धार गरिएको थियो । ती नेपालीलाई ऋणमा पारिएको, अत्यधिक श्रममा लगाइएको, धम्क्याइएको र बेला–बेला कुटपिटसमेत गरेको आरोप छ । उनीहरूलाई अस्वस्थकर र अमानवीय रूपमा राखिएको अवस्थामा उद्धार गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यही दिन फरक–फरक कृषि फार्ममा काममा लगाइएको कानुनी कागजात नभएका सय जनालाई समेत पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार यो समूहले नोभेम्बर २०२४ देखि सामाजिक सञ्जाल प्रयोग गर्दै रोमानियामा कानुनी रूपमा काम गरिरहेका नेपालीलाई ग्रिस ल्याउन आकर्षित गर्दै आएको थियो । ती नेपाली युवतीले ग्रिसको कृषि क्षेत्रमा उच्च तलब दिने भन्दै प्रलोभन देखाउँथिन् । इच्छुक व्यक्तिलाई हवाई मार्ग वा उत्तर म्यासेडोनियाको स्थल सिमाना हुँदै ग्रिस लगिन्थ्यो । कतिपयको खर्च उनीहरूले नै बेहोर्थे । अनि राहदानी जफत गरी बिस्तारै काम गरेर पैसा तिर्नॅपर्ने भन्दै ऋणको भारी बोकाइदिने गर्थे ।
गत जुलाईमा पनि ग्रिसको त्रिपोलीस्थित एक गोदामबाट २६ नेपालीलाई उद्धार गरिएको थियो । जहाँ उनीहरू शौचालयविहीन कोठामा बस्थे । तरकारीका क्रेटमाथि सुत्थे । मानव तस्करीविरोधी इकाइद्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उनीहरूलाई अस्थायी टहरामा बन्द गरी महिनौंसम्म बिनातलब जबर्जस्ती काममा लगाइएको थियो ।
श्रमिकहरूलाई मुख्यतः पेलोपोनिज क्षेत्रको आर्गोलिस, इलिया, अर्काडिया, लकनिया र मेसिनियालगायत स्थानमा रोजगारीमा लगाइएको भेटिन्छ । ग्रीक प्रहरीले जुलाई २०२४ मा पनि नेपाली श्रमिकलाई शोषण गरेको भन्दै दुई नेपालीलाई पक्राउ गरी मानव तस्करीको मुद्दा लगाएको थियो । उनीहरू अझै जेलमा छन् वा सफाइ पाइसकेका छन् भन्ने सार्वजनिक गरिएको छैन ।
ग्रिस हेर्ने जिम्मेवारी पाएका अस्ट्रियाको भियनास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख भरतकुमार रेग्मीका अनुसार जेलमा भएका नेपालीको विवरण प्राप्त भइसकेको छैन । ‘भिसाविहीन नेपालीसहित आप्रवासी श्रमिकलाई आफ्नो देश पठाउन संयुक्त राष्ट्रसंघीय आप्रवासन संगठन (आईओएम) ले हेरिरहेको छ । हामीलाई नेपाल पठाउन प्रत्येक महिनाजसो ८/१० जनालाई ट्राभल डकुमेन्ट मागिरहेको हुन्छ,’ उनले भने ।
दूतावासका अनुसार ग्रिसमा रहेका नेपालीको यकिन विवरण छैन । गैरआवासीय नेपाली संघ, ग्रिसको अनुमानमा झन्डै पाँच हजार नेपाली छन् । जसमध्ये चार हजार नेपाली कागजातविहीन अवस्थामा कृषि क्षेत्रमा काम गरिरहेका छन् । ‘युरोप आउने ठूलो संख्याका नेपाली आफ्नो भिसा रहेको देश छाडेर ग्रिस गइरहेका छन्, यसले समस्या पनि निम्त्याइरहेको छ,’ रेग्मीले भने, ‘कागजातविहीन नेपाली श्रमिकको अवस्था कठिन छ । उनीहरू कानुनी हैसियत पाउने सुविधाबाट वञ्चित छन् ।’
घर नफिर्ने भए जेल
क्रोएसियाबाट ग्रिस पुगेका लमजुङका अर्जुन गुरुङलाई ऋणको भारी बोकेर घर फर्किन मन छैन । ‘क्रोएसियामा प्याकिङ काम गर्न ८ लाख रुपैयाँ तिरेर आएँ । काम नपाउने भएपछि ग्रिस आइपुगें । टाउकामा थप ऋणको भारी छ,’ उनले भने, ‘युरोप आउनु नै पछुतो लागिरहेको छ । पुर्पुरो समाएर मात्रै नहुँदो रहेछ ।’ उनका अनुसार ‘डन्की हानेर’ आउँदा जीवनमा एकपछि अर्को जोखिम थपिएको छ ।
आश्रय (शरणार्थी) प्रक्रियासँग सम्बन्धित मुख्य दुई निकाय ग्रीक असाइलम सर्भिस (ग्यास) र अपिल प्राधिकरण (एए) हुन् । असाइलम सेवा देशभर रहेका क्षेत्रीय कार्यालय तथा इकाइमार्फत भइरहेको छ । यो शरणार्थीका लागि दर्ता गरिएको आवेदनको परीक्षण र निर्णय गर्ने सक्षम निकाय हो । यसले नियमित रूपमा आवेदन लिने, द्रुत रूपमा अगाडि बढाउने र स्विकार्ने चरण पार गर्छ । ग्यासका निर्णयविरुद्धका अपिलहरू अपिल प्राधिकरणमा लगिन्छन् । यस तहमा अपिलकर्ताले निःशुल्क कानुनी सहायता पाउँछन् । अपिल प्राधिकरण २० स्वतन्त्र अपिल समितिले बनेको छ । यसको प्रक्रिया भने निकै ढिलो छ । गत २०२४ मा ग्रिसमा ८९ हजारभन्दा बढी कागजातविहीन आप्रवासीमध्ये ३३ हजारले मात्रै कानुनी हैसियत पाएका थिए ।
युरोपका धेरै देशमा औपचारिक अर्थतन्त्र छ । भिसा वा शरणार्थी भएकाले मात्रै काम पाउने अवस्था छ । ग्रिसमा अलि सहज छ । कागज नहुने नेपाली ग्रिसमा पुग्ने गरेका छन् । त्यसमध्ये ८० प्रतिशतसँग कागज छैन । एउटा कम्पनी छाडेर अवैध भयो भने वैध हुन वर्षौंसम्म लाग्छ । वैध बनाउन दूतावासको भूमिका हुँदैन ।
ग्रिसले आप्रवासी श्रमिकसम्बन्धी ल्याएको पछिल्लो नीति नेपाली आप्रवासीको पक्षमा छैन । ‘हामीलाई भिसा लगाएर बस्न पाइन्छ भन्ने आशा थियो । नयाँ नीतिले जेलमै जानुपर्ने हो कि भन्ने डर पैदा भएको छ,’ उनले भने । गत सेप्टेम्बरमा ग्रिसले अवैध (कागजातविहीन) बसाइलाई अपराध ठहर गर्ने कडा कानुन पास गरिसकेको छ । यो कानुनले आश्रय स्वीकृत नभएका व्यक्तिलाई ७ वर्ष बसाइपछि भिसा पाउने अधिकार पनि हटाएको छ । अब अस्वीकार गरिएको आश्रय–आवेदन लिएर ग्रिसमै बसेका विदेशी नागरिकलाई २ देखि ५ वर्ष जेल सजाय र १० हजार युरो जरिवाना हुन सक्छ ।
गत २० अक्टोबरमा जारी अर्को निर्देशनमा भनिएको छ, ‘शरणाधिकार नभएका व्यक्तिको आवेदन अस्वीकार हुने, २४ महिनासम्म प्रशासनिक हिरासतमा राखिने र यसलाई ‘गम्भीर अपराध’ गरेको मानिनेछ । यो निर्देशनले यात्रा रेकर्ड जाँच गर्न तथा जोखिम नभएको ठहर भएको खण्डमा ‘तत्कालै स्थगन वा खारेज’ गर्न अधिकार दिन्छ ।’ नयाँ कानुनअनुसार शरणार्थी प्रोफाइल नभएकाका लागि प्रक्रिया सरल भएको ग्रिसले जनाएको छ । ‘निवेदन प्रक्रियालाई समीक्षा, अस्वीकृति र फिर्ता पठाउने द्रुत गतिमा हुन्छ । त्यो समयसम्म हिरासत बस्नुपर्छ,’ गत नोभेम्बर १३ मा आप्रवासन तथा आश्रय मन्त्रालयका मन्त्री थानोस प्लेभ्रिसले आफ्नो एक्समा लेखेका थिए, ‘यो स्पष्ट हुनुपर्छ कि अपराध गर्दा उनीहरूको स्थिति झन् खराब हुन्छ । हामीले अवैध आप्रवासनका लागि शून्य सहनशीलताको नीति अपनाएका छौं ।’ नयाँ निर्देशनअनुसार यी परिणामबाट जोगिने एक मात्र उपाय ग्रिस छोड्नु हो ।
‘ग्रिसमा ८० प्रतिशत नेपाली कागजातविहीन छन्’
ग्रिसमा कागजातविहीन नेपाली अत्यधिक छन् । एनआरएनएमार्फत समस्या समाधान गर्न प्रयास गरिरहेका छौं । नेपाली श्रमिकले समस्या छ भनेर लेखेर पठाउने गरेका छैनन्, औपचारिक सूचना आउँदैन । राहदानी समस्या भयो भने मात्रै जानकारी पाउने हो । गत वर्ष ७ सय जनाको राहदानी बनाएका थियौं । अहिले राहदानी नभएकाहरू आउन थालेका छन् । फर्किन चाहने नेपालीलाई राष्ट्रसंघीय आप्रवासन संगठन (आईओएम) ले समन्वय गरिरहेको छ । आईओएमले टिकट पनि दिइरहेको छ । महिनामा ८/१० जनाको ट्राभल डकुमेन्ट बनाइरहेका हुन्छौं । यसका लागि आईओएमले अनुरोध गर्छ । हामीले बनाएर पठाइदिन्छौं ।
युरोपका धेरै देशमा औपचारिक अर्थतन्त्र छ । भिसा वा शरणार्थी भएकाले मात्रै काम पाउने अवस्था छ । ग्रिसमा अलि सहज छ । कागज नहुने नेपाली ग्रिसमा पुग्ने गरेका छन् । त्यसमध्ये ८० प्रतिशतसँग कागज छैन । एउटा कम्पनी छाडेर अवैध भयो भने वैध हुन वर्षौंसम्म लाग्छ । वैध बनाउन दूतावासको भूमिका हुँदैन । -(राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख भरतप्रसाद रेग्मीसँगको कुराकानी)
