नेपाल बारका पूर्वअध्यक्ष घिमिरेले अदालतको अवहेलना मुद्दामा पाए सफाइ

सर्वोच्च अदालतका न्यायाधीश शान्तिसिंह थापा र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार घिमिरेलाई सफाइ दिने फैसला सुनाएको हो ।

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

Former Nepal Bar President Ghimire acquitted in contempt of court case

काठमाडौँ — नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश शान्तिसिंह थापा र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार घिमिरेलाई सफाइ दिने फैसला सुनाएको हो । 

तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पालामा घिमिरेविरुद्ध सर्वोच्च प्रशासनबाटै टिप्पणी उठाएर अवहेलना मुद्दा दर्ता गरिएको थियो ।

सर्वोच्च अदालतका तत्कालीन उपरजिस्ट्रार र गोविन्दप्रसाद घिमिरेमार्फत अवहेलनाको प्रतिवेदनका आधारमा बारका अध्यक्ष घिमिरेविरुद्ध २०८१ असोजमा अवहेलना मुद्दा अघि बढाइएको थियो । सर्वोच्च अदालत प्रशासनले अगाडि बढाएको बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद घिमिरेविरुद्ध भ्रामक, आधारहीन अभिव्यक्ति दिएको दाबी गरिएको थियो ।

न्यायपरिषद्को २०८१ असोज ११ को बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘लेनदेनका आधारमा तथा आफूले लिएको हिसाबकिताब मिलान गर्नको लागि न्यायाधीश सिफारिस गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए । तत्कालीन समयमा उनी बारको अध्यक्ष थिए । बार न्याय परिषद् नियमावली स‌ंशोधनको विरोधमा हुँदाहुँदै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस भएपछि घिमिरेले यस्तो अभिव्यक्ति दिएका थिए । त्यसपछि अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दा बारले लिखित जवाफ पेस गरेर खारेज हुनुपर्ने पक्षमा वकालत गर्दै आएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully