पिङ खेल्न हिँडेकी बालिकाको कसरी भयो बलात्कारपछि हत्या ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

यो क्रूर घटनाको अन्तर्य के थियो ? अनसुन्धानमा प्रहरीलाई किन दुई महिनाभन्दा लामो समय लाग्यो ?

मंसिर २१, २०८२

पर्वत पोर्तेल

How was a girl who was playing ping pong raped and murdered? Understand in 5 Q&A

What you should know

विराटनगर — दसैंको उल्लास सकिने तरखरमा थियो । मोरङको लेटाङ नगरपालिका-२ फडानी गाउँका नवीन गौतमको घरमा एक्कासि चिन्ता सुरु भयो ।

कारण थियो- २१ असोजको दिउँसो घरबाट १२ वर्षीया छोरी अंशु हराइन् । 

हराएको दुई सातापछि बेलबारी–चिसाङ साझेदारी वनभित्र अंशु मृत अवस्थामा फेला परिन् । यो घटना किन र कसरी भएको थियो ? घटनाको अनुसन्धानमा प्रहरीले किन हप्तौं लामो समय लगायो ? घटनाको मुख्य अभियुक्त फेला परे पनि प्रहरीले यसबारे अन्य अनुसन्धान टुंग्याइसकेको छैन । यो क्रूर र अमानवीय घटनाको अन्तर्य के थियो ? पाँच प्रश्नोत्तरमा हामीले बुझाउने प्रयास गरेका छौं । 

अंशु मोरङको लेटाङ-२ फडानी निवासी नवीन गौतमकी छोरी हुन् । ११ वर्षकी उनी घर नजिकै लक्ष्मी माविमा कक्षा ५ मा पढ्दै थिइन् । २१ असोज कोजाग्रत पूर्णिमाका दिन दिउँसो घरबाट ‘पिङ खेल्न जान्छु’ भन्दै उनी निस्किइन् । साँझसम्म घर नफर्किएपछि परिवारले गाउँ–टोल खोजे । साथीसंगीलाई सोधे । नजिकैको जंगल चहारे । तर, उनको अत्तोपत्तो भएन । अन्ततः प्रहरीमा निवेदन दिए ।

छोरी हराएको विषयमा बुबा नवीनले हराएको भोलिपल्टै २२ गते अन्दाजी १ बजे इलाका प्रहरी कार्यालय लेटाङमा हुलिया निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङमार्फत सबै जिल्ला प्रहरी कार्यालयमा हुलिया परिपत्र जारी भयो । परिपत्रलगत्तै इलाका प्रहरी कार्यालय लेटाङ, प्रहरी चौकी बुधबारे, नेपाली सेना, आफन्त र स्थानीयवासीसहित 'जंगल सर्च' अभियान नै चलाइयो ।

प्रहरीले सशंकित व्यक्तिहरुलाई निगरानी र सोधपुछ जारी राखेको थियो । अंशु हराएको १८ दिनपछि अर्थात् कात्तिक ७ गते करिब १ वजे दिउँसो घाँस काट्न गएका लोचन शाहीसहितका तीनजनाले एउटा शंकास्पद शव फेला पारेको सूचना प्रहरीलाई दिए । लेटाङ-२ बेलबारी–चिसाङ साझेदारी वनक्षेत्रमा सडेगलेको, कम्मरभन्दा तलको भाग र टाउको मात्रै रहेको शव प्रहरीले फेला पार्‍यो । घटनास्थलमा फेला परेको चप्पल, कालो हाफपाइन्ट र कालो घडीका आधारमा बुबा नवीनले छोरीको शव पहिचान गरे । 

जंगलमा भेटिएको शव हेर्दा अत्यन्त क्रूर तरिकाले हत्या भएको देखिन्थ्यो । परिवारले उनको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको थियो । त्यही आधारमा अपराधी पक्राउ नपरुन्जेल परिवारले शव बुझ्न अस्वीकार गरेको थियो । अंशुको शव डेढ महिनादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ । पोस्टमार्टम, डीएनए परीक्षण लगायतका प्रक्रिया पूरा गरी न्याय सुनिश्चित हुनुपर्ने भन्दै परिवारले अझै शव बुझेका छैनन् । हालै अभियुक्त पक्राउ परिसकेका कारण अब शव परिवारलाई जिम्मा दिने प्रहरीको भनाइ छ । अंशुको डीएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको थियो । तर त्यसको रिपोर्ट अझै आइसकेको छैन । 

प्रहरीले हुलिया खुलाएर निवेदन परेपछि नै अनुसन्धान सुरु गरेको देखिन्छ । असोज २५ मा प्रहरीसहितको टोलीले जंगल खोजतलास गरेको थियो । तर त्यतिबेला केही फेला परेन । कात्तिक ७ मा शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली घटनास्थल पुगेर थप अनुसन्धान अघि बढायो । डीएसपी कोपिला चुँडालको कमान्डमा पाँच सदस्यीय विशेष अनुसन्धान टोली बनाएर प्रहरीले अनसन्धान गर्‍यो । जसलाई ‘अपरेसन जग’ नाम दिइएको थियो ।

साथै केन्द्रीय अपराध अनुसन्धान ब्युरो र प्रदेश प्रहरीको विशेष टोलीसमेत अनुसन्धानमा खटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले ३ सयभन्दा बढी मान्छेसँग प्रत्यक्ष संवाद गर्‍यो । १६ जनाको त पोलीग्राफ परीक्षण नै गर्‍यो । प्राविधिक अनुसन्धानका लागि सीसीटीभी फुटेज, फरेन्सिक प्रमाण संकलन गर्नुका साथै घटनास्थलको वैज्ञानिक विश्लेषण गर्‍यो । यस क्रममा प्रहरीले अपराधको मोडालिटी, अपराधीको मनोविज्ञान लगायतका विषयमा पनि गम्भीर अध्ययन गरेको थियो ।

यो घटनामा प्रहरीले मुख्य अभियुक्तका रुपमा ५९ वर्षीय पदम अधिकारीलाई भारतको असमस्थित तीनसुकियाबाट पक्राउ गरी ल्याएको थियो । उनी मृतक अंशुकै छिमेकी हुन् । असोज २१ गते अंशुकी मिल्ने साथीसँग स्कुल नजिकै खेलिरहेको अवस्थामा पदमले भेटेका थिए । खेलिरहेकी साथीलाई ५ रुपैयाँ दिएर पदमले अन्तै पठाए । त्यही बेला उनले अंशुलाई घाँस काट्न जान लागेकाले सहयोग गरिदिन भने । अंशुले ‘हुन्छ’ भनेपछि साइकलको क्यारिअरमा अंशुलाई राखेर घरदेखि करिब ४ किलोमिटर टाढा जंगलमा लगे । पहिला बलात्कार गरे । अंशुले गुहार मागिन् । तर, त्यो अनकन्टार जंगलमा उनको आवाज विलिन भयो । बलात्कारपछि घटना थाहा हुने डरले पहिला घाँटी थिचे अनि घाँस काट्न लगिएको हँसियाले रेटेर अंशुको हत्या गरे । 

सम्बन्धित समाचारकिशोरीको शव चार सातादेखि अस्पतालमा, अझै खुलेन मृत्युको कारण

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully