किशोरीको शव चार सातादेखि अस्पतालमा, अझै खुलेन मृत्युको कारण

घटनामा संलग्नकाे पहिचान नभएकाे भन्दै पीडितका परिवारले शव बुझ्न मानेका छैनन् ।

मंसिर २, २०८२

पर्वत पोर्तेल

Teenage girl's body has been in hospital for four weeks, cause of death still unknown

What you should know

विराटगनर — मोरङको लेटाङ नगरपालिका–२ बुधबारेकी १३ वर्षीया अंशु गौतमको शव चार सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ ।

घटनाकाे कारण र संलग्नकाे पहिचान नभएकाे भन्दै पीडितका परिवारले शव बुझ्न मानेका छैनन् । बलात्कार पछि हत्या भएको परिवारको आरोप छ । प्रहरीले अझैसम्म घटनाको सुराक पाउन सकेकै छैन । तर, मिहिन ढंगले अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी मोरङका प्रमुख एसपी कवित कट्वालले सुक्ष्म रुपमा अनुसन्धान भइरहेकाले सक्दो चाँडो सत्यतथ्य सार्वजनिक गर्ने बताए । 

२१ असोज कोजाग्रत पूर्णिमाको दिन दिउँसो अंशु घरबाट ‘पिङ खेल्न जान्छु’ भन्दै निस्किएकी थिइन् । त्यसपछि उनी फर्किएर आइनन् । साँझसम्म छोरी घर नफर्किएपछि परिवारले गाउँ–टोल खोजे । साथीसंगीलाई सोधे । नजिकैको जंगल चहारे । तर, उनको अत्तोपत्तो भएन । अन्ततः प्रहरीमा निवेदन दिए । 

प्रहरीमा निवेदन दिएको १८ औं दिन अर्थात ७ कात्तिकमा घरदेखि करिब ४ किलोमिटर टाढाको चिसाङ साझेदारी वन क्षेत्रमा एउटा चिन्नै नसक्ने अवस्थाको शव घाँस काट्न गएका स्थानीयले फेला पारे । 

कुहिएको शरीर, छुट्टिएको टाउको, क्षतविक्षत अवस्थाको पहिचान गर्नसमेत कठिन शव परिवारले चप्पल र कपडाका आधारमा पहिचान गरिएको थियो । ‘हराएको १८ दिनपछि भेटिएको शव पूरै डिकम्पोज भइसकेको थियो’, एसपी कट्वालले भने, ‘त्यसकारण पनि सत्यतथ्य बाहिर ल्याउन मिहिन अनुसन्धान भइरहेको हो ।’ 
अंशुको परिवारले छोरीको बलात्कारपछि हत्या भएको जिकिर गर्दै संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने अड्डी कसेपछि शव अस्पतालबाट उठ्न नसकेको हो । 

घटनापछि जिल्ला प्रहरीको विशेष टोली, प्रदेश प्रहरी, अपराध अनुसन्धान व्युरो (सीआईबी) लगायतको टोली सुक्ष्म अनुसन्धानमा खटिरहेका छन् । पोष्टमार्टम रिपोर्टमा पनि मृत्युको कारण खुल्न सकेको छैन । रिपोर्टमा करिब दुई साताभित्र मृत्यु भएको भन्ने उल्लेख छ ।

घटनास्थलबाट संकलन गरी फरेन्सिक जाँचका लागि पठाएको नमुनाको रिपोर्ट आएको छैन । डिएनए रिपोर्ट आउन पनि बाँकी नै छ । ‘सबै रिपोर्ट आएपछि हामी एउटा निचोडमा पुग्छौं,’ एसपी कट्वालले भने,‘केही शंकास्पद मान्छेहरु अनुसन्धानको दायरमा छन् ।’

न्यायको पर्खाइमा परिवार
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहभित्र छोरीको शव राखेर गौतम परिवार न्यायको पर्खाइमा छ । बुबा नवीन गौतम भन्छन्,‘दोषी पक्राउ नपरेसम्म हामी शव उठाउँदैनौ ।’

अंशुका ठूलो बुबा दामोदर भारी आवाजमा विलौना सुनाउँछन्, ‘अब हाम्री छोरी फर्केर आउँदिन । तर, अपराधीले सजाय पाउनैपर्छ । उनको न्याय बिना हामी चित्त बुझाउन सक्दैनौं ।’ अंशुको मृत्यु घटनापछि लेटाङ क्षेत्रका बालबालिका घरबाहिर निस्कन डराउन थालेको स्थानीय बताउँछन् । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully