११ असोजदेखि ६ मंसिरसम्म ओलीले १० वटा सार्वजनिक मञ्चमा ९ घण्टा ३६ मिनेट बोलेका थिए । तर उनको अधिकांश भाषणमा आक्रोश, अपुष्ट तथ्य र व्यक्तिकेन्द्रित गाली दोहोरिरहेको देखिन्छ ।
What you should know
काठमाडौँ — जेन–जी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीबाट बाहिर पुगे । गत २४ भदौमा प्रधानमन्त्रीबाट राजीनामा दिएर १३ दिन नेपाली सेनाको सुरक्षामा बसेका उनी ७ असोजमा भक्तपुरको गुन्डुमा सार्वजनिक भएका थिए ।
जेन–जी आन्दोलनयता ओलीमा कस्तो परिवर्तन देखिएको छ ? के उनी पहिलेजस्तै कठोर र विरोधीप्रति निर्मम छन् ? वा उत्तेजक अभिव्यक्ति दिने उनको पुरानो शैलीमा बदलाव देखिएको छ ?
कान्तिपुरले जेन–जी आन्दोलनपछि ओलीका सार्वजनिक भाषण, कार्यकर्ता भेलामा गरेका सम्बोधन र मिडिया अन्तर्वार्ताको ‘कन्टेन्ट एनलाइसिस’ गरेको छ । यसका लागि हामीले ११ असोजदेखि ६ मंसिरसम्म उनले सार्वजनिक मञ्चमा गरेका १० वटा भाषणलाई लिएका छौं । ओलीले ती कार्यक्रममा ९ घण्टा ३६ मिनेट अर्थात् हरेक कार्यक्रममा औसतमा ४७ मिनेट बोलेका थिए ।
सेनाको ब्यारेकबाट फर्केको ५ दिनपछि ११ असोजमा गुन्डुमा आयोजित पत्रकार सम्मेलनमा ओलीले २७ मिनेट ३० सेकेन्ड बोलेका थिए । २३ असोजमा भक्तपुर सार्वजनिक मञ्चमा १५ मिनेट, २९ असोजमा पार्टीको केन्द्रीय कमिटी बैठकमा ४५ मिनेट, ३ कात्तिकमा ललितपुरको रामबाग महलमा पत्रकारहरूसँगको छलफलका क्रममा ७० मिनेट भाषण गरेका थिए । त्यस्तै २० र २१ कात्तिक, २, ३, ५ र ६ मंसिरमा सार्वजनिक मञ्चमा उनले ३० मिनेटभन्दा लामो भाषण गरेका थिए ।
यी १० वटै भाषणमा ओली शान्त र सौम्य देखिँदैनन् । बरु उनी हरेकपल्ट आक्रामक, असहिष्णु र प्रतिशोधपूर्ण शैलीमा विभिन्न अप्रशोधित तथा अप्रमाणित तथ्यांक र आफ्नो मनोविज्ञानलाई साथ दिने अपुष्ट तथ्यहरूको सहारामा बोलिरहेको देखिन्छ । सत्ताच्युत भएपछिका प्रत्येक भाषणमा ओलीले एउटै तथ्य फरकफरक शैलीमा दोहोर्याइरहेका छन् । जस्तो कि उनी सुशीला कार्कीको सरकारलाई हरेक भाषणमा ‘हाहु’, ‘बतासे’ र ‘इलिगल’ जस्ता विशेषण प्रयोग गर्छन् । सरकार गठन असंवैधानिक छ भनेर तर्क त गर्छन् तर त्योभन्दा धेरै विभिन्न विशेषण प्रयोग गरेर सरकारलाई गाली गर्छन् ।
११ असोजमा भक्तपुरको गुन्डुमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए– ‘...यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं ? हामीले यो देशलाई बनाउनुपर्नेछ । हामी भाग्दैनौं ।’ सरकारप्रति ओलीको आक्रोश दिन प्रतिदिन चुलिँदो छ । उनले गत २१ कात्तिकमा पनि सरकारलाई ‘अदृश्य, कमजोर, कुनै ग्राउन्ड नभएको, न इतिहास न परम्परा’ भएको समूहका रूपमा चित्रण गरे । ‘डिस्कर्डमा भोटिङ पनि गर्या अरे, कसले गन्या अरे ?’ भन्दै उनले आधुनिक प्रविधिको प्रयोग र युवाको राजनीतिक संलग्नतालाई समेत गिज्याउने प्रयास गरे ।
त्यही दिन उनले भने, ‘अहिलेका प्रतिगमनकारीहरू अदृश्य, कमजोर, कुनै ग्राउन्ड नभएका, न इतिहास न परम्परा । न परम्पराको टेको । न जनसमर्थनको आधार । केही पनि नभएका । मैले हाहुमा भएको भन्छु नि । वास्तवमै हाहुमा । आगो लगाएको भरमा लुटेका भरमा तोडफोड गरेको भरमा । अराजकता आतंक मच्चाएको भरमा । एउटा आतंकारी अभ्यास गरेका भरमा शासनमा डिस्कर्डबाट पुग्या अरे । डिस्कर्डमा भोटिङ पनि गर्या अरे । दुई–तीन हजार केटाकेटीहरू डिस्कर्डमा जम्मा भए अनि भोटिङ पनि गर्या अरे । कसले गन्या अरे । मतपत्र कस्तो थियो ? रेजा लगाए कि प्वाल पारे अमेरिकामा जस्तो ? के गर्यो । त्यस्ता हावाको भरमा बनेको हाहुको असंवैधानिक सरकार ।’
३ मंसिरमा स्थानीय तहका जनप्रतिनिधिहरूको भूमिका विषयक एमालेको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘मैले धेरै ठाउँमा धेरै पटक भनेको छु । हाहुको सरकार यो । हाहुमा बनेको सरकार । सरकार भनेको यसरी बन्दै बन्दैन । उहिले मुखियातन्त्र हुँदाखेरि । यो दास युगको प्रारम्भ पनि दासहरू भेला हुन्थे र मुखिया कसलाई छान्ने भनेर त छलफल गर्थे । मुखिया मुखिनी कहाँ कहाँबाट आए यहाँ त । छान्नै पाइएन । कसैले छान्न पाएनन् । अवतरित भए क्या । घर्त्याक्क यताबाट, अर्को घर्त्याक्क अर्कोबाट झर्छ ।’
त्यस दिन उनी यतिमै सीमित भएनन् । ‘कोही चप्पल लगाएर झर्छ कोही हाफ पाइन्ट लगाएर झर्छ । कोही फरिया लाएर झर्छ । कोही कसो लगाएर झर्छ घर्त्याक्क घर्त्याक । हामी हेर्या हेर्यै । यस्तो खालको स्थिति बन्यो । कसैले छानेको होइन । आजको जमानामा कसैले नछानेको सरकार । कसले बनायो भन्दा अचम्मको छ । कोही छैन बनाउने । कोही छैन बनाउने । यो केमा अड्या छ भन्दा केमा अड्या छ, केमा अड्या छ । यसको जग पनि छैन,’ उनले भनेका थिए ।
५७ दिनको अवधिमा ओलीले गरेका १० सार्वजनिक भाषणमा ‘हाहुको सरकार’ भन्ने शब्दावली प्रत्येक भाषणमा प्रयोग भएको छ । १० वटा भाषणमा मात्रै उनले ‘हाहुको सरकार’ शब्दावली १३ पटक प्रयोग गरेको देखिन्छ । अर्कोतर्फ जेन–जी आन्दोलनलाई ओलीले जसरी व्याख्या गरिरहेका छन्, त्यसले उनी नयाँ पुस्ताको मनोविज्ञान बुझ्न कति असमर्थ छन् भन्ने देखिन्छ । २ मंसिरमा भएको एमालेको बैठकमा उनले भनेका थिए, ‘जेन–जी भन्ने एउटा भ्रान्त धारणा व्याप्त गरियो । जेन–जी वा जेनेरेसन जेड यो कम्प्युटरको विकासक्रमको एउटा अवधिको कुरा गरेको हो... । यो मान्छेसँग कुनै ताल्लुक नै राख्दैन । १५ वर्षको जेनेरेसन हुँदैन मान्छेको ।’
यति मात्र होइन, ६ मंसिरमा सार्वजनिक मञ्चमा अझ कडा रूपमा प्रस्तुत हुँदै उनले भने, ‘जेन–जी भन्ने एउटा आर्टिफिसियल शब्दलाई अगाडि सारियो । कम्प्युटरको विकासको चरणलाई मानिसको पुस्तासँग जोडेर जेन–जी पुस्ता भन्ने गरेको छ । यो आफैंमा कृत्रिम र अयथार्थ कुरा हो ।’
अमेरिकी स्ट्यान्डफोर्ड विश्वविद्यालयका सिनियर रिसर्चर रोबोर्टा कार्टजले सन् २०१७ मा गरेको अनुसन्धानका अनुसार इन्टरनेटको सम्पूर्ण शक्ति हातमा लिएर हुर्किएको पुस्ता नै पछिल्लो पुस्ता हो । कार्टज नै को–अर्थर रहेको ‘जेन–जी एक्सप्लेन्ड : दि आर्ट अफ लिभिङ इन अ डिजिटल एज’ नामक रिसर्चमा पनि यही उल्लेख छ । यो अमेरिकाको सिकागो विश्वविद्यालयले सन् २०२१ मा गरेको अनुसन्धान हो । तर ओलीले भनेको जस्तो जेन–जी शब्द कम्प्युटरसँग मात्र मिल्दोजुल्दो भन्ने होइन ।
समाजशास्त्र र विश्वव्यापी जनसांख्यिकीय अध्ययनहरूले १९९० दशकको अन्त्यदेखि २०१० को दशकको सुरुसम्म जन्मेकाहरूलाई ‘जेन–जी’ भनेर परिभाषित गरिसकेका छन् । तर ओली भने यो अन्तर्राष्ट्रिय अभ्यास मान्न तयार देखिन्नन् । बरु उनी युवालाई ‘भ्रममा पारिएको’, ‘झुक्याइएको’ र ‘प्रयोग भएको’ भन्दै उनीहरूको निर्णय क्षमताको अपमान गर्न रुचाउँछन् ।
२० कात्तिक एमाले नेताहरूसँगको भेलामा पनि उनले यस्तै टिप्पणी गरेका थिए । ‘जेन–जी, सेन–जी केही पनि हैन । अलिकति हाम्रा भाइबहिनीहरूलाई अर्को वर्गले आएर के के गरेर, झुक्याएर अलमल्याएर लगेका थिए । तिनीहरू (जेन–जी) को त एकछिनमा सक्किएको थियो । त्यसपछि अरूले नै त्यस निहुँलाई अगाडि बढाए र भष्म मच्चाए । यी लुट्न हिँडे,’ उनले भने ।
त्यसको भोलिपल्ट २१ कात्तिकमा काठमाडौंमा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा आयोजित शिक्षकहरूसँगको अन्तरसंवाद कार्यक्रममा पनि कम्प्युटरले जेन–जीको आदत बिगारेको ओलीले बताए । तर यसका पछाडि कुनै तथ्य वा तर्क वा कुनै अनुसन्धानको निचोड भने अघि सारेनन् । ‘यो कम्प्युटरको विकासले गर्दाखेरि आदत बिगारेको छ । नम्बर वान । एजुकेसनको हाम्रो सिस्टमचाहिँ अनुपयुक्त अनि पढाउने कुराहरू अनुपयुक्त । अघि भनेजस्तै नैतिक शिक्षा राख्या छैन । ज्ञान मात्रैले पर्याप्त हुँदैन, गुण पनि चाहिन्छ भन्ने कुरा बताइएको छैन । गुण भनेको क्यारेक्टर । क्यारेक्टरबारे । मानवताबारे । मानवीय भावबारे बताइएको छैन । त्यो कुरा त बुझेका छन् नि त । र, अहिले थुप्रै युवाहरू म पनि भेट्छु, आन्दोलनमा लागेका युवाहरू भेट्छु । अब कोही त आन्दोलनमा लागेको नलागेको के हो आँखैबाट थाहा हुन्छ के सेवन गरेका छन् भन्ने,’ उनले हाँस्दै भनेका छन्, ‘दालभात तरकारी खाएको छ कि अरू थोक खाएको छ भन्ने आँखैबाट थाहा हुन्छ । आँखाबाट थाहा हुनेले राति पनि कालो चस्मा लगाउँछन् । राति कालो चस्मा किन लगाउँछन् ? घाम नलागेको कोठाभित्र कालो चस्मा किन लगाउँछन् ? किनभन्दा आँखैबाट थाहा हुन्छ ।’
२३ भदौमा गोली चलेको घटनाको पनि बचाउ गर्दै ओलीले उक्त कार्यक्रममा अभिव्यक्ति दिएका छन् । जबकि मानवअधिकारका विश्वव्यापी मान्यताअनुसार भौतिक संरचनाको रक्षाका लागि निःशस्त्र नागरिकमाथि गोली चलाउन पाइँदैन । तर, ओलीले शिक्षकहरूको भेलामा नयाँ सिद्धान्त प्रतिपादन गरेझैं गरेर भने, ’एउटा कुरा यसपटकको यो विध्वंसमा यस आतंकमा एउटा ठूलो कमी किन रह्यो त्यो म जान्दिनँ तर एउटा कुराको कमीचाहिँ भयो । जस्तो मानवीय क्षति गरेर भौतिक संरचनाको रक्षा गर्न सकिँदैन भन्ने थ्यौरी । त्यसो भए १० जना मान्छे गएर फेरि पनि आगो लगाउँछन् कहीँ । मानवीय क्षति गर्नु भएन । त्यसो भए हतियार चलाउनु भएन । यो थ्यौरी यदि कायम राख्ने हो भने नेपालमा सेक्युरिटी कसरी हुन्छ ? सुरक्षा निकायहरूले सेक्युरिटी कसरी गर्छ ? प्रहरीले कसरी गर्छ ? अरूले कसरी गर्छ ? मानवीय क्याजुअल्टी हुन नदिने भौतिक क्षतिका लागि भने कुनै संरचना रहन्छ त ?’
ओली यतिमै सीमित भएनन् । उनले आफ्नो बचाउमा अनेक (कु) तर्कहरूको बिस्कुन पनि लगाए । सोही कार्यक्रममा उनले भनेका थिए, ‘मान्छेभन्दा पैसा ठूलो हो त ? राष्ट्र बैंकको रक्षा किन गर्ने त ? अब त्यसो भएपछि त खत्रा पैदा भएन ? कहीँ पनि त्यो त यदि कसैलाई जिम्मा दिएको छ भने त्यसको सुरक्षा गर्छ नि । अब २३ गते चलेको गोली पनि त्यस्तै हो । प्रहरीलाई सुरक्षा गर्न भनेर दिएको ठाउँ आगो लगाउन गएपछि पर्खाल तोडेपछि, सबैथोक भएपछि गोली चलाउने भो । र, प्रहरीले मात्रै चलायो कि घुसपैठ अरू पनि थियो कि । अब निष्पक्ष छानबिन आयोग बनेको भए, त्यसले छानबिन गर्थ्यो होला तर अहिलेको आयोग त, यो त डुब्लिकेट हो । जसले पहिले नै फैसला सुनाएको छ ।’ यसरी ओलीले सार्वजनिक अभिव्यक्तिमा हिंसालाई पनि वैध करार गर्न प्रयास गरिरहेको देखिन्छ ।
आन्दोलनलाई अपराधीकरण गर्ने भिक्टिम कार्ड
ओलीले बारम्बार आन्दोलनको राजनीतिक र सामाजिक मुद्दाहरूलाई ओझेलमा पार्न जेन–जीहरूलाई ‘लुटेरा’, ‘आगजनी गर्ने’ र ‘तोडफोड गर्ने’ जमातको रूपमा चित्रण गर्न खोजेको देखिन्छ । २३ असोजमा उनले भने– ‘यी आगजनीवाला । हाटहुट लाटलुटवाला । लुटपाटवाला । तोडफोडवाला यिनले देश बनाउँछन् ? फेन्टा र कोकाकोला चोरेर हिँड्नेहरूले देश बनाउँछन् ?’
ओलीको दाबीअनुसार भाटभटेनीबाट केही सामग्रीहरू चोरी भएको सत्य हो । तर प्रदर्शनमा आएका सबैलाई एउटै टोकरीमा राख्नुले ओलीले आन्दोलनलाई अपराधीकरण गर्न खोजेको पुष्टि गर्छ । आफ्नो सत्ता बहिर्गमनलाई ओली जनआक्रोशको परिणाम मान्न तयार छैनन् । उनले यसलाई एक ठूलो ‘ग्रान्ड डिजाइन’ र षड्यन्त्रका रूपमा व्याख्या गर्दै आएका छन् । २ मंसिरमा पार्टीको बैठकमा उनले भने, ‘अहिले प्रचलन छ नि ‘डिपस्टेट’ भन्ने । डिपस्टेटको प्रयोग भइराखेको थियो । विभिन्न उपायहरू, माध्यमहरू नेपालको विरुद्ध प्रयोग भइराखेका थिए ।’
डिपस्टेट शब्दावलीको प्रयोग सन् १९९० को दशकमा टर्कीमा सैन्य बलहरूले लागूऔषध तस्कर र भाडाका हत्याराहरूसँग कुर्दिस विद्रोहीहरूले गोप्य फौजी अभियान चलाएपछिको समयमा यदाकदा प्रचलनमा आएको देखिन्छ । त्यतिबेला ‘डेरिने ढेवलेट’ शब्दका रूपमा प्रयोग हुने शब्द पछि डिप स्टेटका रूपमा प्रयोग हुन थाल्यो ।
सन् २०११ मा अमेरकी लेखक तथा रिपब्लिकन पार्टीका सांसद माइक लोफग्रेनले संसद्मै यो शब्द प्रयोग गरेका थिए । २०१३ मा ब्रिटिस लेखक जोन ले कारेको उपन्यास ‘अ डेलिकेट ट्रुथ’ मा यो शब्द लेखेपछि थप चर्चामा आयो । अमेरिकमा डोनाल्ड ट्रम्प राष्ट्रपतिका रूपमा आएपछि भने यो शब्दको व्यापक प्रयोग हुन थाल्यो । राज्य चलाउने वैधानिक प्रणालीभित्र पनि अर्को छाया प्रणाली रहेको वा सरकारलाई अरू कोही गोप्य शक्तिले चलाउने गर्छ भन्ने सन्दर्भमा यो प्रयोग भइरहेको देखिन्छ ।
ओलीले यही शब्दको प्रयोग नेपालमा शरण लिएर बसेकाहरू (सम्भवतः तिब्बती शरणार्थीतर्फ संकेत गर्दै) ले देशका संरचना ध्वस्त पारेको आरोप लगाउन पछि परेनन् । ‘हामीले शरण पो दियौं त । यस देशमा आएर, यस देशका संरचना ध्वस्त पार्ने, यस देशमा वितण्डा मच्चाउने अधिकार दिएको होइन,’ भन्दै उनले कूटनीतिक रूपमा संवेदनशील विषयलाई समेत उचालेका छन् ।
६ मंसिरमा पनि उनले सार्वजनिक मञ्चमै यही कुरा दोहोर्याए, ‘षड्यन्त्र लुकेको थियो । त्यो षड्यन्त्र माइतीघरबाट एभरेस्ट अगाडि पुग्दासम्ममा प्रकट भयो । त्यसपछिका घटना षड्यन्त्रका उपज हुन् ।’ ओलीले आफ्ना भाषणहरूमा बारम्बार षड्यन्त्र भन्ने शब्द प्रयोग गरे पनि यसको पृष्ठभूमि वा यसलाई पुष्टि गर्ने ठोस आधार भने पेस गरेको देखिन्न । न त यस्तो सूचनाको स्रोतबारे नै खुलाएको देखिन्छ ।
राजनीतिक विमतिलाई वैचारिक रूपमा सामना गर्नुको सट्टा ओलीले व्यक्तिगत चरित्र हत्याको बाटो रोजेका छन् । प्रधानमन्त्री सुशीला कार्कीप्रति उनको टिप्पणी अमर्यादित देखिन्छ । २३ असोजमा उनले भने, ‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? गुटुटु ? के सोच्या... गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु ।’
पार्टीभित्रै लोकतन्त्र मासेर समानान्तर सत्ता अभ्यास
प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई बारम्बार अलोकतान्त्रिक भन्ने ओली पार्टीभित्र भने आफैं अलोकतान्त्रिक छन् । एमालेभित्रै उनको राजीनामा माग्ने स्वरहरू बलियो बन्दै गएको उनकै अभिव्यक्तिले पुष्टि गर्छ । तर, ओलीले ती स्वरलाई सम्बोधन गर्नुको साटो गिज्याउने गरेका छन् ।
२१ कात्तिकमा उनले पार्टीभित्रको असन्तुष्टिलाई ‘र्याइँ र्याइँ’ र ‘क्याइँ क्याइँ’ को संज्ञा दिए । उनले भने– ‘यो र्याइँ र्याइँ दिनरातको मिडियामा गएर क्याइँ क्याइँ गरेको छ... केपी ओली राजीनामा दे, केपी ओली राजीनामा दे ।’ उनको अभिव्यक्ति पार्टीभित्र नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गर्ने नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतप्रति लक्षित थियो ।
आलोचकहरूलाई जवाफ दिने क्रममा उनले आफ्नो ‘छाती’ को नाप देखाउँदै दम्भ प्रदर्शन गरे– ‘के अध्यक्ष अलिकति लचिलो भए पनि हुन्थ्यो कि... मेरो छाती यत्रो देखिन्छ । मेरो छाती देख्दा यस्तो छ नि नाप्दा काफी ठूलो छ ।’ ओलीको यो अभिव्यक्तिले पार्टीभित्र लोकतान्त्रिक बहसको कुनै गुन्जाइस नभएको स्पष्ट पार्छ ।
यस्तै, राज्यको सुरक्षा संयन्त्र (नेपाल प्रहरी, सशस्त्र प्रहरी) हुँदाहुँदै एमालेले ‘प्रहरीको पनि सुरक्षा गर्ने’ दाबीसहित अर्धसैनिक दस्ताजस्तो संरचना खडा गरेको छ । यसलाई समानान्तर सत्ता अभ्याससँग तुलना गर्न सकिन्छ । २० कात्तिक उनले भनेका थिए, ‘१५ गते बसेको सचिवालयले पास गर्यौ’ । अब युथ भोलेन्टियर्स फोर्स बनाउने भनेर । हामी देशको सुरक्षा, जनताको सुरक्षा र प्रहरीको पनि सुरक्षा गर्छौं ।’
उनले भने अनुसार ५ मंसिरमा युथ भोलेन्टियर्स फोर्स गठन भयो । तर त्यसको नेतृत्वमा आपराधिक पृष्ठभूमिका व्यक्ति छन् । विगतमा माओवादीको वाईसीएल वा एमालेकै ‘युथ फोर्स’ ले सिर्जना गरेको त्रास र अराजकतालाई नजिकबाट भोगेका जनताका लागि यो घोषणाले अर्को मुठभेडको आशंका जन्माएको छ । ५ र ६ मंसिरमा उनले दिएको ‘एमालेलाई जिस्क्याउने काम नगर्नुस्’ र ‘अर्को ठूलो विद्रोह हुन्छ’ भन्ने धम्की प्रतिशोधपूर्ण देखिन्छ ।
