एमालेले बनायो ‘युथ भोलिन्टियर फोर्स’ 

पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतले ‘राष्ट्रियताप्रति सचेत फोर्स’ हुने बताए । उनका अनुसार यो फोर्स कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म पुग्ने, लुटिएका हतियार र लुटेरा समातेर प्रहरीकहाँ बुझाउने काममा समेत संलग्न हुनेछ ।

कार्तिक १६, २०८२

सुन्दर शिल्पकार

UML forms 'Youth Volunteer Force'

काठमाडौँ — एमालेले ‘युथ भोलिन्टियर फोर्स’ बनाएको छ । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले भक्तपुरको गुण्डुमा आज आयोजना गरिएको युथ भोलिन्टियर फोर्स भेला कार्यक्रममा जनसंगठन प्रमुख भानुभक्त ढकालले महेश बस्नेतको नेतृत्वमा ९ सदस्यीय कार्यदल घोषणा गरेका छन् ।

शनिबार गुण्डुमा बसेको पार्टी सचिवालयको बैठकले निर्णय गरेपछि आज उक्त कार्यदल घोषणा गरिएको जनसंगठन प्रमुख ढकालले बताए ।

कार्यदलमा महेश बस्नेत (संयोजक) सहित पुष्प श्रेष्ठ, वचन देउजा, समिक बराल, मिनबहादुर शाही, विनिता काफ्ले, निशा लिम्बू, बिनोद पाण्डे र महेश चौलागाँई रहेका छन् । पार्टीका विभिन्न विभागीय संगठनमा रहेकाहरूलाई समेत समेटेर स्वयम्सेवा दस्ता गठन गरिएको र आगामी मंसिर ५ गतेभित्र यसको कार्यक्षेत्र, कार्यसमिति र कार्यविभाजनसहित ‘राष्ट्रिय युवा स्वयम्सेवा दस्ता’ विधिवत रूपमा गठन गरिएको घोषणा गरिने ढकालले बताए ।

उनका अनुसार युवा स्वयम्सेवा दस्ताले पार्टी र जनताको सेवामा खटिने, पुनर्निर्माण तथा विपद्‌मा परेकाहरूको उद्धार कार्यमा समेत सहभागी हुनेछ । नेकपा (एमाले) सरकारमा बढी सहभागी भएपछि जनस्तरको सुरक्षाभन्दा पनि राजकीय सुरक्षामा भर पर्न थालेको बताउँदै उनले पार्टीभित्र स्वयम्सेवी निष्ठा र इमान हराउँदै गएकाले राष्ट्रिय युवा स्वयम्सेवा दस्ता गठन गर्नुपर्ने आवश्यकता देखिएको स्पष्ट पारे ।

UML forms 'Youth Volunteer Force'सबै जनवर्गीय संगठनका सदस्यहरू पनि ‘युथ फोर्स’ मा सहभागी हुन सक्ने उनको भनाइ छ । ‘युथ भोलिन्टियर फोर्स’ प्रस्तावित नाम भएको र यसले विधान बनाएर आगामी मंसिर ५ गते विधिपूर्वक कार्यक्रमदेखि नेतृत्वसम्मको घोषणा गर्ने उद्देश्यले आज कमिटी गठन गरिएको उनले जानकारी दिए ।

पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतले ‘राष्ट्रियताप्रति सचेत फोर्स’ हुने बताए । उनका अनुसार यो फोर्स कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म पुग्ने, लुटिएका हतियार र लुटेरा समातेर प्रहरीकहाँ बुझाउने काममा समेत संलग्न हुनेछ ।

बस्नेतका अनुसार युथ फोर्सले बाढी–पहिरो, प्राकृतिक विपत्ति, राहत, उद्धार र पुनर्स्थापनामा पनि खटिनेछ । मंसिर ५ गते बानेश्वरबाट माइतीघर मण्डलासम्म २० हजार युवाको उपस्थितिमा ‘युथ फोर्स’ घोषणा सभा आयोजना गरिने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले पार्टी, नेता र देशको सुरक्षाका लागि ‘युथ भोलिन्टियर फोर्स’ परिचालन गरिने बताए ।

सुन्दर

Link copied successfully