प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ अहिले श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको विषयमा विवादमा तानिएका छन् । यसअघि महान्यायाधिवक्ता सविता भण्डारी डिम्ब तस्करीको आरोपमा अनुसन्धान भइरहेको आफ्नै लगानीको कम्पनीलाई मुद्दा नचलाउने निर्णयका कारण आलोचित भएकी थिइन् ।
What you should know
काठमाडौँ — भ्रष्टाचार अन्त्य र सुशासन माग गर्दै भएको जेन–जी आन्दोलनको बलमा गठित सुशीला कार्की नेतृत्वको सरकारले गरेका नियुक्ति नै विवादित बन्न थालेका छन् । प्रधानमन्त्रीबाट नियुक्त भएका पदाधिकारीले आफ्ना नजिकका व्यक्तिलाई नियुक्ति दिने र लाभका निर्णय गर्ने काम गरेका छन् ।
प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ अहिले श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको विषयमा विवादमा तानिएका छन् । यसअघि महान्यायाधिवक्ता सविता भण्डारी डिम्ब तस्करीको आरोपमा अनुसन्धान भइरहेको आफ्नै लगानीको कम्पनीलाई मुद्दा नचलाउने निर्णयका कारण आलोचित भएकी थिइन् । प्रधानमन्त्री नियुक्त भएसँगै कार्कीले सर्वोच्चको सूचना प्रविधि महाशाखामा कार्यरत नासु श्रेष्ठलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेकी थिइन् । कार्की प्रधानन्यायाधीश हुँदा श्रेष्ठ पेसी व्यवस्थापनको जिम्मेवारीमा थिए ।
त्यही पुरानो चिनजान र विश्वासका आधारमा कार्कीले कम्प्युटर अपरेटर पदमा कार्यरत उनलाई २९ भदौमा प्रमुख स्वकीय सचिव नियुक्त गरेकी थिइन् । सचिवसरहको सेवा सुविधा पाउने प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव नियुक्त भएको चौथो दिन २ असोजमा श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई सहसचिवसरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको स्वकीय सहसचिव नियुक्त गरेका थिए ।
यो विषय सार्वजनिक भएपछि प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले विश्वासिलो व्यक्ति छनोट गरेको भन्दै नियुक्तिमा प्रश्न नउठाउन अनुरोध गरेका छन् । ‘प्रधानमन्त्रीज्यूको परिवारमा आफूसँग श्रीमान् मात्र रहनुभएको र उहाँहरूको वृद्ध उमेरका कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाहेक अन्य नियुक्तिमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रूपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबर्जस्ती नातेदार भनी प्रचार गरिएको देखिएकाले त्यसो नगरिदिन हुन पनि अनुरोध छ ।’
विज्ञप्तिमा श्रेष्ठले श्रीमती संगीतालाई सहसचिवसरहको पदमा नियुक्त गरेको हो कि होइन ? भन्ने प्रश्नको भने जवाफ दिइएको छैन । बरु यससम्बन्धी समाचारले निर्वाचनमा लागिरहेको सरकारको ध्यान भंग गराउन खोजेको रावलको विज्ञप्तिमा उल्लेख छ । ‘जेन–जी आन्दोलनको मर्म र भावनाअनुसार सुशासन कायम गर्दै स्वच्छ, निष्पक्ष, भयरहित ढंगले निर्वाचन गर्न यो सरकार लागिपरिरहेका बेला यसबाट ध्यान भंग गराउने उद्देश्यले आएका सामग्रीहरूमा विश्वास नगर्न पनि सबै पक्षलाई अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयमा हाल १४ जना कार्यरत छन् । श्रेष्ठ प्रमुख स्वकीय सचिव, श्रेष्ठकी श्रीमती संगीता स्वकीय सहसचिव, कमला श्रेष्ठ, रमेशराज दाहाल, अर्जित खड्का, केशव थापा (फोटोग्राफर), आकृति घिमिरे स्वकीय शाखा अधिकृत छन् । सृष्टि डंगोल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जलिना कायस्थ र रविना श्रेष्ठलाई प्रशासन सहायकमा नियुक्त गरिएको छ भने हरिबाबु श्रेष्ठ सवारी चालक र मीरा अधिकारी कार्यालय सहयोगीका रूपमा कार्यरत छन् । प्रधानमन्त्री कार्यालयले ४१ जनासम्म कर्मचारी स्वकीय सचिवालयमा नियुक्त गर्ने सक्ने व्यवस्था छ ।
प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिवले आफन्त नियुक्त गरेको भन्दै विभिन्न जेन–जी समूहले विरोध जनाएका छन् । ‘राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जवाफदेहिता र पारदर्शिताविरुद्धको प्रत्यक्ष प्रहार भएको छ,’ नेपाल जेन–जी
फ्रन्टले विज्ञप्तिमार्फत जनाएको छ । रक्षा बमलगायतका जेन–जीको फ्रन्टले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठको तत्काल बर्खास्तीको माग गरेको छ । त्यस्तै, श्रेष्ठले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेजी गर्न पनि माग गरेको छ । प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयमा को–को, कुन–कुन पदमा कार्यरत छन् भन्ने विवरण सार्वजनिक गर्न पनि फ्रन्टले माग गरेको छ ।
जेन–जीहरू सोमबार ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री कार्यालय पनि पुगेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जेन–जी पुगेपछि कार्की बाहिरिएकी थिइन् । मिराज ढुंगानालगायतका जेन–जीको समूहले पनि प्रमुख स्वकीय सचिवसहितका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन खोजेको थियो । तर, प्रधानमन्त्रीले समय नदिएको भन्दै सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरू गेटमा नै ज्ञापनपत्र टाँसेर फर्किएका थिए ।
