जेन-जी आन्दोलनका बेला गृहसचिव रहेका गोकर्णमणि दुवाडीदेखि श्रम मन्त्रालयका कृष्णहरि पुष्करलगायत मुख्य सचिवको प्रतिस्पर्धामा देखिन्छन् ।
What you should know
काठमाडौँ — उमेर हदका कारण मुख्य सचिव एकनारायण अर्याल बुधबार सेवा निवृत्त हुँदै छन् । जेन-जी विद्रोहपछिको बदलिदो परिदृश्यमा निजामती सेवाको सर्वोच्च पद मानिने मुख्य सचिवका रुपमा को आउलान् ?
समग्र प्रशासन संयन्त्रको रुपान्तरणको जिम्मेवारी कसको काँधमा आउला ? मुख्य सचिवको भूमिका प्रधानमन्त्रीको सल्लाहकारको रुपमा पनि रहने भएकाले धेरैलाई यो जिम्मेवारीमा को आउला भन्ने चासो छ ।
जेन-जी आन्दोलनपछिको फरक परिस्थिति र निर्वाचन गराउने जिम्मेवारीसहित बनेको सरकार भएका कारणले पनि नयाँ आउने मुख्य सचिवको भूमिका बृहत् देखिन्छ। मन्त्रिपरिषद्ले लगाएको काम मात्रै गर्ने कि साँच्चैको 'पर्फर्मेन्स' देखाउने भन्ने कुरा मुख्य सचिवको व्यक्तित्व र पृष्ठभूमिमा भर पर्नेछ ।
अहिले मुख्य सचिवको सशक्त दाबेदारका रुपमा केही नाम सार्वजनिक भएका छन् । जेन-जी आन्दोलनका बेला गृहसचिव रहेका गोकर्णमणि दुवाडीदेखि रक्षा मन्त्रालयमा रहेका सचिव सुमन अर्याल, राष्ट्रिय तथ्यांक कार्यलयमा रहेका मधुसुदन बुर्लाकोटी, श्रम मन्त्रालयमा रहेका कृष्णहरि पुष्कर र खानेपानी मन्त्रालयमा रहेकी प्रमिलादेवी बज्राचार्य मुख्य सचिवको प्रतिस्पर्धामा देखिन्छन् ।
वरीयताका आधारमा अर्याल मुख्य सचिवका प्रमुख दाबेदार मानिन्छन् । २०७७ माघ १९ मा सचिवमा बढुवा भएका अर्याल तथ्यांक सेवाबाट निजामतीमा प्रवेश भएका थिए । २०५३ वैशाखमा निजामती सेवामा अधिकृतबाट प्रवेश गरेको उनले विज्ञान विषयमा स्नातकोत्तर गरेका छन् । योजना आयोग, प्रदेश सचिव, महिला मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, तथ्यांक कार्यालय लगायतका मन्त्रालय, विभाग निकायमा काम गरेको अनुभव रहेको छ । गत असोजमा उनलाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो ।
२०५४ मा निजामती सेवामा प्रवेश गरेका धादिङका बुर्लाकोटी २०६८ फागुनमा सहसचिव र २०७८ असारमा सचिव भएका हुन् । कडा र हकी स्वभावका बुर्लाकोटी छिटोछिटो सरुवा हुने कर्मचारीमा पर्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय प्राकृतिका स्रोत तथा वित्त आयोग, सार्वजनिक खरिद अनुगमको कार्यालय हुँदै उनी अहिले राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत छन् । उनले जागिरे जीवनमा सवैभन्दा धेरै उपत्यका बाहिर नै बिताएका थिए ।
सचिवका अर्का दाबेदार हुन्, कृष्णहरि पुस्कर । छोटो समयमा धेरै निकायमा काम गरेको अनुभव सँगालेका उनी २०५५ मा नायव सुब्बा थिए भने २०५९ मा अधिकृत र २०६६ मा उपसचिव भएका थिए । यो यात्रामा उनले प्रमुख जिल्ला अधिकारी, विभागीय प्रमुख, विदेशी दूतावास, अख्तियार, अर्थ मन्त्रालय, मन्त्रिपरिषद् कार्यालयसहितको अनुभव सँगालेका छन् । स्वदेशी र विदेशी विभिन्न निकायमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ । उनी हाल श्रम तथा रोजगार मन्त्रालयमा रहेका छन् ।
मुख्य सचिवको प्रस्पिर्धामा रहेकी बज्राचार्य इन्जिनियरिङ समूहबाट निजामती सेवामा प्रवेश गरेकी हुन् । २०५५ चैतबाट शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेकी उनीसँग उपत्यका बाहिर काम गरेको लामो समय भने छैन । काठमाडौं र ललितपुरमा लामो समय जागिरे जीवन बिताएकी उनीसँग भौतिक पूर्वाधार मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल ट्रष्ट, रेल विभाग, खानेपानी तथा सरसफाइ डिभिजनलगायतका स्थानमा काम गरेको अनुभव छ । उनी २०८१ साउनदेखि खानेपानी मन्त्रालयमा सचिव छिन् ।
यसपाला मुख्य सचिव वरीयताका आधारमा छानिन्छ कि विगतमा जस्तै आफ्नो मान्छे छान्ने परम्परा ब्युँतिन्छ त्यो भने हेर्न बाँकी नै छ ।
सम्बन्धित अन्य समाचार
'कुलिङ अफ पिरियड' रोक्न मुख्य सचिव र सचिवहरू नै लबिइङ गर्दै हिँड्नु अशोभनीय : संसदीय समिति
