२०५९ मा विश्वविद्यालयले २०८३ वैशाखसम्म वार्षिक ९ लाख भाडा लिने सर्तमा क्यानसँग सम्झौता गरेको थियो । के यो सम्झौतामा अर्को वर्ष नवीकरण होला ?
What you should know
काठमाडौँ — कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा दोस्रो संस्करणको नेपाल प्रिमियम लिग (एनपीएल) को रौनक जारी छ । तर विश्वविद्यालयको नेतृत्वमा रहेकाहरु भने यो रौनकले विश्वविद्यालयको शैक्षिक एवम् प्राज्ञिक गतिविधिमा असर पारिरहेको टिप्पणी गरिरहेका छन् ।
उनीहरुका टिप्पणीका पछाडि केही घटनाक्रम जोडिएका छन् । जसले विश्वविद्यालय हाताभित्र हजारौ दर्शक सहभागी हुने र सुरक्षाका दृष्टिकोणले समेत संवदेनशील हुनुपर्ने प्रतियोगिताका 'साइड इफेक्ट'हरु बुझाउँछ । २०५९ मा विश्वविद्यालयले २०८३ वैशाखसम्म वार्षिक ९ लाख भाडा लिने सर्तमा क्यानसँग सम्झौता गरेको भए पनि एनपीएलको बढ्दो क्रेजसँगै यसका अन्य असरहरु सतहमा देखा पर्न थालेका छन् ।
विज्ञान तथा प्रविधि संकायका पूर्वडिन विनिल अर्यालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एउटा गुनासो लेखे । उनले सुरक्षा चेकजाँच र भिडभाड छलेर आफू विभागसम्म पुग्न नसकेको उल्लेख गर्दै लेखे, 'म एक प्राध्यापक आफ्नो विभाग सम्म पुग्न सकिनँ । मेरो आईडी (परिचयपत्र) ले काम गरेन, प्रहरीको बोली अररो थियो । आज बिदा लिनुपर्ने भो । पदाधिकारी मात्र गएर विश्वविद्यालय चल्छ कि के हो ? कि शिक्षक पनि पुग्नुपर्छ ? व्यवस्था खोइ ?' उनको स्टाटसमा धेरैले समर्थन जनाउँदै आफूले पनि त्यस्तै अनुभव गरेको कमेन्टहरु लेखे । व्यवस्थापन संकायका डिन महानन्द चालिसेले लेखे, ‘मैले पनि त्यस्तै अनुभव गरें । म छक्क परेको छु ? यो शैक्षिक विश्वविद्यालय हो वा क्रिकेट विश्वविद्यालय ?’
विश्वविद्यालय हाताभित्र ठूला प्रतियोगिता गर्दा त्यसको असर कहाँसम्म पर्छ भन्नेबारे गत वर्ष पनि चर्चा भएको थियो । क्रिकेटको बढदो क्रेजअनुसार व्यवस्थित रंगशाला चाहिने भएकाले कीर्तिपुस्थित रंगशालाको विकल्प खोज्नुपर्ने चर्चा भएको थियो । यही सोचअनुसार तत्कालीन उपकुलपति केशरजंग बरालले त्यतिबेलै रंगाशालाको विकल्प सोच्नुपर्ने र त्यतिबेलासम्म त्रिविलाई बाधा नपुग्ने गरी खेल आयोजना गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । तर उनको प्रस्ताव विपरीत सरकारले कीर्तिपुरमै लगानी थपेर फ्लडलाइट र प्यारापिट थप्ने काम गर्यो । त्रिविसँग समन्वयविना रंगाशालाको स्तरवृद्धि गरिएकोलगायतका अन्य केही राजनीतिक दबाबपछि उनले पदबाटै राजीनामा दिए ।
अहिले ठूला/ठुला खेल हुँदा हजारौं दर्शक भेला हुन्छन् । भिडको असर कक्षाकोठासम्म पुगेको छ ।-दिपेन्द्र पराजुली, प्रमुख, त्रिवि खेलकुद तथा विद्यार्थी कल्याण निर्देशनालयगतवर्षको अस्तव्यस्तालाई दोहोरिन नदिन त्रिवि र एनपीएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) बीच प्रतियोगिता सम्झौता पनि भएको थियो । प्राध्यापक, विद्यार्थी र कर्मचारीलाई आवतजावत गर्न सहज होस् भनेर त्रिविको मूल गेटदेखि भित्री बाटो हुँदै लायन्स आँखा अस्पताल (तीनकुने चोक) सम्म सवारी पार्किङ नगरिने सम्झौतामा उल्लेख छ । त्यस्तै एनपीएल सफल बनाउन एकअर्कालाई सहयोग गर्ने पनि सम्झौतामा उल्लेख छ । तर कीर्तिपुर विकास समाजको नाममा त्यसक्षेत्रमा शुल्क उठाएर निर्वाध पार्किङ गरिँदा समस्या थपिएको गुनासो शिक्षक, विद्यार्थीले गरिरहेका छन् । क्रिकेट र विश्वविद्यालय एक/एकअर्कालाई बाधा नपुग्ने गरी गतिविधि गर्ने सम्झौता भएको विश्वविद्यालयका रजिष्ट्रार केदार रिजालले बताए । उनले भने, 'विश्वविद्यालय भित्र पार्किङलाई कसैलाई पनि सहमति/अनुमति दिएको छैन ।'
त्रिवि खेलकुद तथा विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख दिपेन्द्र पराजुलीले सम्झौता गर्दा यति ठुलो खेलकुद आयोजना होला र विश्वविद्यालयलाई असर पुग्ला भन्ने कल्पना नै नगरिएको बताए । उनले भने, 'अहिले ठूला/ठूला खेल हुँदा हजारौं दर्शक भेला हुन्छन् । भिडको असर कक्षाकोठासम्म पुगेको छ ।' उनले विश्वविद्यालय परिसरमा होहल्ला, भिडभाडले शैक्षिक, प्रशासनिकदेखि बोटविरुवा नोक्सानी, फोहोरमैला र वातावरण प्रदूषणसम्मको असर पुगेको र यस्तै अवस्था रहे २०८३ मा रंगाशाला भाडा सम्झौता नवीकरणा गर्ने विषयमा पनि सोच्नुपर्ने बताए । उनले भने, 'शिक्षक, कर्मचारी, विद्यार्थीबाट प्रशस्तै गुनासो आउने गरेका छन् । यस्तो अवस्थामा रंगाशाला भाडामा दिने/ नदिने विषय पुनर्विचार गर्नुपर्छ । १/२ दिन होइन । महिना दिनसम्म खेल हुँदा त विश्वविद्यालयमा पुग्ने असर असीमित छ ।’
गत वर्ष नै त्रिवि केन्द्रीय क्याम्पस प्रिन्सिपल कार्यालयले क्रिकेट मैदानमा भइरहने प्रतियोगिताले विश्वविद्यालयको पठनपाठन प्रभावित भएको निष्कर्ष निकालेको थियो । तत्कालिन क्याम्पस प्रमुख ध्यानेन्द्रबहादुर राईले खेल मैदान वा त्रिविको विकल्प खोज्न उपकुलपति कार्यालय सम्म प्रस्ताव पठाएका थिए । केन्द्रीय क्याम्पसका पूर्वस्ववियु सचिव सिद्धान्त भट्टले वातावरणीय प्रभाव मुल्याङ्कनबिना व्यवसायिक खेल आयोजना हुँदा विश्वविद्यालयको वातावरण बिग्रिएको टिप्पणी गरे । सरकारले विश्वविद्यालय क्षेत्रमा बलमिच्चाई गरेर रंगाशाला निर्माण गरेको र त्यसको विकल्प खोज्नुपर्ने बेला आएको उनले औंल्याए ।
केन्द्रीय क्याम्पसका प्रोक्टर गणेशप्रसाद अधिकारीले विश्वविद्यलाय भित्र छिर्न नै असहज भएको थुप्रै गुनासो आएको बताए । ‘हजारौंको भिड छ । विश्वविद्यालय भित्र छरेर अनेक व्यापार व्यावसाय (पानी, चटपट, खाजा पसल) सञ्चालन गरिएको छ,’ उनले भने, ‘सम्झौताअनुसार काम नभएपछि सुरक्षा निकायसँग पनि छलफल गरेका छौं,’ उनले भने । दीर्घकालीन हिसाबले सरकारले त्रिवि रंगाशालाको विकल्प सोच्नुपर्ने र तत्काल पार्किङ विश्वविद्यालय क्षेत्रभन्दा बाहिर गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । ‘पार्किङ मुख्य समस्या छ । विश्वविद्यालय बाहिर पार्किङ गर्नुपर्छ । यो खेल पनि सफल होस् । विश्वविद्यालयको गतिविधिमा पनि असर नपुगोस् भन्ने हाम्रो आग्रह हो,’ प्रोक्टर अधिकारीले भने । रंगाशाला नजिकैको छात्रावासमा बस्नेहरुले समेत क्याम्पस प्रशासनलाई सुरक्षाको विषयमा ध्यानार्कषण गराएको समेत उनले जनाए । 
अर्को वर्षसम्म अझै लगानी गरेर क्रिकेट र विश्वविद्यालयले एकअर्कालाई असर नपुग्ने गरी पूर्वाधार निर्माण गरिन्छ ।-छुम्बी लामा, प्रवक्ता, क्यानत्रिविलाई नपुगोस् भनेर गतवर्ष भन्दा रंगशाला आसपास व्यवस्थित गरिएको क्यानका प्रवक्ता छुम्बी लामाकाे दाबी छ । ‘खेलको बेलामा पनि विश्वविद्यालयमा डिस्टर्ब हुनहुँदैन भनेर सचेत छौं । प्रतिष्ठित विश्वविद्यालयमा नोक्सान पुर्याउन हुँदैन भन्ने कुरा क्यानले पनि बुझेको छ,’ उनले भने । यसपटक सवारी साधान पार्किङलाई त्रिवि गेट बाहिरै व्यवस्थित गरिएको र वैकल्पिक गेटबाट रंगाशालासम्म पुग्ने व्यवस्था मिलाईएको क्यानले जनाए । ‘पर्किङका लागि त्रिविको गेट बाहिरबाटै चोभार जाने बाटोसम्म स्थान तोकेका छौं । त्रिविको भित्र खाली नै छ,’ प्रवक्ता लामाले भने, ‘त्रिविलाई डिस्टर्ब हुन्छ भनेर रंगाशाला जान अर्कै गेटको प्रयोग गरेका छौं । क्यानकै पदाधिकारी र भीआईपी पनि त्रिविको गेट प्रयोग गरेर रंगाशाला छिर्न पाउँदैनन् । उनीहरुको सवारी साधन पनि बाहिरै पार्किङ हुन्छ ।’
प्रवक्ता लामाले विस्तृत गुरुयोजना बनाएर अझै रंगाशालालाई व्यवस्थित गरेर त्रिविलाई असर पुग्न नदिने बताए । भने, ‘नेपालको क्रिकेटको इतिहास र त्रिवि क्रकेट रंगशालाको इतिहास जोडिएको छ । त्यसको निरन्तरतालाई सरकारले लगानी गरेको छ । अर्को वर्षसम्म अझै लगानी गरेर क्रिकेट र विश्वविद्यालयले एकअर्कालाई असर नपुग्ने गरि पूर्वाधार निर्माण गरिन्छ ।' मूलपानी क्रिकेट रंगाशाला निर्माण भएपछि त्रिविमा क्रमशः भार कम पर्दै जाने र अहिले मूलपानीमा त्रिविमा जति पूर्वाधार पनि नभएको उनकाे भनाइ छ । भने, 'हामीलाई ३/४ वटा रंगाशाला चाहिन्छ । त्रिविले मात्रै पुग्दैन ।'
खेलको समयमा विश्वविद्यालयमा शान्ति सुरक्षाको विषयमा विश्वविद्यालयका पदाधिकारीले काठमाडौं प्रहरीसँग समेत छलफल गरेका थिए । विश्वविद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी सहित क्रिकेटका दर्शकलाई आउजाउमा व्यवस्थिति गर्ने, विश्वविद्यायलाई पर्ने प्रभाव कसरी रोक्ने भन्ने विषयमा छलफल गरिएको काठमाडौं प्रहरीका एसपी पवन भट्टराईले जनाए । ‘पार्किङका विषयमा त्रिवि, क्यान र स्थानीय तह बसेर कुराकानी गर्नुहुन्छ । त्रिविको गेट बाहिरको क्षेत्रमा मात्र पार्किङ मिलाइएको छ । नियमनका लागि प्रहरीले सहयोग गरेको छ,’ उनले भने ।
