स्थिति नियन्त्रणमा लिन सिमरा क्षेत्रमा कर्फ्यू लगाइएकाे छ ।
बारा — बाराकाे सिमरामा बुधबार भएकाे झडपकाे विषयलाई लिएर बिहीबार पनि तनाव भएकाे छ । जेनजीले प्रदर्शन चर्काउन थालेपछि दिउँसाे पाैने १ बजेदेखि कर्फ्यू लगाइएकाे छ ।
बिहीबार बिहान ११ बजेदेखि सिमरा चाेकमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् । भीड नियन्त्रणमा लिन सामान्य बल प्रयाेग पनि गरेकाे थियाे । स्थिति नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले सिमरा क्षेत्रमा कर्फ्यू लगाएकाे छ ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार बिहीबार दिउँसाे १२ : ४५ देखि साँझ ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको बताए । पथलैयादेखि दक्षिण जीतपुरकाे ललका पुलसम्म राजमार्गकाे ५ सय मिटर दाँयाबाँया र एयरपाेर्ट क्षेत्रकाे ५ स मिटर आसपासकाे क्षेत्रमा कर्फ्यू लगाइएकाे हाे ।
प्रदर्शनका कारण सिमरा क्षेत्रमा यातायात पनि अवरुद्ध बनेकाे छ । उनीहरुले सिमरा चाेकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
बुधबार सिमरामा भएकाे झडपमा संलग्नलाई पक्राउ नगरेकाे भन्दै जेनजीले बिहीबार बिहान प्रदर्शन सुरु गरेका हुन् । उनीहरुले बुधबार ६ जनाविरुद्ध जाहेरी दिएका थिए ।
जाहेरी परेका मध्ये दुई जनालाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जीतपुर सिमरा उपमहानगरपालिका २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का अध्यक्ष कैमुदिन अन्सारीलाई पक्राउ गरिएकाे बताए । उनीहरु दुवै एमालेबाट निर्वाचित हुन् ।
बुधबार जेनजी र एमाले कार्यकर्ता बीच भएकाे झडपमा ६ जना जेनजी घाइते भएका थिए । जेनजीले ६ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । एमाले र जेनजी पुस्ताका युवाहरूसित सिमरा चाेकमा भएकाे हात हालाहालकाे विषयमा जेनजीले एमाले कार्यकर्ताविरूद्ध जाहेरी दिएकाे हाे । आराेपित पक्राउ नपरेकाे भन्दै फेरि प्रदर्शन गरिएकाे जेनजीका जिल्ला संयाेजक सम्राट उपाध्यायले बताए । बुधबार जेनजी र एमाले कार्यकर्ता बीच भएकाे झडपले दिनभर तनावपूर्ण र अशान्त बनेकाे थियाे ।
