दुर्गा प्रसाईंविरुद्ध कसरी अघि बढ्छ अनुसन्धान ?

प्रसाईंले ७ मंसिरदेखि देशै ठप्प पारेर राजसंस्था र हिन्दुराष्ट्र पुन:स्थापना गर्ने आन्दोलन थाल्ने बताउँदै आएका थिए ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

How will the investigation against Durga Prasai proceed?

What you should know

काठमाडौँ — सोमबार राति भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रवक्ता यादव पौडेलका अनुसार, प्रसाईंको अभिव्यक्ति सार्वजनिक शान्तिमा असर गर्ने किसिमको भएकाले यो कसुरमा अनुसन्धान हुनेछ ।

‘जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर आज थप अनुसन्धानका लागि म्याद लिइनेछ,’ पौडेलले भने । प्रसाईंले ७ मंसिरदेखि देशै ठप्प पारेर राजसंस्था र हिन्दुराष्ट्र पुन:स्थापना गर्ने आन्दोलन थाल्ने बताउँदै आएका थिए ।

पछिल्लो समय उनले दूतावासहरुको नाम नै तोकेर बम प्रहार हुनसक्छ र दोष आफूलाई थुपारिदिनसक्छन् भन्दै दिएको अभिव्यक्तिलाई सुरक्षा संयन्त्रले नोटिसमा लिएको थियो ।

आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने प्रसंग उठेको थियो । त्यसपछि बैठकले  हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो ।

यसपछि पक्राउ परेका प्रसाईंलाई अनुसन्धान अधिकृतहरूले उनका अभिव्यक्तिको विषयमा सोधपुछ गर्नेछन् । उनले दिएका उग्र अभिव्यक्तिको आधार के हो भन्ने विषयमा पनि सोधिनेछ ।  

प्रसाईंलाई प्रहरीले यसअघि १५ चैतमा भएको राजवादी आन्दोलनमा हिंसा भड्काएको आरोपमा समेत भारतको असमबाट पक्राउ गरेर ल्याएको थियो । राजसंस्था फर्काउने भन्दै उनले आह्वान गरेको आन्दोलनमा २ जनाले ज्यान गुमाएका थिए भने थुप्रै घाइते भएका थिए । 

कान्तिपुर

Link copied successfully