भर्खर सिस्टम जोडिएकाले र एकैचोटि धेरै ट्राफिक आएकाले केही प्राविधिक समस्या भने देखिएको छ ।
What you should know
काठमाडौँ — अत्यधिक प्रयोगकर्ता र भरखर सिस्टम तयार भएकाले मतदाता नामावलीको अनलाइन दर्तामा बेलाबेला प्राविधिक समस्या तथा ढिलासुस्ती देखिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना प्रविधि निर्देशक लोकराज शर्माका अनुसार निर्वाचन आयोगको प्रणाली र राष्ट्रिय परिचयपत्र प्रणाली एकीकृत भएयताको छोटो अवधिमै ठूलो संख्यामा नागरिकहरूले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।
निर्देशक शर्माका अनुसार बिहीबार दिउँसोदेखि शुक्रबारसम्म ३७ हजार ६ सय जनाले राष्ट्रिय परिचयपत्रको प्रयोग गरी मतदाता नामावली दर्ता गराइसकेका छन् ।
अनलाइन दर्तामा देखिएको प्राविधिक समस्याबारे गुनासो आइरहेको स्विकार्दै निर्देशक शर्माले सुधारको प्रयास भइरहेको बताए । ‘प्रणाली भर्खर जोडिएको हुनाले र एकैचोटि धेरै ट्राफिक आएकाले प्राविधिक समस्या देखिएको हो,’ उनले भने, ‘यस कारण घरीघरी ढिलो हुने गरेको छ ।’
यो समस्या समाधान गर्नका लागि अहिले निर्वाचन आयोगको कार्यालयमै विकासकर्ता (डेभलपर) र इन्जिनियरहरूको टोलीले काम गरिरहेको शर्माले बतााए । आज समस्या समाधान गरेर मात्रै बाहिरिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘आज हामी मिलाएर मात्र निक्लिन्छौँ ।’ यस कार्यका लागि राष्ट्रिय परिचयपत्र विभागबाट ६ जनाको टोली सक्रिय रहेको छ ।
विभागले हाल दर्ता भएका आवेदकहरूको विस्तृत रिपोर्ट विश्लेषण गर्ने तयारी गरिरहेको छ । अहिले विदेश (आउट अफ कन्ट्री) र देशभित्र (यहाँको) बाट भएका दर्ताहरूको तथ्यांक छुट्याएर निकाल्ने विषयमा छलफल गरिरहेका छन् ।
निर्देशक शर्माका अनुसार, यो तथ्याङ्कले विदेशमा रहेका नेपालीहरूले कति मात्रामा यो सुविधा प्रयोग गरे र कति लाभान्वित भए भन्ने कुरा थाहा पाउन सहयोग गर्नेछ । 'साथीहरूले अहिले सो डाटा निकाल्न मिल्ने गरी ब्याकएन्डमा मिलाउने काम गरिरहेका छन्,' उनले भने ।
