यूएईको भिजिट भिसा खुला

रोजगारी भिसाको विषयमा भने यूएईले अझै निर्णय गरेको छैन । 

कार्तिक २७, २०८२

होम कार्की

UAE visit visa open

What you should know

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) ले भदौ २४ गतेदेखि रोकिएको भिजिट भिसाको आवेदन बिहीबारदेखि लिन सुरु गरेको छ । रोजगारी भिसाको विषयमा भने यूएईले अझै निर्णय गरेको छैन । 

भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा जेलबाट कैदी भागेपछि यूएईले नेपालीका लागि भिजिट र वर्किङ भिसा दिन बन्द गरेको थियो । भिसासम्बन्धी काम गर्ने नमस्ते ट्राभलका सञ्चालक एकेन्द्र थापाले बिहीबारदेखि यूएईले आवेदनलाई स्वीकार गर्न थालेको बताए ।  यूएईले अझै नेपालीको लागि भिसा बन्द गरेको औपचारिक जानकारी दूतावासलाई दिएको छैन । उसले सार्वजनिक रूपमा सूचना पनि जारी गरेको छैन ।

अध्यागमन विभागका अनुसार पछिल्लो जुलाईदेखि सेम्टेम्बर २५ सम्म १२ हजार ७ सय ९७ जना पुगेका छन् । जसमा ४ हजार ४ सय २० जना रहेका छन् । यूएई नेपालीका लागि प्रमुख गन्तव्य हो । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनेमध्ये झन्डै ४० प्रतिशत यूएई जानेहरू  छ । साउन महिनामा दैनिक सरदर ७९४ जनाले यूएई जानका लागि श्रम स्वीकृति लिएको देखिन्छ ।

यस्तै अघिल्लो आर्थिक वर्षको तथ्यांकले दैनिक ७५२ जना हाराहारीले यूएई जान श्रम स्वीकृति लिएको देखिन्छ । यसबाहेक भिजिट भिसाकै सहारामा समेत दैनिक २०० जना हाराहारीका नेपाली नागरिक यूएई जाने गरेको विभिन्न अनौपचारिक स्रोतको दाबी छ ।

चालु आर्थिक वर्षको साउन महिनाको तथ्यांक हेर्ने हो भने पनि यूएई जानका लागि १७ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै ६ हजार ५९ जनाले पुनः श्रमस्वीकृति लिएका छन् । यस आधारमा कुल गरेर साउन महिनामा मात्रै यूएईका लागि २३ हजार ८३८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउछ 

आर्थिक वर्ष २०८१/०८२ को तथ्यांक अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) जानका लागि २ लाख १ हजार १४८ जनाले श्रम स्वीकृति लिए । यो तथ्यांक पुनः श्रमस्वीकृतिबाहेकको हो ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully