वर्क परमिट जारी भइसकेका ५ हजार नेपाली श्रमिक यूएई जान रोकिए

यूएईबाट वर्क परमिट जारी भइसकेका म्याग्दीका बिरे विकले आफूहरू अन्योलमा परेको बताए ।

कार्तिक २०, २०८२

होम कार्की

5,000 Nepali workers with work permits stopped from going to UAE

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)को मानव संसाधन तथा इमिराती मन्त्रालयले जारी गरेको वर्क परमिट (श्रम अनुमति) प्राप्त झन्डै पाँच हजार नेपाली श्रमिक यूएई जान रोकिएका छन् । उनीहरूको वर्क परमिटको अवधि सकिँदै छ ।

गत भदौ २४ गतेको प्रदर्शन र जेलबाट नेपाली भागेपछि यूएईले नेपालीका लागि श्रम र भिजिट भिसा दिन रोकेको थियो । यूएईको उक्त नीतिका कारण वर्क परमिट प्राप्त नेपाली पनि विदेश जानबाट रोकिएका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर वर्क परमिट जारी भइसकेका नेपाली श्रमिकलाई पठाउन अनुमति दिन अनुरोध गरेको छ । अर्थमन्त्री खनालले यूएईले आफ्नै सुरक्षालाई कारण देखाएर भिसा रोक्ने विषयमा नेपालले हस्तक्षेप गर्न नसक्ने बताए ।

'यूएईले आफ्नो सुरक्षाको कारण देखाएर भिसा नदिने निर्णय गर्नु उसको अधिकारभित्रको कुरा हो । यसमा हामीले केही गर्न सक्दैनौँ,' टोलीमा सहभागी संघका पूर्वअध्यक्ष रोहन गुरुङले अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै भने, 'तर पनि यो विषयलाई कूटनीतिक माध्यमबाट सम्बोधन गर्न प्रयास हुनेछ ।'

व्यवसायीहरूले जेलबाट भागेका नेपालीको राहदानी कालोसूचीमा राखिएको जानकारी यूएई सरकारलाई दिनुपर्ने सुझाव दिएका छन् । संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले भने, 'जुनजुन व्यक्ति भागेका छन्, उनीहरूको राहदानी कालोसूचीमा राखिएको जानकारी यूएईलाई दिनुपर्छ । त्यो विषयमा यूएई संवेदनशील भएको छ, त्यसैले हामीले विश्वस्त बनाउनुपर्छ ।'

यूएईबाट वर्क परमिट जारी भइसकेका म्याग्दीका बिरे विकले आफूहरू अन्योलमा परेको बताए । 'मेडिकल भइसकेको छ, अन्तर्वार्तापछि कम्पनीले हामीलाई छानेको छ, करार पत्रमा हस्ताक्षर भइसकेको छ,' उनले भने, 'सबै प्रक्रिया पूरा भएर पनि जान पाइएन ।'

यूएईमा वर्क परमिट जारी भएपछि भिसा दिने अभ्यास रहँदै आएको छ । 'वर्क परमिट पाउनु भनेको भिसा पाउने लगभग निश्चितता हो,' पूर्वअध्यक्ष गुरुङले बताए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यूएईसँग नेपाली दूतावासले नजिकबाट समन्वय गरिरहेको जानकारी दिए । 'यो विषयमा यूएईसँग हाम्रो दूतावास निरन्तर समन्वयमा छ,' उनले भने ।

यूएई नेपाली श्रमिकको प्रमुख गन्तव्य देश हो । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमध्ये झन्डै ४० प्रतिशत श्रमिक यूएई जान्छन् । साउन महिनाको तथ्याङ्क अनुसार दैनिक सरदर ७९४ जनाले यूएई जान श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षमा सो संख्या दैनिक ७५२ जनाको हाराहारी थियो ।

यसबाहेक भिजिट भिसाको सहारामा पनि दैनिक झन्डै २०० जना नेपाली यूएई जाने गरेको अनौपचारिक स्रोतले जनाएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै यूएईका लागि १७ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका छन्, भने ६ हजार ५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यस आधारमा साउन महिनामै २३ हजार ८३८ जनाले यूएईका लागि श्रम स्वीकृति लिएको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगार विभागले यूएईका लागि २ लाख १ हजार १४८ श्रमिकलाई श्रम स्वीकृति जारी गरेको थियो । पुनः श्रम स्वीकृति समेत गणना गर्दा यो संख्या २ लाख ७४ हजार ५९० पुग्छ । विभागका अनुसार श्रम स्वीकृति पाउने १५१ गन्तव्य देशमध्ये यूएई जाने नेपाली श्रमिकको संख्या सबैभन्दा बढी छ ।

सम्बन्धित समाचारहरु 

खाडी र मलेसियामा नेपालीलाई रोजगारी अब सहज कि असहज ?

भिजिट भिसामा यूएईमा रहेकालाई फर्कन दबाब

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully