घाइते जेन-जी र सहिदका नाममा इन्टरनेटमा चन्दा संकलन, धेरै पीडित अनभिज्ञ

‘गो फन्ड मी’ जस्ता प्लाटफर्मबाट ‘क्राउड फन्डिङ’ गर्न एक सयभन्दा बढी ‘क्याम्पेन’ सुरु गरिएका थिए, ५७ ‘क्याम्पेन’ ले रकम संकलन गरेका छन् । कतिपयले रकम वितरण पनि गरेका छन् भने कतिपय परिवारले आफूहरूको तस्बिर, पहिचान र पीडालाई आधार बनाएर चन्दा संकलन भइरहेको जानकारीसमेत पाएका छैनन् ।

कार्तिक २६, २०८२

सजना बराल, समर्पण श्री, दया दुदराज

Donations are being collected online in the name of injured Gen-G and martyrs, but many victims are unaware

What you should know

काठमाडौँ — जेन–जी विद्रोहपछि पुनर्निर्माण, घाइते र मृतकका नाममा दर्जनौं व्यक्ति र संस्थाले सामाजिक सञ्जाल एवं ‘क्राउड फन्डिङ–प्लाटफर्म’ मार्फत रकम संकलन गरिरहेका छन् । अनलाइन ‘प्लाटफर्म’ मार्फत संकलन थालिएको करिब दुई महिना भइसक्दा पनि कतिपय घाइते र मृतकका परिवारले राहत हात पारेका छैनन् । आर्थिक अभावमा उनीहरूलाई उपचारका लागि औषधि किन्नसमेत धौ–धौ परिरहेको छ । 

जेन–जी आन्दोलनपछि सामाजिक सञ्जाल र ‘गो फन्ड मी’ जस्ता ‘क्राउड फन्डिङ’ प्लाटफर्ममार्फत विभिन्न व्यक्ति तथा संस्थाले चन्दा संकलन अभियान चलाइरहेका छन् । विशेष गरी विदेशमा रहेका नेपाली, गैरआवासीय संघ, विद्यार्थी संगठन तथा क्लबहरूले यस्ता अभियान चलाएको देखिन्छ । तर कतिले कसरी रकम संकलन गरिरहेका छन्, कसले कति उठाइसके, कति वितरण गरे भन्ने यकिन विवरण भेटिँदैन । कान्तिपुरले इन्टरनेटमा ‘सर्च’ गर्दा सयभन्दा बढी ‘फन्डरेजर’ अभियान फेला परेका छन् । 

जेन–जी आन्दोलनपछि चन्दा आह्वान गरिएका १०७ अकाउन्ट (क्याम्पेन अर्गनाइजर) मध्ये ५७ वटाले १० करोड २८ लाख रुपैयाँ उठाउने लक्ष्य राखेकामा यो समाचार तयार पार्दासम्म २ करोड ५८ लाख ७० हजार रुपैयाँ संकलन भएको देखिन्छ । अरू ५० अकाउन्टमा भने रकम जम्मा भएको छैन । यी अभियान अस्ट्रेलिया, अमेरिका, बेल्जियम, क्यानडालगायत मुलुकबाट सञ्चालन गरिएका हुन् । 

५७ ‘क्याम्पेन अर्गनाइजर’ मध्ये १७ वटाले ४ लाख 

४१ हजार ७ सय अस्ट्रेलियन डलर अर्थात् ३ करोड ८७ लाख ५६ हजार २१६ रुपैयाँ संकलन गर्ने लक्ष्य राखेका छन् । उनीहरूले १ लाख ८७ हजार ६९० अस्ट्रेलियन डलर अर्थात् १ करोड ७२ लाख ४९ हजार ५९५ संकलन गरेका छन् । १६ अर्गनाइजरले ३ लाख १८ हजार १०१ अमेरिकी डलर अर्थात् ४ करोड ५१ लाख २५ हजार ८०५ रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा ५१ हजार ७८५ अमेरिकी डलर अर्थात् ७३ लाख ४२ हजार ३८९ रुपैयाँ जुटाएका छन् ।  

Donations are being collected online in the name of injured Gen-G and martyrs, but many victims are unawareजेन-जी आन्दोलनमा घाइते भएकी सप्तरीकी ४८ वर्षीया गिता शाहलाई संकलित रकम हस्तान्तरण गर्दै अभियन्ता विक्रम धामी ।

११ ‘अर्गनाइजर’ले ४१ हजार ७ सय पाउन्ड स्टर्लिङ अर्थात् ७७ लाख २६ हजार ८४३ रुपैयाँ जुटाउने लक्ष्यसहित रकम संकलन गरिरहेका छन्, जसमा ६ लाख ५७ हजार ८ सय रुपैयाँ संकलन भएको देखिन्छ । ८ प्रयोगकर्ताले ३४ हजार ८ सय युरो अर्थात् ५६ लाख ७१ हजार ६ सय ३४ अपेक्षा गरेकामा २ लाख ७१ हजार ८४७ संकलन गरेका छन् । ५५ हजार क्यानेडियन डलर अर्थात् ५५ लाख १९ हजार ८५४ संकलन गर्ने लक्ष्य राखेका पाँच प्रयोगकर्ताले ३ लाख ४८ हजार ६५४ संकलन गरेका छन् ।

केहीले घाइते र मृतकको नाम उल्लेख गरेरै ‘फन्डरेजर’ अकाउन्ट बनाएका छन् । यस्ता अकाउन्ट कति छ भन्ने खोज्न सम्भव देखिँदैन । नाम तोकेरै राहत संकलन भइरहेको विषयमा कतिपय घाइते र मृतकको परिवार नै बेखबर छन् । केहीले भने रकम पाउन थालिसकेको जानकारी दिए । उनीहरूले यस्तो अभियानबाट जुट्ने सहयोग आफ्ना लागि महत्त्वपूर्ण भएको पनि बताए । 

इटहरीमा घाइते भएका सान्तनु ढकालका नाममा रविन राई र पारुहाङ राई नामक प्रयोगकर्ताबाट ‘गो फन्ड मी’ मा चन्दा संकलन भइरहेको छ । १८ सय पाउन्ड अर्थात् ३ लाख ३५ हजार १८१ रुपैयाँ अपेक्षा गरिएकामा अहिलेसम्म १५ सय ६ पाउन्ड अर्थात् २ लाख ८० हजार ४३५ रुपैयाँ संकलन भइसकेको देखिन्छ । तर यो रकम सान्तनुले पाएका छैनन् । 

सान्तनु बोल्न सक्ने अवस्थामा छैनन् । उनका दाइ एलिसले पैसा दुरुपयोग हुन्छ भनेर आफूहरूले कतैबाट पनि पैसा नउठाएको बताए । ‘हामीले पैसा नउठाउने नै भनेका हौं । तर, उसका नाममा फोटो देखाएर पैसा उठाएको बारे तपाईंले भनेपछि मात्रै थाहा भयो,’ उनले कान्तिपुरसित भने, ‘गो फन्ड मीबाट भनेर कुनै पैसा पाएका छैनौं ।’

कान्तिपुरले रविन राईलाई ‘गो फन्ड मी’ मार्फत सम्पर्क गर्दा जवाफ दिएनन् । ‘गो फन्ड मी’ मै ‘अपडेट’ गरेर उनले नोभेम्बरभित्र व्यवस्थापन गर्ने जानकारी दिएका छन् । उनले सहयोगसँग सम्बन्धित फोटो र भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक गर्ने उल्ल्खे गरेका छन् । 

जेन–जी आन्दोलनमा ज्यान गुमाएका गौरव जोशीका नाममा १ हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्यसहित ‘गो फन्ड मी’ मा चन्दा संकलन भइरहेको छ । यसका लागि ज्ञान गौतमले खडा गरेको ‘फन्डरेजर’ अकाउन्टमा १ सय डलर संकलन भइसकेको देखिन्छ । गौरवको परिवारले ‘गो फन्ड मी’ बाट संकलित रकम नपाएको जानकारी दिएको छ ।   

Donations are being collected online in the name of injured Gen-G and martyrs, but many victims are unaware

गौरवका मामा जगदीशप्रसाद भट्टले संकलन गर्नेहरू सम्पर्कमा पनि नरहेको बताए । ‘सहिदका नाममा हिरोसी खनालले पनि रकम उठाउनुभएको छ रे । उहाँसँग सुरुमा कुरा भएको थियो, एक महिनादेखि सम्पर्कविहीन हुनुहुन्छ,’ उनले भने । चन्दा दुरुपयोग भइरहेको विषयमा भट्टले गृह मन्त्रालय र अर्थ मन्त्रालयमा ज्ञापनपत्र नै बुझाएका छन् । ‘तर कुनै पहलकदमी छैन,’ उनले भने । 

अस्ट्रेलियामा रहेका हिरोसी खनालले सञ्चालन गरेको ‘नेपाल राइजिङ’ नामक ‘फन्डरेजिङ’ अभियानमा हालसम्म १ लाख ७१ हजार ९५७ अस्ट्रेलियन डलर संकलन भएको छ । उनले आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएका युवाका परिवारलाई सहयोग पुर्‍याउने भनेर २ लाख अस्ट्रेलियन डलर संकलन गर्ने लक्ष्य राखेका छन् । खनालले संकलित रकम अस्ट्रेलियास्थित नेपाली समुदायका प्रतिनिधि र नेपालका स्वतन्त्र राहत संयन्त्रमार्फत पारदर्शी रूपमा वितरण गर्ने ‘गो फन्ड मी’कै विवरणमा उल्लेख गरेका छन् । 

युनाइटेड नेपालिज एसोसिएसनले १ लाख अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म ३१ हजार २८ डलर जम्मा गरेको देखिन्छ । यो रकम १७२ जनाले दिएका हुन् ।

एसोसिएसनले मृतकको परिवारलाई रकम उपलब्ध गराउने भनेको छ । क्यानडाको भ्यानकुभरस्थित यार्सा भ्यान फुटबल क्लबले ५० हजार क्यानेडियन डलर उठाउने लक्ष्य राखेको छ, जसमा २६ जनाले कुल १ हजार १५३ डलर उपलब्ध गराइसकेका छन् । अर्का ‘फन्डरेजर’ दिनेश पन्तले पनि ४० हजार अमेरिकी डलर उठाउन खोजेका छन् । यसमा हालसम्म ५ हजार ३१५ अमेरिकी डलर जम्मा भइसकेको छ । साई एभेन्यु लिमिटेड र अन्य चार जनाले ३५ हजार पाउन्ड स्टर्लिङ संकलन गर्ने लक्ष्य लिएकामा अहिलेसम्म ३३४ युरो उठेको छ ।

‘गो फन्ड मी’ मार्फत चन्दा संकलन गरिरहेका खनाल, आभास बम्जन र मन्जिल लमिछाने ‘गो फन्ड मी’ ले समीक्षा प्रक्रिया पूरा गर्न बाँकी रहेकाले रकम वितरणमा ढिलाइ भएको बताउँछन् । ‘परिवारको चिन्ता जायज हो, उहाँहरूलाई आफ्नो हकको रकम कहिले र कसरी आउँछ भन्ने जान्ने अधिकार छ । तर हामी पनि कानुनी र प्राविधिक प्रक्रियामा बाँधिएका छौं,’ उनीहरूले इमेलमा भनेका छन् ।

खनालका अनुसार ‘गो फन्ड मी’को ‘ट्रस्ट एन्ड सेफ्टी’ टिमका एजेन्ट लीले यस अभियानका सबै प्रमाण तथा कागजात जाँचिरहेका छन् । ‘मृतकहरूको विवरण पुष्टि भइसकेको छ । घाइतेहरूको प्रमाणीकरण भइरहेको छ । हाम्रोतर्फबाट सबै काम पारदर्शी रूपमा र कानुनी प्रक्रियाअनुसार गरिएको छ,’ उनले भने । 

आफूहरूले दुई छुट्टाछुट्टै अभियानमार्फत रकम संकलन गरेको खनालले जानकारी दिए । उनको नेतृत्वमा भएको अभियानको रकम मृतकका परिवारबीच बाँडिनेछ । बम्जनले चलाएको अभियानबाट जुटाइएको रकम मृतकको परिवार र घाइते दुवैका लागि उपयोग गरिनेछ । ‘गो फन्ड मीले मागेका विवरण उपलब्ध गराइरहेका छौं,’ खनालले भने, ‘तर अन्तिम निर्णय उनीहरूकै समीक्षा टोलीको हातमा हुन्छ । यो प्रक्रिया छिट्टै पूरा होस् र सहायता रकम वास्तविक पीडितका हातमा पुगोस् भन्ने चाहन्छौं ।’

घाइते अभिषेक श्रेष्ठले आफ्नो नाममा ‘गो फन्ड मी’ मा संकलन गरिएको रकम पाएका छन् । ‘आफन्त श्याम श्रेष्ठले मेरा लागि गो फन्ड मीमा पैसा संकलन गर्नॅभएको हो,’ अभिषेकले भने, ‘संकलन भएजति पैसा पाइसकेको छु ।’ अभिषेकका नाममा ६ हजार ५ सय अस्ट्रेलियन डलर संकलन गर्ने लक्ष्य राखिएकामा हालसम्म ७८९ अस्ट्रेलियन डलर संकलन भएको छ । 

जेन–जी आन्दोलनका घाइते दीपेन्द्र बस्नेतका नाममा हालसम्म १ हजार २१७ अमेरिकी डलर संकलन भएको छ । बस्नेतका लागि गणेश अधिकारीले चन्दा संकलन सुरु गरेका हुन् । ‘गो फन्ड मी भन्ने त मलाई थाहा भएन तर गणेश अधिकारी दाइले १ लाख ६० हजार रुपैयाँ पठाइदिनुभएको छ,’ बस्नेतकी श्रीमती संगीता खड्काले भनिन् । जेन–जी आन्दोलनका मृतक विनोद महर्जन लगायतका नाममा पनि रकम संकलन भइरहेको छ ।

पेट र हातमा गोली लागेका कैलालीका युवराज उपाध्यायले ‘गो फन्ड मी’मार्फत आफूलाई पैसा नआएको जानकारी दिए । दसैंअघि ‘डिस्चार्ज’ भएयता कुनै सहयोग नपाएको उनको भनाइ छ । ‘पछिल्लो समय मलाई सहयोग आएको छैन,’ उनले भने, ‘औषधि र उपचार अस्पतालले निःशुल्क गरे पनि डेरामा बस्दाको खर्च व्यवस्थापन गर्न गाह्रो भइरहेको छ ।’ 

Donations are being collected online in the name of injured Gen-G and martyrs, but many victims are unawareकैलालीका युवराज उपाध्याय

२३ भदौमा ढाडमा गोली लागेर ‘स्पाइनल इन्ज्युरी’ पुनःस्थापना केन्द्रमा उपचाररत सर्लाहीका २७ वर्षीय राकेशकुमार महतोलाई पनि ‘गो फन्ड मी’ मार्फत पैसा आएको जानकारी छैन । उनको कुरुवा बसिरहेका दाइ राजेशले भने, ‘गो फन्ड मी नै पहिलो पटक सुन्दै छु । पछिल्लो समय त कतैबाट पनि सहयोग आएको छैन ।’

अर्का घाइते सर्लाहीका २७ वर्षीय उदयप्रकाश साहले आफूलाई सहयोग गर्न कोही नआएको बताए । २३ भदौमा उनको देब्रे खुट्टामा गोली लागेको थियो । ‘एक पटक आशिका तामाङले सहयोग दिन खोज्नुभएको थियो, तर मैले लिइनँ,’ उनले सुनाए, ‘त्यसबाहेक सहयोग गर्न कोही आएका छैनन् । अस्पतालको निःशुल्क उपचार र औषधिबाहेकको खर्च आफैंले गरिरहेको छु ।’ उनी नियमित ‘फलोअप’का लागि ट्रमा सेन्टर जाने गरेका छन् ।  

Donations are being collected online in the name of injured Gen-G and martyrs, but many victims are unawareसर्लाहीका २७ वर्षीय उदयप्रकाश साह

अमेरिकास्थित नेपाली विद्यार्थी संगठनहरूको एउटा समूहले ३५ हजार अमेरिकी डलर उठाउने लक्ष्य लिएकामा हालसम्म २७ हजार ५ सय डलर (७९ प्रतिशत) संकलन गरिसकेको छ । यस ‘फन्डरेजर’को संयोजन नर्थ क्यारोलाइना विश्वविद्यालयकी रसिका चम्लागाईंले गरेकी छन् ।

नेपाली मूलकी भुटानी युवा चम्लागाईंले आफू नर्थ क्यारोलाइना विश्वविद्यालयमा अध्ययनरत रहेको र विद्यार्थी संगठनसँग आबद्ध रहेको कान्तिपुरलाई बताइन् । ‘फन्डरेजर’बाट संकलित रकमको ४० देखि ५० प्रतिशत पहिलो चरणमा वितरण भइसकेको उनले जानकारी दिइन् । वितरण प्रक्रियालाई पारदर्शी बनाउन आफूहरूले विस्तृत प्रक्रिया अपनाएको उनको भनाइ छ । ‘हामीले व्यक्तिगत रूपमा दिनेभन्दा पनि पारदर्शिताका लागि संस्थागत रूपमा नै सहयोग वितरण गरिरहेका छौं,’ उनले भनिन् ।

चम्लागाईंका अनुसार जेन–जी प्रदर्शनपछि सरसफाइ र व्यवस्थापन गरिरहेको ‘इको साथी नेपाल’ लाई करिब साढे ५ हजार डलर उपलब्ध गराइएको छ । ‘अरू दुई संस्थासँग पनि कुरा गरिरहेका छौं,’ उनले भनिन् । उनीहरूको ‘इस्टाग्राम’ अकाउन्टमा हालैको प्रदर्शनबाट प्रभावितलगायत ३ सय परिवार र सडकका जनावरहरूका लागि सामग्री उपलब्ध गराउन ‘नेपाल राइजिङ– कर्मयोग फाउन्डेसन’लाई साढे ११ हजार अमेरिकी डलर दिइएको भन्दै भिडियो पोस्ट भएको छ ।

अस्ट्रेलियाबाट अभियान क्षेत्री लगायतले जेन–जी विद्रोहका घाइतेहरूको उपचारका लागि ‘गो फन्ड मी’ मा रकम संकलन गरेका थिए । उनीहरूले ‘अस्ट्रेलियामा मिम’ नामक फेसबुक समूहमार्फत चन्दा संकलनको संयोजन गरे भने रकम वितरणको जिम्मा नेपालमा विक्रम धामीले लिएका छन् । धामीका अनुसार उनीहरूले ७० हजार अस्ट्रेलियन डलर उठाउने लक्ष्य राखेका थिए । त्यसमध्ये ५३ हजार ५७३ अस्ट्रेलियन डलर संकलन भएको थियो । ‘हामीले संकलन गरेकोमध्ये १ हजार ५५७ डलर गो फन्ड मीलाई नै दिनुपर्‍यो,’ उनीले भने, ‘त्यसमा ५५ डलर फिर्ता पायौं । हामीसँग ५१ हजार ८६०.९२ डलर रह्यो ।’

धामीका अनुसार ४७ लाख ७१ हजार ९२७ रुपैयाँ संकलन भएकामा १३ लाख ७७ हजार रुपैयाँ घाइतेलाई बाँडिएको छ । ‘हामीलाई दाताले सिधै पीडितलाई दिनू भन्नुभएको थियो,’ उनले भने, ‘त्यस कारण हामी सरकारमातहत गएनौं । हामी आफैंले घाइतेलाई भेट्दै पैसा दिइरहेका छौं । अहिलेसम्म १३ लाख ७७ हजार रुपैयाँ वितरण गरिसकेका छौं । सहिद संघर्ष समितिसँग समन्वय गरेर मृतकको परिवारलाई बाँकी रकम दिने तयारी गर्दै छौं ।’

धामीका अनुसार उनीहरूले कास्कीका लक्ष्मण (ढकबहादुर) नेपाली, मोरङकी लिजा अधिकारी, जुम्लाका सन्तोष बोहरा र दैलेखका प्रकाश बोहरालाई १–१ लाख रुपैयाँ बाँडिएको छ । इलामका १९ वर्षीय भुवन दाहाललाई ६० हजार रुपैयाँ प्रदान गरिएको छ । कैलालीका प्रकाश विष्ट, कालिकोटका धनराज बुढा तथा धर्मेन्द्र शाही, काभ्रेका कमल घिमिरे, डोटीका हिक्मत भण्डारी, सिन्धुलीका रवि भण्डारी, सिरहाका निशेष महरा, कञ्चनपुरका पारस विक र मकवानपुरका सञ्जय घिसिङलाई ५० हजारका दरले वितरण गरिएको छ ।

बझाङका मनोज बोहरालाई ४५ हजार, सप्तरीकी गीता शाहलाई ४० हजार, भक्तपुरकी एकता शाह र पाल्पाका विक्रम लम्कहालाई ३५–३५ हजार उपलब्ध गराइएको छ । चितवनका मुक्ताराम दराई, बनेपाका सुवास दाहाल र रामेछापका दीपक नेपालीलाई ३०–३० हजार वितरण भएको छ । पर्वतका अनिल परियार, जाजरकोटका कृष्ण थापा, डोरबहादुर बुढा, सिन्धुपाल्चोकका समीर आचार्य, ओखलढुंगाका मिलन खत्री, सिन्धुलीका नवीन तामाङ, ललितपुरका बेकम देउला र काठमाडौंका निश्चल थापालाई २५–२५ हजार रुपैयाँ वितरण गरिएको छ । बागलुङका संघर्ष भुसाललाई २० हजार रुपैयाँ प्रदान गरिएको पनि धामीले जानकारी दिए ।

जेन–जी विद्रोहपछि चन्दा संकलन अभियानमा नेतृत्व गरिरहेका इसाना मराठा, तेन्जिङ सिं गुरुङ, साई एभिन्यु लिमिटेड, प्रकाश शर्मा पौडेल, ‘युनाइटेड नेप्लिज एसोसिएसन’ लगायतलाई कान्तिपुरले ‘गो फन्ड मी’ मार्फत सम्पर्क गर्न खोजेको थियो । तर, उनीहरूसँग सम्पर्क हुन सकेन । ‘गो फन्ड मी’ मा कतिपय पोस्ट ‘डोनेसन प्रोटेक्टेड’ वा ‘प्राइभेट’ गरिएकाले ती अभियानबाट कति रकम संकलन भएको छ भन्ने थाहा पाउन कठिन छ । 

पारदर्शितामा प्रश्न 

पारदर्शिताको अभाव र उचित नियमन नहुँदा राहत संकलन अभियान कहिलेकाहीँ विवादमा पर्ने गरेका छन् । कोभिड–१९ महामारीका बेला पनि देश–विदेशबाट राहत सामग्री र चन्दा पठाउँदा कसैलाई दोहोरिने त कसैले एक पटक पनि नपाउने अवस्था आएको भन्दै आलोचना भएको थियो । राहत संकलन र वितरण भद्रगोल बनेपछि सरकारले एकद्वार प्रणाली लागू गर्दै सम्बन्धित निकायको सिफारिसमा मात्र रकम उठाउन र वितरण गर्न पाउने भनिएको थियो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राहत वितरणलाई व्यवस्थित र सबै पीडितमा पुर्‍याउने गरी यस्तो व्यवस्था गरेको थियो । बाढीपहिरोजस्ता प्रकोपका प्रभावितलाई मद्दत गर्न जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणाली अपनाएको छ । 

‘गो फन्ड मी’ जस्ता ‘क्राउड फन्डिङ’ प्लाटफर्मले चन्दा सुरक्षित राख्न नीतिगत र प्रविधिगत उपाय लागू गरेका हुन्छन् । पैसा उठाउने व्यक्ति वा अर्गनाइजर र दाता दुवैको पहिचान प्रमाणीकरण अनिवार्य छ । दाताका लागि ‘गिभिङ ग्यारेन्टी’ नामक फिचर समावेश छ । चन्दा दुरुपयोग भएको लागे दाताले आफ्नो पैसा फिर्ता माग्न सक्छन् । यो सुविधा चन्दा दिएको मितिदेखि १ वर्षसम्म लागू हुन्छ । 

Donations are being collected online in the name of injured Gen-G and martyrs, but many victims are unaware

कुनै दातालाई संकलित रकम दुरुपयोग भएको वा लक्षित वर्गमा पुगेन भन्ने लागे ‘गो फन्ड मी’मा रिपोर्ट गर्न मिल्छ । तर, रकम फिर्ता गर्नॅअघि ‘गो फन्ड मी’ ले विभिन्न प्रमाण माग्ने गर्छ । तर यो प्रक्रिया झन्झटिलो र अनिश्चित हुने हुनाले दाताहरूले रकम दिनुपूर्व नै आफूले के–कस्तो व्यक्ति वा संस्थालाई रकम उपलब्ध गराउन लागेको हो, त्यसबारे प्रस्ट हुनु उत्तम हुने विज्ञहरूको सुझाव छ । 

‘फन्डरेजिङ’ अभियान देखेपछि विभिन्न संघ–संस्था वितरणको जिम्मा लिने भन्दै सम्पर्कमा आउने गरेको रसिका चम्लागाईं बताउँछिन् । ‘हामीले ७/८ वटा प्रपोजल पाइसक्यौं, दुई वटालाई मात्र स्वीकृत गरेर रकम उपलब्ध गराएका छौं,’ उनले भनिन्, ‘हामीले संकलन गरेको पैसा कसलाई बाँडियो भन्नेबारे हाम्रो सामाजिक सञ्जाल पेजहरू सबै पोस्ट गरेर पारदर्शिता कायम गर्दै आएका छौं ।’ 

जेन–जी विद्रोहपश्चात् डिजिटल माध्यमहरूबाट विदेशमा संकलन भइरहेको राहत रकमको व्यवस्थापन र अनुगमनका विषयमा अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जस्ता निकाय नै अलमल्ल छन् । 

Donations are being collected online in the name of injured Gen-G and martyrs, but many victims are unawareसर्लाहीका २७ वर्षीय राकेशकुमार महतो

अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले घाइते तथा मृतकका परिवारका लागि राहत संकलन र वितरण व्यवस्थित बनाउन सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको जानकारी दिए । ‘यस कोषमा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर राखिएको छ र पुनर्निर्माणमा योगदान गर्न चाहनेहरूले स्वैच्छिक रूपमा योगदान गर्न सक्ने व्यवस्था छ,’ उनले भने । 

त्यस कोषको विस्तृत विवरण (क्यूआर कोडसहित) अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको छ । ‘५ असोजको मन्त्रिपरिषद्को निर्णयअनुसार नै कोष स्थापना गरिएको हो,’ प्रवक्ता पाण्डेयले भने, ‘कोषमा हालसम्म ६ करोड २५ लाख रुपैयाँ जम्मा भइसकेको छ । घाइतेको उपचार र राहतका लागि कसैले व्यक्तिगत रूपमा पैसा उठाएको भए पनि त्यसैमा जम्मा गरिदिन आग्रह गर्छौं ।’ 

कोषको सचिवालय भने सहरी विकास मन्त्रालयमा छ । अर्थमन्त्रीको संयोजकत्वमा ‘पुनर्निर्माण समिति’ रहेको र समिति ‘पुनर्निर्माण कोष गठन आदेश २०८२’ अन्तर्गत गठन भएको पाण्डेयले जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार आपत्कालीन समयमा आ–आफ्नै तरिकाले राहत संकलन र वितरण गर्दा लक्षित समूह थप मर्कामा परेपछि एकद्वार प्रणाली लागू गरिएको थियो । बाढीपहिरो, भूकम्प वा कोभिड महामारीका बेला जिल्ला विपद् व्यवस्थापन समितिमार्फत राहत वितरणको प्रबन्ध मिलाइएको थियो । ‘राहत वितरण मापदण्डअनुसार जसले राहत उठाउँछ, उसले आफैं बाँड्न पाउँदैन,’ महतले भनिन्, ‘एकद्वार प्रणालीअन्तर्गत केन्द्र वा प्रदेश सरकारले समेत राहत वितरण गर्न पाउँदैनन् । स्थानीय तहलाई वितरणको जिम्मा दिइएको छ ।’ 

Donations are being collected online in the name of injured Gen-G and martyrs, but many victims are unaware

जेन–जी विद्रोहका सन्दर्भमा सामाजिक सञ्जाल वा ‘गो फन्ड मी’ जस्ता प्लाटफर्ममार्फत संकलन भएको राहत वा चन्दाबारे भने प्राधिकरणले हेरेको छैन । अनलाइनबाट ‘क्राउड फन्डिङ’ गरी संकलन गरिएको राहतको अनुगमन र वितरण एकद्वार प्रणालीमा लैजान सम्भव छ वा छैन भन्नेबारे सरकारी निकायहरू स्पष्ट छैनन् । यसरी संकलन हुने रकमको सदुपयोग सुनिश्चित गर्न नीतिगत र व्यावहारिक स्पष्टता बढाउनुपर्ने आवाज भने उठ्दै आएको छ । 

अर्थ मन्त्रालयका प्रवक्ता पाण्डेयले पनि ‘गो फन्ड मी’ लगायतका ‘क्राउड फन्डिङ’ साइटहरूबाट भइरहेको अभियानबारे धेरै जानकारी नभएको बताए । ‘एउटा इजरायली संस्थाले भने गो फन्ड मीबाट संकलन गरेको रकम सरकारी कोषमा राखेको छ,’ उनले भने ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully