मेलम्चीको मुहान खोल्न मन्त्रालय र स्थानीयबीच छलफल जारी

काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर आपूर्ति हुने मेलम्ची पानी रोकिएर उपत्यकावासी प्रभावित बनेका छन् ।

कार्तिक २४, २०८२

अनिश तिवारी

Discussions continue between the ministry and locals to open the source of Melamchi

What you should know

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन बाढीपीडित संघर्ष समितिबीच आइतबार प्रारम्भिक छलफल असफल भएपछि सोमबार फेरि छलफल सुरु भएको छ ।

मेलम्ची खानेपानी तथा बाढीपीडित संघर्ष समितिका प्रतिनिधि  राजकुमार भण्डारीका अनुसार मुख्य सुरुङ पुनः खोल्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विगतमा भएका सहमति कार्यान्वयनका मागसहित सोमबार ११ बजेबाट छलफल सुरु गरिएको छ ।

'मन्त्रालयमा सम्पन्न छलफलमा मेलम्चीको पानी सञ्चालन गर्न सोमबार बिहान ११ बजे निर्णायक वार्ता बस्ने सहमति भएको थियो,' जसमा हामी हाम्रो मागमा अडिग छौं,' भण्डारीले भने । 

हेलम्बुवासी विष्णु खड्काले मुख्य जोड विगतमा भएका सहमति कार्यान्वयनमै रहेको बताए । आइतबार मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यको अध्यक्षतामा भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक जगन्नाथ दास, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि, सरोकारवाला निकाय, राजनीतिक दल र जेन–जीका प्रतिनिधि सहभागी थिए । संघर्ष समितिको तर्फबाट समितिका पदाधिकारी, स्थानीय भेन्डर, घरजग्गा भाडावाला तथा सामाजिक उत्थान कार्यक्रम (सुप) का प्रतिनिधिहरू उपस्थित रहेका थिए ।

संघर्ष समितिले काठमाडौंले मेलम्चीको पानी उपभोग गरेबापत स्थानीय हेलम्बु गाउँपालिकालाई २५ प्रतिशत लाभांश दिने सहमति कार्यान्वयनको माग गर्दै आएको छ । २१ असोज २०८१ मा तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवले समितिसँग १० बुँदे सहमति गरेका थिए ।यसअघि  स्थानीयले मुहान क्षेत्र अम्बाथानको सुरुङमा एक्स्काभेटर प्रयोग गरी मेलम्ची खोलाको पानी खोलातिर फर्काएका थिए । यसपछि काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर आपूर्ति हुने मेलम्ची पानी रोकिएर उपत्यकावासी प्रभावित बनेका छन् ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully