मेलम्ची कार्यालयमा ६ दिनदेखि ताला, ब्रिफिङ सुन्ने विभागीय मन्त्री नै नभेटिएपछि...    

पानीपोखरीस्थित कार्यकक्षमा ताला लागेपछि मेलम्ची आयोजनाको प्रशासनिक काम ठप्प भएको छ । तर विभागीय मन्त्रीलाई ताला लागेको विषय जानकारी गराउन कर्मचारीले समय पाएका छैनन् । खानेपानी मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री सुशीला कार्की आफैंले लिएकी छिन् ।

कार्तिक २१, २०८२

ऋषिराम पौड्याल

The Melamchi office has been locked for 6 days, with no departmental ministers available to listen to the briefing...

What you should know

काठमाडौँ — सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका स्थानीय चार वटा सरोकार समितिले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएको ६ दिन बितेको छ । कार्यकारी निर्देशक आफ्नो कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन् ।

पानीपोखरीस्थित कार्यकक्षमा ताला लागेपछि मेलम्ची आयोजनाको प्रशासनिक काम ठप्प भएको छ । तर विभागीय मन्त्रीलाई ताला लागेको विषय जानकारी गराउन कर्मचारीले समय पाएका छैनन् । खानेपानी मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री सुशीला कार्की आफैंले लिएकी छिन् । आयोजनाका कर्मचारीदेखि खानेपानी मन्त्रालयको सचिवसम्मले मन्त्रीलाई घटनाको विषय जानकारी गराउन पाएका छन् । 

‘हामी विभागीय मन्त्री भट्न समय कुरेर बसेको छौं,’ विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले भने, ‘ताला लगाएको चार दिन भयो । असरी अघि बढ्ने मन्त्री भेट्ने प्रतिक्षामा छौं ।’ कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले खानेपानी सचिव र कर्मचारीसँग ताला लगाएको बारेमा छलफल गर्न पाएकी छैनन् । सरोकार समितिले मेलम्चीबाट आफूहरूले पाउँदै आएको विकास अनुदान चार वर्षदेखि प्रभावित क्षेत्रमा नपठाएको विषयलाई मुख्य रूपमा उठाएको छ ।

विगतमा सरोकार समितिले कार्यक्रम सञ्चालन गर्नेगरी मेलम्चीले बर्सेनि करोडौं रुपैयाँ विनियोजन गरेको थियो । तर सरकारले २०७९ को गठन आदेशमा स्थानीय तहमार्फत रकम पठाउने उल्लेख गरेपछि विवाद सरोकार समितिले असन्तुष्ट जनाएको हो । मेलम्चीको पानी काठमाडौं लगेबापत काभ्रेको पाँचखाल र मण्डनदेउपुर तथा सिन्धुका मेलम्ची र चौतारा साँगाचोकगढी नगरपालिका तथा हेलम्बु, पाँचपोचरी र इन्द्रावती गाउँपालिकाकासमेत ७ वटा स्थानीय तहका वडाहरूमा बर्सेनि २३ करोडसम्म बजेट विनियोजन हुने गरेको थियो ।

The Melamchi office has been locked for 6 days, with no departmental ministers available to listen to the briefing...उक्त रकम आयोजनाको प्रभावित क्षेत्रमा गठन गरिएका ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम, इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम, मण्डन उपत्यका सामाजिक उत्थान कार्यक्रम र याङ्ग्री-लार्के सरोकार समितिले खर्च गर्दै आएको थियो । मेलम्ची आयोजनाले नै उक्त सरोकार समितिलाई रकम हस्तान्तरण गर्दै आएको थियो । तर उक्त रकम प्रभावित वडाहरट्ठको स्थानीय तहमा मात्र खर्च गर्न पाइनेछ प्रावधान रहेको छ । २०७७ चैतमा मेलम्चीको पानी पहिलो पटक काठमाडौंमा ल्याएपछि प्रभावितले पाउने रकम क्रमिक रूपमा घट्दै आएको छ । चालु वर्षका लागि चार करोड विनियोजन गरिएको छ । तर उक्त रकम स्थानीय तहमार्फत खर्च गर्ने कि सरोकार समितिमार्फत भन्ने विवाद कायमै छ । गठन आदेश २०७९ मा उक्त रकम स्थानीय तहमार्फत खर्च गर्नुपर्ने उल्लेख छ । कार्यकारी निर्देशक दास भन्छन्, मन्त्रीपरिषद्ले पारित गरेको गठन आदेशको प्रावधानलाई म उल्लंघन गर्न सक्दिन । यो फेरि मन्त्री परिषद्ले नै अर्को निर्णय गरेर सरोकार समितिमार्फत बजेट खर्च गर्ने निर्णय नगरेसम्म आफ्नो तहबाट केही नहुने उनले जानकारी दिए । 

२०७८ को बाढीले क्षतिग्रस्त हेलम्बु र मेलम्ची क्षेत्रको पुनिर्माणका लागि मेलम्चीले बेवास्ता गरेको विषय पनि सरोकारवालाले उठाएका छन् । प्रबेश मार्गसहित प्रभावित क्षेत्रका सडकहरुको मर्मतमा पनि मेलम्चीले बेवास्ता गरेको भनाई सरोकारवालाहरुको रहेको छ । सरकारले गठन आदेश २०५५ खारेज गरेर ०७९ मा नयाँ आदेश जारी गरिएको थियो । गठन आदेशमा सरोकार समितिले स्थानीय तहमा सञ्चालन गरेका सामाजिक उत्थान कार्यक्रम तथा विकास कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई रकम उपलब्ध गराउने उल्लेख छ ।

स्थानीय तहमा गठन भएको समितिले पालिकासँग सम्झौता गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान गठन आदेशमा उल्लेख छ । तर सरोकार समितिका स्थानीय सदस्य चन्द्र बहादुर तामाङले विगतमा जस्तै प्रभावित वासिन्दाको प्रतिनिधित्व हुनेगरी गठन भएका समितिहरुमार्फत नै रकम निकास हुनुपर्ने बताए । उनले आयोजनाले स्थानीय सरोकार समितिलाई गठन आदेशमै स्विकार गरिसकेको अवस्थामा स्थानीय तहमार्फत जानुपर्ने प्रावधान राख्न नहुने जीकिर गरे ।

 स्थानीय तहको निर्वाचन नभएकाबेला सरोकार समिति उपयुक्त भएपनि अहिले निर्वाचनबाट आएको सरकार नै क्रियाशील रहेकोले उपलब्ध बजेट उसैलाई उपलब्ध गराउनेगरी गठन आदेश जारी गरेको दावी मेलम्ची विकास समितिले गर्दै आएको छ । प्रभावित क्षेत्र अन्तर्गतको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले भने स्थानीय सरोकार समिति क्रियाशील नै नभएको बताए । उनले स्थानीय तहकोतर्फबाट मेलम्चीलाई पत्राचार गरेर आफूले बजेट उपलब्ध गराउन माग गरेको बताए । उनले सरोकार समितिहरुको वैधानिकतामाथि प्रश्न गरे । पाँचापोखरीका अध्यक्ष टासी लामाले आफूलाई सरोकार समितिले कार्यक्रम सञ्चालन गरेपनि आपत्ति नभएको बताए । अनुदान सामाजिक उत्थान कार्यक्रम(सुप) को नाममा सरोकार समितिले स्थानीय विकासमा खर्च गर्दै आएको थियो । उक्त रकम स्थानीयस्तरमा गठन भएको समितिले शिक्षा, स्वास्थ्य, आयआर्जन, विद्युतीकरणलगायतका शीर्षकमा खर्च गर्नुपर्छ ।

२०७८ को बजेटमा तत्कालि अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा बेला मेलम्ची खानेपानी विकास समिति खारेज गरेका थिए । मेलम्ची आयोजनाको निर्माण पूरा भएको भन्दै खारेजी गरेका थिए । तर स्थानीय माग र सरकारले विकास समिति खारेज गरेन । उक्त समिति खारेज नभए पनि नयाँ गठन आदेश ल्याइएको थियो ।

The Melamchi office has been locked for 6 days, with no departmental ministers available to listen to the briefing...इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष विष्णुमणि आचार्यले पटक–पटक समस्या उठाउँदा खानेपानी मन्त्रालयले नै बेवास्ता गरेको गुनासो गरेर । उनले बाध्य भएर ताला लगाएको बताए । काठमाडौंवासीले पानी खान पाउनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहे पनि अध्यक्ष आचार्यले मेलम्ची आयोजना जिम्मेवार नभएकाले यो समस्या आएको बताए । मेलम्ची र हेलम्बु क्षेत्रमा भेमाथाङबाट आएको बाढीले २०७८ मा चार सय परिवार प्रभावित भएका थिए । उनीहरूका लागि आयोजनाले बेवास्ता गरेको भनाइ पनि सरोकारवालाहरूको रहेको छ । 

पहिलो चरणको मेलम्ची खानेपानी आयोजना र दोस्रो चरणको याङ्ग्री-लार्के आयोजनाबाट प्रभावितहरूको सरोकार समिति रहेको छ । मेलम्ची पूरा भए पनि दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने योजना रहेको छ । दोस्रो फेजको निर्माणका लागि परामर्शदाता नियुक्तिको प्रक्रियामा रहेको मेलम्चीका कार्यकारी प्रमुख दासले बताए ।

हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहेकोमा दोस्रो चरणमा याङ्ग्री-लार्केबाट थप १७/१७ करोड लिटर पानी ल्याउने योजना रहेको छ । पहिलो र दोस्रो योजनाबाट दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने योजना रहेको छ । बाढीका कारण बर्खामा गत असार १० मा बन्द गरिएको मेलम्ची खोलाको पानी गत असोज २६ बाट सुरुङमा प्रवेश गराएर पुनः वितरण सुरु गरिएको छ ।

यस वर्ष मुहानमा रहेको रिबर्मा ठाडो खहरेलाई सुरुङमा प्रवेश गराएर मेलम्चीले बर्सात्मा पनि दैनिक ४ देखि ८ करोड लिटरसम्म पानी २६ किमि सुरुङमार्फत सुन्दरीजल प्रशोधन केन्द्रमा खसालेको थियो । त्यसैले बर्खामा पनि थोरै भए पनि मेलम्चीको पानी काठमाडौंमा वितरण गरेको जानकारी कार्यकारी निर्देशक दासले दिए । 

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully