स्थानीयले गरे मेलम्चीको मुहान बन्द, काठमाडौंमा पानी आपूर्ति ठप्प

हेलम्बुका प्रभावित राजकुमार भण्डारीका अनुसार मुहान बन्द गरिएपछि काठमाडौंमा ल्याइने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ।

कार्तिक २०, २०८२

ऋषिराम पौड्याल

Locals block Melamchi source, disrupting water supply in Kathmandu

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्र अहिले स्थानीयवासीले बन्द गरेका छन्। तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग १३ महिनाअघि भएको सम्झौता कार्यान्वयनको माग गर्दै मुहान बन्द गरिएको हो।

हेलम्बुका प्रभावित राजकुमार भण्डारीका अनुसार मुहान बन्द गरिएपछि काठमाडौंमा ल्याइने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ।

यसअघि पाँच दिनअघि मेलम्ची खानेपानीको काठमाडौंस्थित कार्यालयमा पनि स्थानीय सरोकार समितिले तालाबन्दी गरेको थियो।

२०७८ सालको बाढीपहिरोका पीडितका माग पूरा नभएको कारण पनि स्थानीयले आन्दोलन गरेका हुन्।

हेलम्बुको मुहान र काठमाडौं दुवै स्थानमा तालाबन्दी भएपछि मेलम्चीको सुरुङमा पठाइएको पानी खोला तिरै फर्काइएको छ।

गत असारमा रोकिएको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु भएको थियो। तर, अहिले पुनः आपूर्ति रोकिएको छ।

सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले पाँच दिनअघि काठमाडौंको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी गरेका थिए।

ऋषिराम पौड्याल

Link copied successfully