पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सिंहदरबार नै बोलाएर जाँचबुझ आयोगले बयान लिएको हो ।
काठमाडौँ — २३ र २४ भदौमा भएको जेन-जी आन्दोलन र प्रदर्शनका घटना छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिन सुरु गरेको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सिंहदरबार नै बोलाएर आयोगले बयान लिएको हो । आयोगको टोली कैदीबन्दी भागेको र कागारभित्र भएको तोडफोड र आगजनीबारे बुझ्न मंगलबार नख्खु पुगेको थियो । आयोगले आइतबार नख्खु कारागारका प्रमुख सत्यराज जोशीको समेत बयान लिएको थियो ।
आयोगले रास्वपा सभापति रवि लामिछानेदेखि जनकपुर बमकाण्डका मुख्य योजनाकार ठहर भएका सञ्जय साह 'टक्ला'सहित कैदीबन्दीका बारेमा प्रश्न सोधेको थियो । आयोगले जोशीलाई प्रश्न गर्यो, ' लामिछानेलाई बाहिर निकाल्न पत्र लेखिएको थियो कि थिएन ?' उनलाई २३ गते जेन-जी आन्दोलनका क्रममा सरकारले बल प्रयोग गरी गोली प्रहार गरेपछि भोलिपल्ट अवस्था बिहानैदेखि तनावग्रस्त हुँदा कारागारको सुरक्षा व्यवस्था कस्तो थियो र किन कमजोर भयो लगायतका प्रश्न आयोगले सोधेको थियो ।
भदौ २४ को प्रदर्शनका क्रममा नख्खु कारागारमाथि भएको तोडफोड, आगजनी तथा फरार भएका कैदीबन्दी र घटनाको वस्तुस्थितिबारे आयोगले उनलाई सोधेको थियो । झन्डै दुई घण्टा बयान दिएका प्रमुख जोशीले भदौ २४ को बिहानैदेखि नख्खु कारागारमा त्यस दिन तोडफोड र आगजनीको प्रयास भएको बताए । संयमता अपनाउँदा अपनाउँदै पनि स्थिति काबुबाहिर गएको उनले बयान दिएको आयोगका एक सदस्यले जानकारी दिए ।
नख्खु कारागार प्रमुख सत्यराज जोशीले एउटा पत्र ल्याएर आफूलाई हस्ताक्षर गर्न दबाब दिइएको बयानमा भनेका छन् । 'आफ्नो ज्यानसमेत तलमाथि हुने अवस्था देखेपछि' पत्रको व्यहोरा नै नहेरी हस्ताक्षर गरेको उनको दाबी छ ।
