नख्खु कारागार प्रमुख सत्यराज जोशीले एउटा पत्र ल्याएर आफूलाई हस्ताक्षर गर्न दबाब दिइएको बयानमा भनेका छन् । 'आफ्नो ज्यानसमेत तलमाथि हुने अवस्था देखेपछि' पत्रको व्यहोरा नै नहेरी हस्ताक्षर गरेको उनकाे दाबी छ ।
काठमाडौँ — २३ र २४ भदौमा भएको जेन-जी आन्दोलन र प्रदर्शनका घटना छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले घटनाकेन्द्रित बयान सुरु गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार नख्खु कारगाारका प्रमुख सत्यराज जोशीको बयान लिँदै काठमाडौंकेन्द्रित अनुसन्धान सुरु गरेको हो ।
अध्यक्ष कार्कीले विभिन्न जिल्लाको वस्तुस्थिति अध्ययनपछि अब काठमाडौंकेन्द्रित अनुसन्धान र सोधपुछ सुरु भएको बताए । ५ असोजमा मन्त्रिपरिषद्ले विशेष अदालतका पूर्वअध्यक्ष तथा पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । यो आयोगलाई तीन महिनाभित्र प्रतिवेदन तयार पार्ने समयसीमा दिइएको छ । जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर, जेल तोडेर भाग्ने क्रममा, आगजनीमा परेर तथा प्रहरी गरी ७६ जनाको मृत्यु भएको थियो । ठूलो संख्यामा सरकारी, निजी र व्यापारिक संरचनामा लुटपाट र आगजनी भएको थियो ।
आइतबार १२ बजेतिर नख्खु कारागाका प्रमुख जोशी आयोगमा पुगेका थिए । आयोग स्रोतका अनुसार उनलाई कारागार नै तोडफोड गरेर कैदीबन्दी कसरी भागे भन्ने प्रश्न सोधियो ।
आयोगले रास्वपा सभापति रवि लामिछानेदेखि जनकपुर बमकाण्डका मुख्य योजनाकार ठहर भएका सञ्जय साह 'टक्ला'सहित कैदीबन्दीका बारेमा प्रश्न सोधेको थियो । आयोगले जोशीलाई प्रश्न गर्यो, ' लामिछानेलाई बाहिर निकाल्न पत्र लेखिएको थियो कि थिएन ?' उनलाई २३ गते जेन-जी आन्दोलनका क्रममा सरकारले बल प्रयोग गरी गोली प्रहार गरेपछि भोलिपल्ट अवस्था बिहानैदेखि तनावग्रस्त हुँदा कारागारको सुरक्षा व्यवस्था कस्तो थियो र किन कमजोर भयो लगायतका प्रश्न आयोगले सोधेको थियो ।
भदौ २४ को प्रदर्शनका क्रममा नख्खु कारागारमाथि भएको तोडफोड, आगजनी तथा फरार भएका कैदीबन्दी र घटनाको वस्तुस्थितिबारे आयोगले उनलाई सोधेको थियो । झन्डै दुई घण्टा बयान दिएका प्रमुख जोशीले भदौ २४ को बिहानैदेखि नख्खु कारागारमा त्यस दिन तोडफोड र आगजनीको प्रयास भएको बताए । संयमता अपनाउँदा अपनाउँदै पनि स्थिति काबुबाहिर गएको उनले बयान दिएको आयोगका एक सदस्यले जानकारी दिए ।
बिहानैदेखि कारागारबाहिर प्रदर्शन र सामाजिक सञ्जालमा रास्वपा सभापति लामिछानेबारे टीकाटिप्पणी भएपछि परिस्थिति बाहिर गएको प्रमुख जोशीको भनाइ छ । गम्भीर अपराधका कैदीसमेत रहेकाले कारागारमा सुरक्षा व्यवस्था कडा पारे पनि नियन्त्रणमा लिन नसकिएको उनले बताएका छन् ।
कारागारमा तोडफोड तथा आगजनीका कारण मानवीय क्षतिसमेत हुन सक्ने सम्भावना देखेपछि परिवारलाई जिम्मा लगाउने प्रक्रियामा गएको प्रमुख जोशीको दाबी छ । यही क्रममा रास्वपा सभापति लामिछानेको हकमा पनि परिवारमा जिम्मा लगाउने मनस्थितिमा कारागार रहेको अवस्थामा एउटा पत्र ल्याएर आफूलाई हस्ताक्षर गर्न दबाब दिइएको उनले बयानमा भनेका छन् । 'आफ्नो ज्यानसमेत तलमाथि हुने अवस्था देखेपछि' पत्रको व्यहोरा नै नहेरी हस्ताक्षर गरेको उनले दाबी गरेका छन् ।
करिब २ बजेपछि कारागारमा चारैतिरबाट आक्रमण हुन थालेको र कतिपय घटना नियोजितझैँ देखिएको उनले बयानमा उल्लेख गरेका छन् । प्रधानमन्त्रीले राजीनामा दिएको, सिंहदबार र राजनीतिक दलका नेताहरूको घर, राष्ट्रपति कार्यालयसम्म तोडफोड र आगजनी भएको घटना सार्वजनिक भएपछि कारागारको अवस्था झन् उग्र भएको पनि जोशीले बयानमा बताएका छन् । केही कैदीबन्दीलाई मात्र परिवारको जिम्मा लगाए पनि अरु भने हुलुमुलको फाइदा उठाउँदै भागेको उनको दाबी छ ।
जेन-जीको अगुवाइमा भएको भदौ २३ गतेको आन्दोलनपछि भोलिपल्टको प्रदर्शन भड्किएपछि उक्त कारागार पनि निशानामा परेको थियो । कारागार प्रमुख जोशीले बयानका क्रममा लामिछानेसहित केही कैदीबन्दी स्वतः कारागार फर्किएको र फरार रहेका केहीलाई पक्राउ गरिएको बताएका छन् । उक्त कारागारमा रहेकामध्ये साह १२ वर्षदेखि कारागारमा थिए ।
पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए । १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । अदालतको आदेशमा, उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकार भएको ठहर गरिएको थियो । उनी फरार भएपछि प्रहरीले काभ्रेबाट पक्राउ गरेर थुनामा राखिसकेको छ ।
