आजै दाहाललाई 'गुडबाई' भन्दै शर्माले भनेका थिए, ‘बृहत् एकतापछि कुनै घुम्तीमा हामी भेटौंला ।’
काठमाडौँ — माओवादी सचिवालय सदस्यद्वय र जनार्दन शर्मा र राम कार्कीले 'प्रगतिशील अभियान' घोषणा गर्दैछन्। उनीहरूले आजै पत्रकार सम्मेलन गरी अभियान घोषणा गर्न लागेको शर्माले जानकारी दिए ।
आजै मात्र शर्माले माओवादीका संयोजक पुष्पकमल दाहाललाई भेटेका थिए । माओवादीले नेकपा एकीकृत समाजवादीलगायत साना कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेपछि फरक राजनीतिक बाटो लिने निर्णय गरेका शर्मालाई फकाउन दाहालले आइतबार बोलाएका थिए । शर्मा आफ्नो निर्णयमा टसमस नभएपछि दुई नेताले एकअर्कालाई ‘गुडबाई’ भनेका छन् ।
माओवादीलाई अरू दलसँग मिलाएपछि आफू बिदाइ भेट गर्न आएको शर्माले बताएका थिए । ‘तपाईंले माओवादीलाई माधव नेपालको पार्टीसँग मिलाउनुभयो । म माओवादीलाई जीवित राखेर जान्छु । बृहत् कम्युनिस्ट एकता अभियानमा लाग्छु’ शर्माको भनाइ थियो, ‘बृहत् एकतापछि कुनै घुम्तीमा हामी भेटौंला ।’
भेटमा दाहालले पार्टी एकतापछि हुने महाधिवेशनमा आफूले नेतृत्व हस्तान्तरण गर्ने आश्वासन दिए पनि शर्माले पत्याएनन् । ‘केन्द्रीय समितिले दुई पटक विशेष महाधिवेशन गर्ने निर्णय गर्यो । तपाईंले विभिन्न बहानामा टार्दै आउनुभयो,’ उनले भने, ‘तपाईंले महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने पत्याउन सकिँदैन ।’
