शर्मा भन्छन् : एकताको नाममा माओवादी विसर्जन गरे हामी पुनर्जीवन गरेर अघि बढ्छौं, दाहाल पक्ष भन्छ : हतार नगर्नुस् न, पार्टीभित्रैबाट समाधान निकाल्न सकिन्छ
काठमाडौँ — माओवादीमा सचिवालय सदस्य (निवर्तमान उपमहासचिव) जनार्दन शर्मा र राम कार्की (निवर्तमान सचिव) ले पार्टी फुटाउन लागेको तरंग केन्द्रदेखि जिल्लासम्म आइतबार बिहानैदेखि फैलिएको छ । नेकपा समाजवादीसँग पार्टी एकता गर्न नहुने भन्दै ‘विद्रोह’ गर्ने चेतावनी दिएका छन् ।
उनले पार्टी एकता स्थगित गरी संयोजक (निवर्तमान अध्यक्ष) पुष्पकमल दाहालले नेतृत्व छाडेर विशेष महाधिवेशनको मिति तोकेपछि मात्र आफूले पुनर्विचार गर्न सक्ने ‘बटमलाइन’ राखेका छन् ।
पार्टीको संस्थापक्षले यही साता नेकपा एसलगायत अन्य साना दलसँग एकता गर्ने तयारी गरेपछि उनले अर्को वामपन्थी मोर्चा बनाउने कसरत सुरु गरेका छन् । शर्माले पार्टी छाड्ने चेतावनी दिएपछि दाहाल निकट नेताहरू ‘सम्झाउन’ लागेका छन् । उनले आइतबार बिहान भएको सचिवालय बैठक बहिष्कार गरेका छन् । ‘म आफ्नो मत अब हुने केन्द्रीय समिति बैठकमा राख्नेछु,’ उनले इकान्तिपुरसँग भने, ‘एकताको नाममा माओवादी विसर्जन गरे हामी पुनर्जीवन गरेर अघि बढ्छौं ।’
माओवादी फुटाउन लागेको आरोप विगत तीन वर्षदेखि आफूमाथि लागिरहेको उल्लेख गर्दै उनले माओवादी पुनर्गठन गरेर अघि जाने बताएका छन् । पार्टी एकताका नाममा माओवादी धारलाई विसर्जन गर्न खोजेको विश्लेषण उनको छ । निर्वाचन आयोगमा दर्ता हुँदै गरेको नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गरी अघि बढ्ने पहिलो चरणको योजना छ । त्यस्तै पार्टी एकताको विपक्षमा उभिएका नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसँग बृहत् वामपन्थी एकताका लागि प्रारम्भिक संवाद उनले सुरु गरेका छन् ।
‘कम्युनिस्ट आन्दोलनको विघटनको बाटो रोजिएको छ । यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न आह्वान गर्दछु,’ शर्माले शनिबार केन्द्रीय सचिवालय बैठकमा फरक मत राखेका थिए ।
सचिव राम कार्कीले पनि पार्टी विघटन हुन लागेको भन्दै एकतामा नजाने निष्कर्षमा पुगेका छन् । माओवादी पुनर्गठनको पक्षमा मत राख्दै आएका उनले पार्टी एकताको नाममा विघटनमा पुर्याएको आरोप लगाउँदै आएका छन् । ‘माओवादी जनताको नजरबाट विघटन भएकै थियो । अहिले नेताहरूले विधिवत् विघटन गरे,’ उनले कान्तिपुरसँग भने, ‘हामी एकीकृत कम्युनिस्ट अभियान सुरु गर्छौं । यो बृहत् अभियान हुनेछ ।’
शर्माले नेकपा एसलगायत साना दलसँग हुने एकताले माओवादी आन्दोलन विचारविहीन हुने बताएका छन् । ‘एक–दुई होइन, बृहत् वाम एकता आवश्यक छ । विचारबिना हुने एकतामा सती जान सकिँदैन । नेताको व्यक्तिगत स्वार्थका लागि जसरी पनि पार्टी एकतामा जानु आन्दोलनको भावनाविपरीत हुन्छ,’ शर्माको तर्क छ ।
माओवादी प्रवक्ता अग्नि सापकोटाले पार्टीमा फरक मत भए पनि नफुट्ने दाबी गरे । ‘जनार्दनजीले केन्द्रीय समिति बैठकमा आएर आफ्नो मत राख्छु भन्नुभएको छ,’ उनले भने ।
अध्यक्ष दाहाल पक्षीय नेताहरू वर्षमान पुनलगायतले शर्मालाई आवेशमा पार्टी छाड्नु गलत हुने भन्दै पार्टीभित्रै निकास निकाल्न सकिने सुझाव दिएका छन् । संयोजक दाहाल र शर्माबीच जिम्मेवारी बाँडफाँटमा दुई वर्षअघि देखिएको द्वन्द्व विग्रहको संघारमा पुगेको छ ।
शर्मा, कार्कीले एकता स्थगित गर्ने माग गरिरहेका बेला माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी दलसँग पार्टी एकता कात्तिक २० मा हुने भएको छ ।
माओवादी प्रवक्ता अग्नि सापकोटाले पार्टी एकताको टुंगोमा पुगेको बताए । ‘कात्तिक २० मा पार्टी एकता घोषणा हुनेछ,’ उनले भने, सचिवालय बैठकले बाँकी प्राविधिक कुरा निष्कर्षमा पुर्याउने बताए, ‘सांगठनिक, प्राविधिक विषयमा टुंगो लगाउने काम हुन्छ ।’
माओवादी, नेकपा एस, नेपाल समाजवादी (महेन्द्र राय यादव), नेकपा समाजवादी (राजु कार्की), जनसमाजवादी (सुभाषराज काफ्ले) र नेकपा (चिरन पुन) सँग एकता हुने छ । एकीकृत पार्टीको संयोजकमा पुष्पकमल दाहाल रहने र पार्टीको नाम नेकपा समाजवादी हुने भएको छ ।
शर्मा र कार्की पक्षमा को-को छन् ?
पार्टी एकताको विपक्षमा उभिएका नेता जनार्दन शर्मा र राम कार्कीसँग मत मिल्ने दर्जनजति नेताहरू भए पनि पार्टी फुटाउने तहसम्म जानेमा धेरै नेताहरू अलमलमा परेका छन् ।
उनीहरूको पक्षमा पूर्वमन्त्री सुदन किराती, प्रदेश सांसद इन्द्र आङ्बो, राष्ट्रियसभा सदस्यहरू जगत शर्मा, नारायणी शर्मा, केन्द्रीय सदस्य शिव मण्डललगायत नेताहरू खुलेका छन् । असोज १० मा भएको केन्द्रीय समिति बैठकमा करिब सय केन्द्रीय सदस्यमध्ये तीन दर्जन खुलेका थिए ।
‘पार्टी विभाजन गर्ने तहसम्म धेरै नेता नजाने देखिन्छ,’ माओवादीका एक नेताले भने, ‘जनार्दनजीलाई पार्टीभित्र रहेर संघर्ष गर्न भन्ने सुझाव छ ।’
