माओवादी विघटन गरेर नयाँ कार्यदिशा तय गर्नुपर्छ : सचिव कार्की

इतिहासमा एउटा भूमिका खेलिसकेका व्यक्ति पदाधिकारीमा बसिराख्न पनि नपर्ने सचिवको कार्कीको भनाइ छ ।

भाद्र १, २०८२

कान्तिपुर संवाददाता

A new course of action should be set after disbanding the Maoists: Secretary Karki

What you should know

काठमाडौँ — माओवादी सचिव राम कार्कीले पार्टीको नेतृत्व तहमा युवा पंक्तिलाई ल्याउनुपर्ने बताएका छन् । सचिव कार्कीले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पार्टीको नेतृत्व गर्ने जिम्मेवारी युवा पुस्तालाई दिनुपर्नेमा जोड दिएका हुन् । 

खास उमेरमा पुगेपछि, अनुभव गरिसकेपछि पनि कार्यकारी भुमिकामा रहनु उचित नहुने सचिव कार्कीको भनाइ छ । क्रान्तिको नेतृत्व गर्न, अगुवाइ गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी नभएको उनले बताए । पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई हटाएर मात्रै पनि समस्याको समाधान नहुने कार्कीको मत छ ।

'अब एउटा खास उमेरमा पुगेपछि, खास अनुभव गरिसकेपछि हामीले अर्को रोलमा जानुपर्छ । हामीले अर्को भूमिका निर्वाह गर्नुपर्छ । हामी कार्यकारी भूमिकामा रहनु हुँदैन । ठीक छ, क्रान्तिको नेतृत्व गर्ने, अगुवाइ गर्ने तर त्यसको निम्ति पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन,' उनले भने । 

इतिहासमा एउटा भूमिका खेलिसकेका व्यक्ति पदाधिकारीमा बसिराख्न पनि नपर्ने सचिवको कार्कीको भनाइ छ ।  'त्यो भूमिका खेल्नेहरूले अब पदाधिकारी बनिरहन पर्दैन । पदाधिकारीचाहिँ हामी युवालाई, नयाँ उत्साह भएकाहरूलाई ल्याउन सक्छौँ । हामीले वैचारिक रूपमा, राजनीतिक रूपमा अगुवाइ गर्न सक्छौँ । नेतृत्व दिन सक्छौँ,' उनले भने । पार्टीको कार्यदिशा, रणनिति, नेतृत्व सबै क्रान्तिकारीकरण हुनुपर्ने उनको भनाइ छ । 

त्यस्तै सचिव कार्कीले पार्टीलाई विघटन गर्न सक्नुपर्ने बताएका छन् । पार्टीलाई विघटन गरेर नयाँ कार्यदिशा दिनुपर्नेमा उनको जोड छ ।

‘पार्टीको, सत्ताको कुनै पनि कुराको आयु हुन्छ । व्यक्तिमा जस्तै पार्टीमा, सत्तामा पनि कमजोरीहरू हुन्छ । तर त्यहाँ त्यसलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्छ । माओत्सेतुङको भाषामा भन्ने हो भने चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति चल्यो त्यो बेलाको एउटा सार के हो भने पार्टीलाई पनि आवधिक रूपमा र आंशिक रुपमा विघटन गर्न सक्नुपर्छ । विघटन गर्न सकिएन भने पुनःगठन हुँदैन । यो जीवनको नियम हो,' उनले भने । 

कान्तिपुर संवाददाता

Link copied successfully