४० वर्षे सम्बन्ध तोड्दै शर्माले दाहाललाई भने– ‘कुनै घुम्तीमा फेरि भेटौंला’

शर्माले भने- ‘तपाईंले माओवादीलाई माधव नेपालको पार्टीसँग मिलाउनुभयो । म माओवादीलाई जीवित राखेर जान्छु । बृहत् एकतापछि कुनै घुम्तीमा हामी भेटौंला ।’

कार्तिक १८, २०८२

गंगा बीसी

Breaking off a 40-year relationship, Sharma told Dahal, ”We'll meet again on some trip.”

काठमाडौँ — माओवादी संयोजक पुष्पकमल दाहाल र सचिवालय सदस्य जनार्दन शर्माबीच पार्टी जीवनको बिदाइ भेटवार्ता भएको छ ।

माओवादीले नेकपा एकीकृत समाजवादीलगायत साना कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेपछि फरक राजनीतिक बाटो लिने निर्णय गरेका शर्मालाई फकाउन दाहालले आइतबार बोलाएका थिए । शर्मा आफ्नो निर्णयमा टसमस नभएपछि दुई नेताले एकअर्कालाई ‘गुडबाइ’ भनेका छन् ।

माओवादीलाई अरू दलसँग मिलाएपछि आफू बिदाइ भेट गर्न आएको शर्माले बताएका थिए । ‘तपाईंले माओवादीलाई माधव नेपालको पार्टीसँग मिलाउनुभयो । म माओवादीलाई जीवित राखेर जान्छु । बृहत् कम्युनिस्ट एकता अभियानमा लाग्छु’ शर्माको भनाइ थियो, ‘बृहत् एकतापछि कुनै घुम्तीमा हामी भेटौंला ।’

भेटमा दाहालले पार्टी एकतापछि हुने महाधिवेशनमा आफूले नेतृत्व हस्तान्तरण गर्ने आश्वासन दिए पनि शर्माले पत्याएनन् । ‘केन्द्रीय समितिले दुई पटक विशेष महाधिवेशन गर्ने निर्णय गर्‍यो । तपाईंले विभिन्न बहानामा टार्दै आउनुभयो,’ उनले भने, ‘तपाईंले महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने पत्याउन सकिँदैन ।’

कुराकानी यतिमै रोकिएन । दाहालको नेतृत्व स्विकारेरै नेता मान्दै आए पनि पछिल्लो समय धोका दिएको शर्माले आरोप लगाए । ‘मैले पार्टी निर्माणका लागि मत राख्दै आएको हुँ । मेरो तपाईंसँग कुनै व्यक्तिगत कुरा छैन,’ उनले थपे, ‘राजनीतिक विषयलाई मैले व्यक्तिगत रूपमा लिएको छैन ।’ भेटमा २०४६ को जनआन्दोलन, दस वर्ष सशस्त्र युद्ध, शान्ति प्रक्रिया, संविधान निर्माणपछि हालसम्म दाहालसँग भएको सहकार्यलाई शर्माले स्मरण गरे । ‘तपाईं र मबीच यति लामो सहकार्य भयो । मैले तपाईंलाई नेता मान्दै आएँ । अब भने तपाईंले माओवादीलाई अरूसित मिलाउनुभयो’ उनले भनाइ थियो, ‘म माओवादीमै रहन्छु ।’

दाहाल र शर्माको भेट २०४२ सालमा रुकुममा भएको थियो । त्यतिबेला दाहालको पार्टीको नाम ‘विश्वास’ थियो भने शर्माको नाम ‘प्रभाकर’ राखियो । दसवर्षे माओवादी सशस्त्र युद्धका ‘सुप्रिम’ कमान्डर दाहाल थिए भने चारमध्ये एक ‘डेपुटी कमान्डर’ थिए शर्मा । २०६४ मा शान्ति प्रक्रियामा आएपछि दाहाललगायत सबै नेता सार्वजनिक भए । शर्मा पनि खुला राजनीतिमा उत्रिए । नेपाली सेनामा लडाकु समायोजन, शान्ति प्रक्रिया र संविधान निर्माणको काममा उनले पार्टी प्रमुख दाहाललाई नजिक रहेर सघाए । दाहालको ‘शयन कक्ष’ सम्म पुगेर सुझाव सल्लाह दिने उनको हैसियत थियो । दाहालले पनि विश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारी दिँदै गए । पार्टीका तर्फबाट शर्मा पटकपटक महत्त्वपूर्ण मन्त्री बने ।

२०७४ मा एमाले–माओवादी चुनावी गठबन्धन र त्यसपछि पार्टी एकताको एक साक्षी शर्मा पनि थिए । एकता प्रक्रियामा उनको भूमिका महत्त्वपूर्ण थियो । तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको शक्ति संघर्षका कारण एकता लामो समय टिक्न सकेन । अन्तरसंघर्ष चर्किरहेकै बेला २०७७ फागुन २३ मा एक मुद्दामा नेपाल कम्युनिस्ट पार्टी अर्कैको नाममा दर्ता भएको भन्दै सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गरिदिएको थियो ।

दाहाल र शर्माबीच अविश्वासको बीजारोपण २०७८ पुसमा भएको आठौं महाधिवेशनदेखि भएको नेताहरू बताउँछन् । महाधिवेशनमा शर्मा र वर्षमान पुन महासचिवका आकांक्षी थिए । दाहालका विश्वासपात्र शर्मा र पुन दुवैले महासचिवमा दाबी गरेपछि दाहालले देव गुरुङलाई महासचिव चयन गरेका थिए । शर्मा र पुनलाई उपमहासचिव बनाइएको थियो । त्यसपछि असन्तुष्ट बनेका शर्माले पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरणको माग गर्न थाले । जुन मागलाई दाहालले आफूमाथि भएको चुनौतीका रूपमा लिँदै आएका थिए । उनीहरूबीचको अविश्वास क्रमशः बढ्दै गयो ।

२०८१ साउनमा भएको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले दाहालको नेतृत्वलाई चुनौती दिँदै १४ पृष्ठ लामो लिखित फरक मत राखेपछि त दुई नेताबीच सम्बन्धमा थप चिसोपन आयो । शर्माले पार्टीमा प्रणाली लोकतान्त्रिक नभएको, नेतृत्व हस्तान्तरण हुनुपर्ने, वैचारिक नीति स्पष्ट हुनुपर्ने मत राखेका थिए । त्यसपछि दाहालले शर्मालाई महत्त्वपूर्ण छलफल र बैठकमा बोलाउन छाडे ।

दुई नेताबीच सम्बन्ध सुधारको प्रयास पनि नभएको होइन । तर, फेरि २०८२ वैशाखमा मध्यपहाडी राजमार्ग केन्द्रित अभियान रुकुम पश्चिम पुगेका बेला जेठको पहिलो साता दाहालले ‘केही व्यक्तिले बाटो बिराउँदैमा पार्टीले बाटो नबिराउने’ बताएपछि शर्मा आक्रोशित भए । दाहाललाई रुकुमबाट बिदाइ गर्ने बेला आफूलाई पार्टी छाड्न भनेको भन्दै गम्भीर समीक्षा हुनुपर्ने माग गरे । ‘मलाई पटक पटक पार्टी छाड्न भनियो । मैले पार्टीमै रहेर पार्टी बनाऔं भनिरहें तर त्यसको सुनुवाइ भएन’ शर्माले भने ।

दाहालले ‘विदेशी शक्तिले जनार्दनलाई उचालेको’ आरोप लगाउँदै आएका छन् । र, शर्माले पार्टी छाड्दैमा फरक नपर्ने उनको दाबी छ । शर्माको बुझाइमा दाहालले आफ्नै नेताहरूलाई भिडाएर आफू टिकिरहने रणनीति लिएका छन् । दाहालले २०४५ सालदेखि पार्टीको नेतृत्व गर्दै आएका छन् । माओवादीमा दाहाललाई चुनौती दिएका नेताहरू कोही पनि टिकेका छैनन् । शर्मा पछिल्लो उदाहरण हुन् । सशस्त्र युद्धमा ‘कमरेड आलोक’ का नामले चिनिने यानप्रसाद गौतमले दाहाललाई चुनौती दिएका थिए । युद्धकै क्रममा उनी कारबाहीमै रहेका बेला ‘रहस्यमय’ तरिकाले मारिएको माओवादीकै नेताहरूको भनाइ छ ।

शान्ति प्रक्रियामा आएपछि तत्कालीन उपाध्यक्ष मोहन वैद्यले २०६५ को बालाजु र भक्तपुरको खरिपाटी बैठकमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध फरक मत राखे । उनले दाहालले जनविद्रोहको नीति छाडेको भन्दै फरक मत राखेका थिए । तर दाहालले शान्ति र संविधान निर्माणको बाटोलाई नछाडेपछि वैद्यको नेतृत्वमा २०६९ असारमा माओवादी विभाजन भएको थियो । हाल सीपी गजुरेलले पार्टीको नेतृत्व गरेका छन् ।

गंगा बीसी

Link copied successfully