‘यलुङ री’ हिमपहिरोबाट दुई जना नेपालीको शव निकालियो

हिमपहिरोमा परेका ५ जना विदेशीको शव भने अझै निकाल्न सकिएको छैन ।

कार्तिक १८, २०८२

केदार शिवाकोटी

Bodies of two Nepalis recovered from 'Yalung Ri' avalanche

दोलखा — रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ री हिमालको बेसक्याम्पको हिमपहिरोमा परेर मृत्यु भएकाहरुको शव संकलनमा कठिनाइ भएको छ ।

हिमपहिरोमा परेका पाँच जना विदेशीको शव निकाल्न सकिएको छैन । दुई जना नेपाली पथप्रदर्शकको भने शव निकालिएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए ।

दुई नेपाली मृतकहरु सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–५ का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङ रहेका छन् । दुई जना इटालियन आरोहीसहित फ्रान्स, क्यानडा र जर्मनीका एक/एक जना हिमपहिरोमा परेको खुलेको छ । ‘हिमपहिरोमा परेका सबैको पहिचान खुलेको छ, दुई जना नेपालीको शव निकालिएको छ, अन्यको खोजी भइरहेको छ,’ उनले भने । खोजी गर्ने पथप्रदर्शकको टोली त्यही रहेको र विदेशीको शवको पहिचान भने अझै हुन नसकेको उनले बताए ।

हिमपहिरोमा इटलीका पाउलो कोको र मार्कस किचर्लर रहेका छन् । यस्तै, जर्मनीका ज्याकोब श्राइवर, फ्रान्सका क्रिस्चियन आन्द्रे मनफ्रेडी, क्यानडाका मार्को डि मार्सेलो रहेको प्रहरीले जनाएको छ । हिमपहरो गएको क्षेत्रमा उनीहरुको शव खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा परी गम्भीर घाइते अवस्थामा फेला परेका ४ जनाको मंगलबार बिहान उद्धार गरेको उद्धारमा संलग्न हेली एभरेष्टका निर्देशक मिङमा शेर्पाले बताए । उनका अनुसार गम्भीर घाइते अवस्थामा यलुङ री बेसक्याम्पमा रहेका दुई फ्रान्सेली आरोही इस्वेल्ली सोलङ्गे र डीडीअर अरमन ब्रेटन उद्धार गरिएको छ ।

यस्तै, युलङ री बेसक्याम्पबाट नेपाली पथप्रदर्शक लाक्पा शेर्पा र सुनबहादुर गुरुङ पनि गम्भीर अवस्थामा उद्धार गरिएको उनले बताए । विदेशी आरोहीको एरा अस्पताल र नेपाली पथप्रदर्शकको ह्याम्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, आरोहणमा सहभागी अन्य सामान्य घाइते भएका तीन फ्रान्सेली र तीन नेपालीको ना गाउँबाट उद्धार गरिएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । तीन क्यारोल फुचस रथावन इश्वेली सोलङगे दुई फ्रान्सेली महिलासहित डीडीआर अरमन्ड बेटिअर रहेकाछन् । उनीहरुको मंगलबार बिहान नाबाट उद्धार गरिएको प्रहरी उपरीक्षक महतोले बताए । यस्तै, छुल्ठिम डोल्मा गुरुङ, निमा ग्याल्जेन शेर्पा र राज गुरुङको पनि नाबाट उद्धार भएको हो । ५ हजार ६ सय ३० मिटर अग्लो यलुङ री आरोहणका लागि सोमबार बिहान आठ विदेशी आरोही र सात नेपाली पथप्रदर्शक पथप्रदर्शक त्यसतर्फ गएका थिए ।

हिमाल आरोहणका क्रममा मध्य भागभन्दा केही माथि पुगेपछि बिहान करिब ८ बजे हिमपहिरोले उनीहरुलाई पुरेको थियो । मौसम खराबी हेलिकोप्टर प्रतिबन्धित क्षेत्र भएकाले स्वीकृतिमा कानुनी जटिलताका कारण सोमबार हिमपहिरोमा परेकाहरुको उद्धार हुन सकेको थिएन ।

सोमबार अबेर मौसम खुलेपछि हेली एभरेष्टका निर्देशक मिङ्मा शेर्पाको नेतृत्वमा उद्धारका लागि टोली ना पुगेको थियो । मंगलबार बिहानैबाट घाइतेको उद्धार भएको हो । आरोहणमा सहभागी घाइतेका अनुसार ६ हजार ३ सय ३४ मिटर उचाइको डोल्मा खाङ हिमाल आरोहणका लागि आएका थिए । त्यसअघि उनीहरुले यलुङ री चढ्ने तालिका थियो । कात्तिक ११ गते आरोहणका लागि हिँडेको टोली मौसम खराबका कारण ना गाउँमा बास बसेर उक्त टोली यलुङ बेसक्याम्प पुगेको थियो ।

Bodies of two Nepalis recovered from 'Yalung Ri' avalanche

Bodies of two Nepalis recovered from 'Yalung Ri' avalanche

केदार

Link copied successfully