हिमपहिरोमा ५ विदेशी र २ नेपालीको मृत्यु, ४ जना बेपत्ता

५ हजार ६ सय ३० मिटर अग्लो यलुङ रि आरोहणका लागि सोमबार बिहान ५ विदेशीसहित १० नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए ।

कार्तिक १७, २०८२

केदार शिवाकोटी

5 foreigners and 2 Nepalis killed, 4 missing in avalanche

दोलखा — गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि हिमालको बसेक्याम्पमा हिम पहिरोमा परेर ५ जना विदेशी र २ नेपाली आरोहीको मृत्यु भएको छ । हिमपहिरोमा ४ जना बेपत्ता छन् । ४ जना घाइते छन् ।

मृत्यु हुनेमा फ्रान्स नागरिक ३ जना, क्यानडाका १ र इटालीका १ गरी ५ जना विदेशी छन् । उनीहरुसँगै रहेका दुई जना नेपालीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

५ हजार ६ सय ३० मिटर अग्लो यलुङ रि आरोहणका लागि सोमबार बिहान ५ विदेशीसहित १० नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए । बिहान करिब साढे ८ बजे आरोहणमा सहभागी सबैलाई हिमपहिरोले पुरेको हो ।

हिमपहिरोमा परे लगत्तै घाइतेहरुले ना गाउँमा रहेका आरोहणमा सहभागी नभएका साथीहरुलाई आग्रह गरेका थिए । तर समयमा उद्धार हुन नसकेको आरोहणमा सहभागी एक घाइतेले बताए । उनका अनुसार ६ हजार ३ सय ३४ मिटर उचाईको डोल्मा खाङ हिमाल आरोहणका लागि आएका थिए । त्यसअघि उनीहरुले यलुङ रि चढ्ने तालिका थियो ।

ना गाउँमा बास बसेर उक्त टोली यलुङ बेसक्याम्प पुगेको हो । उद्धार हुन नसकेपछि हिम पहिरोमा परेका घाइते आफै खबर गर्न ना झरेको घाइते पथप्रदर्शकले बताए । ‘हामीले रोइकराई गरेर उद्धार गरिदिन स्थानीय प्रशासनलाई आग्रह गर्‍यौं, करिब ४ घण्टापछि मात्रै हेलिकप्टर आउँछ भनेर खबर पाएका थियौं,’ उनले कान्तिपुरसँग भने, ‘साथीहरु के कति अवस्थामा छन् अझै जानकारी आएको छैन्, ४ जना साथी अझै सम्पर्कमा आएका छैनन् ।’

समयमा हिम पहिरोबाट उद्धार नहुँदा मानवीय क्षति भएको उनले बताए । हिम पहिरोमा ७ जनाको मृत्यु भएको दोलखा प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले बताए । आरोहणमा गएको टोली हिम पहिरोमा परेको सूचना ढिलो गरी मात्रै आएको उनले बताए । ‘सूचना आए लगत्तै जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयलाई जानकारी गराएका थियौं,’ उनले भने, ‘मौषम खराबका कारण हेलिकप्टर उडान हुन सकेन्, पैदल उद्धार सम्भव थिएन ।’

केही दिनदेखि रोल्वालिङ उपत्यकाको मौषममा खराबी आएसँगै हिमपात भएको थियो । ना गाउँमा हिमपात भएपछि स्थानीय बेदिङ झरेका थिए । आइतबारबाट मौषममा केही सुधार भएसँगै हिमाल आरोहण गएको टोली यलुङ रि लागेको थियो । हिमाली क्षेत्रमा आइतबारदेखि घाम लाग्न थालेको थियो ।

हिमपहिरोमा बेपत्ताको खोजीका लागि लामाबगरबाट नेपाली सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको डीएसपी महतोले बताए । ‘दिनभर उद्धारको धेरै प्रयास भए पनि हेलिकप्टर आउन नसकेका कारण हुन सकेन,’ उनले भने, ‘हेलिकप्टर सोमबार साँझ ना गाउँ पुगेको छ । स्थलमार्गबाट पनि उद्धारमा पठाइका छौं ।’ मंगलबार बिहानबाट उद्धार गरिने उनले बताए ।

केदार

Link copied successfully