जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयको पत्र : भदौ २३ र २४ मा जवानदेखि आईजीपी सबै फिल्डमा थिए 

आयोगले प्रहरी प्रधान कार्यालयसँग '२३ गते कसले गोली चलायो ? कसले आदेश दियो ? किन चलायो ?' लगायतका प्रश्न सोधेर अध्ययनका लागि विवरण माग गरेको थियो ।

कार्तिक १७, २०८२

जयसिंह महरा, दुर्गा दुलाल

Police Headquarters letter to the Commission of Inquiry: Everyone from jawans to IGP were in the field on Bhadra 23 and 24

काठमाडौँ — २३ र २४ भदौमा भएको जेन-जी आन्दोलन र प्रदर्शनका घटना छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले बयानलाई तीव्रता दिएको छ । आयोगले २३ गते माइतीघर मण्डलदेखि तीनकुनेसम्म र अन्य महत्त्वपूर्ण स्थानमा खटिएका प्रहरी जवानदेखि अधिकृत हुँदै बयान लिने कार्यसूची बनाएको छ । 

बयान लिनुअघि आयोगले प्रहरी प्रधान कार्यालयसँग भदौ २३ र २४ गते फिल्डमा खटिएका सबै सुरक्षाकर्मीको विवरण उपलब्ध गराउन भन्दै पत्र लेखेको थियो । फिल्डमा खटिएका सुरक्षा निकायका जवानदेखि फिल्ड अधिकृतसम्मको विवरण र आदेश दिने अधिकृतहरूको तहगत विवरण उपलब्ध गराउन आयोगले निर्देशन दिएको थियो ।

आयोगले जिम्मेवारीअनुसारको तह र व्यक्ति खुलाएर विवरण पठाउन भनेको थियो । '२३ गते कसले गोली चलायो ? कसले आदेश दियो ? किन चलायो ?' लगायतका प्रश्न सोधेर अध्ययनका लागि विवरण माग गरेको थियो । तर प्रहरीले केही दिनअघि आयोगलाई पठाएको जवाफमा जेन-जी आन्दोलनका क्रममा प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्म सबै फिल्डमै खटिएको जवाफ दिएको छ ।

प्रहरीको यस्तो जवाफपछि आयोगले आइतबार पुन: २४ घण्टाभित्र सबै विवरण उपलब्ध गराई बयानमा सहयोग गरिदिन भनी पत्र पठाएको छ। २३ र २४ गते अलग-अलग बयान लिनुपर्ने र तत्कालीन समयमा माइतीघर मण्डलदेखि तीनकुनेसम्म खटिएका व्यक्ति र अन्यत्र खटिएका सुरक्षाकर्मीको अवस्था फरक-फरक भएकाले समग्र जवाफ नभई नाम र समयसहित उपलब्ध गराइदिन आयोगले भनेको छ। आयोगका अनुसार प्रहरीले सोमबारसम्म जवाफ दिएमा उनीहरूको बयान क्रमश: सुरु हुने छ । 

यसरी लिइँदै छ बयान

जाँचबुझ आयोगले पहिलो चरणमा फिल्डमा खटिएका प्रहरीहरूसँग २३ गते कसरी गोली चल्ने अवस्था सिर्जना भयो र २४ गते कसरी तोडफोडमा मोडियो भनी बयान लिने तयारी गरेको छ । फिल्डमा खटिएका सुरक्षाकर्मीपछि उनीहरूलाई निर्देशन दिने अधिकृत हुँदै आईजीपीसम्म पुग्ने र सुरक्षा परिषद्का सदस्य, प्रमुख जिल्ला अधिकारीहरूलाई बयान लिने आयोगको तयारी छ । 

आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारीहरू, गृह सचिव, गृहमन्त्री रमेश लेखक हुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ । काठमाडौं उपत्यकाबाहिरका घटनाका जिम्मेवार व्यक्तिहरूको पनि बयान लिने तयारी आयोगले गरेको छ ।

२४ भदौमा संसद्, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, होटल, मिडिया हाउस, भाटभटेनीलगायत सरकारी तथा निजी संरचनामा तोडफोड, लुटपाट र आगजनीको जाँचबुझ र संलग्नहरूलाई बयानमा बोलाउनेबारे भने आयोगले विधि बनाइसकेको छैन । 

सुरुमा २३ गतेको घटना अनि सरकारी संरचनामा भएको क्षतिबारे बयान लिने अनि व्यक्तिगत सम्पत्तिमाथि भएको क्षतिबारे आयोगले काम गर्ने आयोगका एक सदस्यले बताए । 

जयसिंह महरा महरा विगत ९ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी राजनीतिक घटनाक्रम तथा संसदीय मामिलाका समाचार लेख्छन् ।

दुर्गा दुलाल दुर्गा दुलाल कान्तिपरका पत्रकार हुन् । उनी कानून, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully