जलिरहेको कारसँगै भेटिएको चप्पलले खोल्यो सराेज हत्याकाे पोल

अनुसन्धान अधिकृतहरुका अनुसार, जलिरहेको कारसँगै भेटिएको एउटा चप्पललाई पछ्याउँदै जाँदा अपहरणपछि हत्यामा संलग्न गिरोह समातिएको थियो ।

कार्तिक १७, २०८२

नवराज सुवेदी, गौरव पोखरेल

Slippers found next to burning car solve Saroj murder case

झापा र काठमाडौँ — झापाका ३३ वर्षीय सरोज शर्माको अपहरणपछि भएको हत्यामा उनकै साथीहरुको संलग्नता देखिएको छ । विलासी जीवनशैलीका कारण लोभिएका उनीहरुले फिरौती असुली गर्ने उद्देश्यले अपहरणपछि ९ कात्तिकमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

अनुसन्धान अधिकृतहरुका अनुसार, जलिरहेको कारसँगै भेटिएको एउटा चप्पललाई पछ्याउँदै जाँदा अपहरणपछि हत्यामा संलग्न गिरोह समातिएको थियो । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार, अपहरण र हत्यामा संलग्न भएको आरोपमा शर्माका साथी शिवसताक्षी–१० का २७ वर्षीय सुनिल शाह र २३ वर्षीय राहुल शाह पक्राउ परेका छन् । थप एक जना फरार छन् । ‘जोगबनी नाका हुँदै भारततिर भाग्न लागेको अवस्थामा उनी पक्राउ परेका हुन्,’ कार्कीले भने ।

काठमाडौं बस्दै आएका शर्मा झापास्थित घर भएका बेला ९ कात्तिकदेखि सम्पर्कविहीन भएका थिए । लगत्तै परिवारले खोजतलासका लागि प्रहरीलाई निवेदन दिएको थियो । चार दिनपछि राति साढे १० बजे उनी सवार बा प्र ०१ ३० च ७१९४ नम्बरको कार मेचीनगरपालिका–१३ मा रहेको निचाझोडा सिमसार जंगल क्षेत्रमा गाडी जलिरहेको भन्दै प्रहरीलाई खबर आएको थियो ।

‘घटनास्थलमा एउटा चप्पल र मास्क भेटियो, त्यसबारे खोज्दै जाँदा चप्पल सुनिलको भएको भेटियो,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘घरबाट साथीलाई भेट्न भन्दै गएका बेला आफ्नो फोन नलागे अर्को ह्वासट्पएपमा सम्पर्क गर्नु भनेर समेत सरोजले सुनिलको नम्बर दिएका थिए ।’ उक्त नम्बरलाई समेत ट्रेस गरिरहेका बेला उनको चप्पल घटनास्थलमा भेटिएपछि अनुसन्धान साँघुरिएको ती अधिकृत बताउँछन् । त्यसपछि परिचालित टोलीले उनलाई १४ कात्तिकमा पक्राउ गरेको थियो ।

उनीहरुको बयानका आधारमा प्रहरीले सुनिलको शवलाई झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्गमा पर्ने पुलमुनि गाडिएको फेला पार्यो । ‘सीमावर्ती क्षेत्र भएकाले भारततिर पुर्याउने योजना समेत उनीहरुको भएको हुनसक्छ,’ डीआईजी कार्की भन्छन्, ‘ठूलो पानी आउँदा बगाएर उतै लैजानसक्छ भनेर पनि हुनसक्छ, खाल्डो समेत गहिरो थिएन ।’

प्रहरीका अनुसार, पक्राउ परेकाहरुले सरोजलाई सस्तोमा सुन विक्री गर्ने भन्दै बोलाएको खुलेको छ । ‘सरोजको जीवनशैली एकदमै विलासी थियो, उनले सुनिल र राहुललाई बेलाबेला १०/२० हजार पैसा पनि दिइरहँदा रहेछन्, त्यसैले अपहरण गरेर असुली गर्ने योजना बनेको रहेछ,’ अनुसन्धानमा संलग्न झापा प्रहरीका एक अधिकृतले भने, ‘पछिल्लो समय चाहिँ लुटेको सुन आफूसँग भएको र सस्तोमा दिने भन्दै बोलाएको देखिन्छ ।’

दसै‌ंमा घर आउँदै उनले आफूसँग ७५ लाख रुपैयाँ रहेको परिवारसँग सरसापट गरेर थप पैसा भेला पारेर सुन किन्ने बताएको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् । तर, सरोज र राहुलसँग उनलाई भनेजस्तो सुन थिएन । बरु उनीहरुले दहीझोडा सामुदायिक वनमा सुन लुकाएको देखाउन खाल्डो खनेर केही पुरेका थिए । ‘सरोजलाई सुन देखाउन भन्दै जंगलतिर लैजाने, बेहोस बनाउने र अपहरण गरी भारत लगेर फिरौती माग्ने योजना रहेछ,’ ती अधिकृतले भने, ‘तर, सरोज होसमा आएर चिच्याउन र प्रतिकार गर्न थालेपछि योजना तुहिएको रहेछ ।’

उनी कराउन थालेपछि राहुलले आफूसँग लगेको ह्याम्मरले टाउकोमा पटक–पटक प्रहार गरेर हत्या गरेको पाइएको झापा प्रहरीका डीएसपी खगेन्द्रबहादुर खड्का बताउँछन् । प्रहरीले शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ भने पक्राउ परेका दुई जनाविरुद्ध अपहरण, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव, शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा अनुसन्धान सुरु भएको छ । 

नवराज

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully