दसैं–तिहार मनाउन गृह जिल्ला झापा आएका काठमाडौंका व्यापारीलाई आपराधिक गिरोहले सस्तो सुन किनाइदिने प्रलोभन पारी उनको ज्यान लिएको हो ।
झापा — सस्तोमा सुनको प्रलोभन देखाएर काठमाडौंमा व्यापार गर्ने झापा शिवसताक्षी नगरपालिका–१० माइधारका ३२ वर्षीया सञ्जय शर्माको ज्यान लिइएको खुलेको छ । दसैं–तिहार मनाउन गृह जिल्ला झापा आएका शर्मा आपराधिक गिरोहको ठगी योजनामा मात्रै परेनन्, सस्तो सुन किनाइदिने प्रलोभन पारी उनको ज्यानै लिए ।
प्रहरी अनुसन्धान अनुसार, काठमाडौंमा व्यवसाय गर्दै आएका शर्माले केही समयअघिदेखि सस्तोमा सुन पाए आफूले किन्ने र काठमाडौंका व्यापारीलाई पनि किनाइदिने बताउँदै छिमेकी सुनिल साहलाई सुन खोज्न भनेका थिए ।
साहले महिना दिन अघिदेखि सुन खोज्ने वहानामा शर्माको पैसा लुट्ने योजना बनाए । पैसा लुट्ने, उनलाई अपहरण गरी भारत लैजाने र त्यहाँ बन्धक बनाएर करोडौँ रुपैयाँ फिरौती असुल्ने साहको योजना थियो । सोही योजना बमोजिम जब दसैंतिहारका बेला शर्मा झापा आए त्यही मौकामा कात्तिक ९ गते साहले ‘सुन ल्याएर गाडेर राखेको ठाउँ देखाउँछु’ भन्दै शर्मालाई अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित सामुदायिक वन क्षेत्रमा लिएर गए । साँझ साढे ५ बजे एकान्त जंगल क्षेत्रमा पुगेपछि साह र उनका भान्जा राहुल साहले हथौडा प्रयोग गरी शर्माको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
हत्यापछि मामा–भान्जाले एक भारतीय नागरिकको सहयोगमा शर्माको शव हुलाकी राजमार्गस्थित झापा गाउँपालिका–५ को विरिङ खोलाको बगरमा लगेर गाडेका थिए । शव गाडेपछि शर्माकै गाडीमा फर्किएका उनीहरुले चारआली–चन्द्रगढी सडकखण्ड अन्तर्गत मेचीनगर–१२, निचाझोडास्थित वन क्षेत्रमा गाडीमा आगजनी गरी प्रमाण मेटाउने प्रयास गरिएको प्रहरीले जनाएको छ । तर, प्रहरीले गाडी जलाएको स्थानबाट केही पर शर्माको चप्पल फेला पारेको थियो ।
प्रहरीले सुनील साह र उनका भान्जा राहुललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ भने घटनाका मतियार भारतीय नागरिक फरार रहेको प्रहरीले जनाएको छ ।
अभियुक्तद्वयलाई अपहरण र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरिएको छ । फरार अभियुक्तहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
