हेलिकप्टरको सन्तुलन खल्बलिनेबित्तिकै तेल बन्द गरेँ, त्यसैले आगो लाग्न पाएन : क्याप्टेन विवेक

'हिउँमा जमिनमाथिको हेलिप्याड जस्तो हुँदैन ।  हिउँमा गाह्रो हुन्छ । कमजोर वा बाक्लो हिउँको संरचना कसरी बनेको छ । त्यसले असर पार्छ ।'

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

I turned off the fuel as soon as the helicopter lost its balance, so the fire did not start: Captain Vivek

काठमाडौँ —  खराब मौसमका कारण यतिबेला खुम्बु क्षेत्रमा पर्यटकहरू बिरामी हुने उद्धार गर्नुपर्ने दैनिक जसो भइरहन्छ । आज बुधबार बिहान मैले लुक्लाबाट फेरिचे र कोथेमा दुइटा चार्टर उडान गरिसकेको थिए । लोबुचेका लागि मेरो तेस्रो उडान थियो ।

त्यहाँ दुई जना विदेशी उचाइमा बिरामी भएकाले उद्धार उडान गर्न पुगेको थिएँ । बाक्लो हिउँ अनि बादल थियो । हेलिप्याडहरूमा हिउँले छोपिएका थिए । हेलिकप्टर अवतरण गराउँदा हातको संकेतले सघाउने मार्सलर कोही थिएनन् । हिउँमाथि अवतरण गर्ने बेला जहाजको सन्तुलन खलबलियो । पुन: माथि उठाउन सकिएन । हिउँमा जमिनमाथिको हेलिप्याड जस्तो हुँदैन ।

हिउँमा गाह्रो हुन्छ । कमजोर वा बाक्लो हिउँको संरचना कसरी बनेको छ । त्यसले असर पार्छ । मैले हेलिकोप्टरको सन्तुलन खल्बलिनेबित्तिकै तेल बन्द गरेँ । ब्रेक पनि तानिदिएँ । त्यसैले आगो लाग्ने र थप क्षति हुन रोकियो ।

जहाजमा म मात्रै थिएँ । मलाई केही भएको छैन । शरीरमा कुनै घाउचोट छैन । हातमा कुनै कोतरिएको खत पनि छैन । अहिले म लुक्ला आइपुगेको छु । लुक्लाबाट गएको कैलाश एयरको हेलिकोप्टरमा लुक्ला आइपुगेको छु । केही बेरमा काठमाडौं फर्किने छु ।

-सुरज कुँवरसँगको कुराकानीमा आधारित

कान्तिपुर संवाददाता

Link copied successfully