दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित महाधिवेशनको तालिका ल्याउने निर्णय बैठकले नगरेमा विशेष महाधिवेशनको प्रकृया अघि बढाउनुपर्ने अडान राखिरहेका छन् ।
काठमाडौँ — कांग्रेस संस्थापनपक्षको बैठक ललितपुरको धोबीघाटमा बसेको छ । कार्यबाहक सभापति पुर्णबहादुर खड्काले विहीबारदेखि सुरु हुने केद्रीय कार्यसमितिको बैठकमा सामूहिक धारणा तय गर्न बैठक बोलाएका हुन् ।
बैठकमा अधिकांश नेताहरुले मंसिरमै नियमित वा विशेष कुनैपनि महाधिवेशन सम्भव नभएको धारणा राखीरहेका छन् । यता दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित महाधिवेशनको तालिका ल्याउने निर्णय बैठकले नगरेमा विशेष महाधिवेशनको प्रकृया अघि बढाउनुपर्ने अडान राखेका छन् ।
उनीहरुले एमाले, माओवादीलगायतका राजनीतिक दलले अधिवेशन गर्न नसक्ने कुरा तर्कसंगत नभएको भन्दै विहीबारकै बैठकमा कार्यतालिका प्रस्तुत गर्ने प्रयास गरेका छन् । त्यस सम्वन्धमा कसरी प्रस्तुत हुने भन्नेबारेमा संस्थापनपक्षले साझा धारणा बनाउन बैठक बोलाएको हो ।
मंसिरमै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुन्छ कि हुँदैन ? विशेष महाधिवेशनसमेत नबोलाइए ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहितको निवेदनको औचित्य के हुन्छ ? महाधिवेशनको मुद्दामा कांग्रेसका दुई खेमाबीच प्रतिष्ठाको विषय बनिरहेको छ ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनका लागि २८ असोजमा पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता भइसकेको छ । पार्टीको विधानले ४० प्रतिशत हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । केन्द्रीय कार्यसमिति आफैंले बोलाउन सक्ने व्यवस्था पनि विधानमा छ । यस्तो अभ्यास २०१४ सालमा भएको थियो । त्यति बेलाको विशेष महाधिवेशनले सुवर्णशमशेर राणालाई हटाएर बीपी कोइरालालाई पार्टी सभापति बनाएको थियो ।
सम्बन्धित अन्य समाचार
कांग्रेसमा संस्थापन र महामन्त्रीबीच प्रतिष्ठाको लडाइँ, मझधारमा शेखर कोइराला
मंसिरमै महाधिवेशन नभए कांग्रेसको इतरपक्षले छुट्टै भेला गर्ने
