हिउँमा फसेका विदेशी पर्यटक लिन लोबुचे गएको थियो अल्टिच्युड एयरको हेलिकप्टर

हेलिकप्टरका क्याप्टेन विवेक खड्का सकुशल, कैलाश एयरको हेलिकप्टरले उनलाई लुक्ला ल्यायो

कार्तिक १२, २०८२

भानुभक्त निरौला

Altitude Air helicopter went to Lobuche to pick up foreign tourists stranded in the snow

सोलुखुम्बु — सगरमाथा आधार शिविर नजिकै रहेको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान ७:४३ मा लुक्लाबाट विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माइक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो ।

क्याप्टेन विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ । उद्धारका लागि आएकाले हेलिकप्टरमा क्याप्टेन खड्का मात्रै रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी मनोजित कुँवरले बताए । 

बिहान ८:१५ मा हेलिकप्टर दुर्घटना भएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले पुष्टि गरिन् । क्याप्टेन खड्कालाई कैलाश एयरको हेलिकप्टरमार्फत लुक्ला ल्याइएको डीएसपी कुँवरले बताए ।

हेलिकप्टरमा आगजनी नभएको र पल्टिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । खुम्बुमा बाक्लो हिउँ परेका कारण बिहानैदेखि हेलिकप्टरले पर्यटकको उद्धार गर्दै आएका थिए ।

भानुभक्त

Link copied successfully