ट्राफिक प्रहरी सचेतना कक्षा डेढ महिनापछि सुरु

काठमाडौं उपत्यका ट्राफिक प्रहरीको कार्यालय जलेपछि अहिले नजिकैको पार्टी प्यालेस भाडामा लिएर कार्यालय सञ्चालन भएको हो ।

कार्तिक ११, २०८२

विवेक पोख्रेल

Traffic police awareness classes begin after one and a half months

काठमाडौँ — जेन-जी आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरीको कार्यालय जलेपछि बन्द भएको सचेतना कक्षा डेढ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले रोकिएको कक्षा सुरु गरिएको बताउँदै पुन: ट्राफिक व्यवस्थापन र नियम उल्लंघन गर्नेहरुलाई कसुर अनुसार सचेतना कक्षा लिनुपर्ने पुरानै नियम सुरु गरिएको बताए ।

रामशाहपथस्थित ट्राफिक कार्यालय जलेपछि अहिले नजिकैको पार्टी प्यालेस भाडामा लिएर कार्यलय सञ्चालन गरिएको हो । सचेतना कक्षा पनि त्यही पार्टी प्यालेसभित्रै सञ्चालन भएको छ । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, तीव्र गति, रातो बत्ती उल्लंघन र लेन तोड्ने चालकहरूलाई भौतिक रूपमा सचेतना कक्षामा सहभागी गराउँदै आएको छ ।

प्रवक्ता सुवेदीका अनुसार मंगलबारदेखि पुन: सुरु भएको सचेतना कक्षामा कारबाहीमा परेका १ सय ८६ सवारी चालक सहभागी भएका थिए । उनका अनुसार सार्वजनिक बिदा बाहेक अन्य दिन दैनिक पाँच पटक र शुक्रबार चार पटक कक्षा सञ्चालन हुनेछ । कार्यालय समयमा सहभागी हुन नसक्नेहरुका लागि प्रत्येक शनिबार २ वटा कक्षा सञ्चालन हुनेछ । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully