जिल्ला अदालतदेखि सर्वोच्चसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्कीले मन्त्रीको सूचीबाट खगेन्द्र सुनारको नाम हटाउन लागेकी हुन् ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनारको नाम हटाउन लागेकी छन् ।
जिल्ला अदालतदेखि सर्वोच्चसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्रीले सुनारको नाम हटाउन लागेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सुनारबाहेक तीन जनालाई मात्रै आइतबार शपथ ग्रहण गराउने तयारी भइरहेको छ ।
प्रधानमन्त्री सचिवालयले भन्यो, 'उहाँको नाममा विवाद सार्वजनिक भएपछि प्रधानमन्त्रीले पुनर्विचार गर्दै हुनुहुन्छ ।'
सचिवालयका अनुसार सुनारको नाम हटाएर बाँकी तीन जनाको शपथ आजै साढे २ बजेका लागि तय गरिएको छ । शथप लिनेमा डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी र बब्लु गुप्ता युवा तथा खेलकुदमन्त्री बन्दै छन् ।
