मन्त्री बन्ने सूचीमा खगेन्द्र सुनार : सर्वोच्चमा अवहेलना र दुई जिल्ला अदालतबाट पक्राउ पुर्जी

सुनार न्यायाधीशविरुद्ध गाली गरेकामा अवहेलना मुद्दा, विद्युतीय कारोबार र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका व्यक्ति हुन् ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

Khagendra Sunar on the list to become a minister: Contempt in the Supreme Court and arrest warrants from two district courts

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी छन् । उनले चार जनाको नाम मन्त्रीको नाम शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाएकी छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरिएका खगेन्द्र सुनार भने विवादित व्यक्ति भएको खुलेको छ । 

आफूलाई दलित अभियन्ताका रुपमा चिनाउने र दलित अधिकारका लागि विवादित अभिव्यक्ति दिँदै आएका सुनारविरुद्ध सर्वोच्च अदालतदेखि दुई जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा विचाराधीन छ भने सुर्खेत जिल्ला अदालत र काभ्रे जिल्ला अदालतबाट आपराधिक घटनामा संलग्न रहेको भन्दै अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको छ । 

त्यस्तै, उनले एक महिला अधिवक्ताविरुद्ध सामाजिक सञ्जालमा अश्लील र अभद्र टिप्पणी गरेको पनि सार्वजनिक भएको छ ।

पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् सदस्य सिफारिस सुनारविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा विचाराधीन छ । उच्च अदालतका न्यायाधीशहरूविरुद्ध गालीगलौज र अदालत भवनमा तोडफोड गरेको भन्दै अधिवक्ता मनिषा गौतमले सुनारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको अवहेलनाको मुद्दा विचाराधीन रहेको छ । उक्त मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । 

सुनारविरुद्ध अर्को मुद्दा काभ्रे जिल्ला अदालतमा विचाराधीन छ । विद्युतीय कारोबार सम्बन्धी मुद्दामा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत सुर्खेतले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । २०८१ असार २१ मा जारी पक्राउ पुर्जीमा उनलाई पक्राउ गरी अनुसन्धान र अभियोजन गर्न बाँकी छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-८ स्थित मेहेलकुना अस्पताल प्रमुख डा. सोजन सापकोटामाथि हातपात र अस्पताल भवनमा तोडफोड गरिएको आरोपमा पक्राउ पुर्जी जारी भएको हो । 

सुनारले नवराज विक प्रकरणमा सर्वोच्चमा मुद्दा लिएर आउन लागेको र त्यसमा आफूले चाहेजस्तो फैसला नभए सर्वोच्च अदालतमा आगो लगाउने चेतावनी पनि दिएका थिए । उच्च अदालत सुर्खेतको मुद्दा सदर गर्न नहुने भन्दै सर्वोच्चलाई चेतावनी दिएका थिए । 

सुनारले पटक-पटक व्यक्तिलक्षित आरोप लगाउने र भ्रम फैलाउने कार्य गर्दै आएको भनी आलोचना हुँदै आएको छ । रुकुमपश्चिमको चौरजहारीमा भएको नवराज विक लगायतको हत्या घटनापछि सुनार सार्वजनिक चर्चामा आएका व्यक्ति हुन् । 

Khagendra Sunar on the list to become a minister: Contempt in the Supreme Court and arrest warrants from two district courts

कान्तिपुर

Link copied successfully