लुटिएका ५ सय ५६ थान हतियार अझै फेला परेनन्

नेपाल प्रहरीका विभिन्न ब्यारेक तथा कार्यालयमा तोडफोड र आगजनीपछि १२ सय ७६ थान घातक हतियार लुटिएका थिए । त्यसमध्ये ७ सय २० थान मात्रै सुरक्षा निकायले फिर्ता ल्याएको छ ।

कार्तिक ९, २०८२

मातृका दाहाल

556 stolen weapons still not found

What you should know

काठमाडौँ — २४ भदौको हिंसात्मक प्रदर्शनका क्रममा लुटिएका ५ सय ५६ थान हतियार अझै फेला परेका छैनन् ।

नेपाल प्रहरीका विभिन्न ब्यारेक तथा कार्यालयमा तोडफोड र आगजनीपछि १२ सय ७६ थान घातक हतियार लुटिएका थिए । त्यसमध्ये ७ सय २० थान मात्रै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले फिर्ता ल्याएको छ । अझै ५ सय ५६ थान हतियार फिर्ता आउन बाँकी रहेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । 

प्रहरीका अनुसार इन्सास र एसएलआरसहित २ सय ८५ नाल ठूला पेस्तोललगायत २ सय ७१ नाल साना हतियार अझै नियन्त्रणमा आएका छैनन् । यसले शान्ति सुरक्षामा समेत चुनौती थपिएको प्रहरी अधिकारीहरुले बताउँदै आएका छन् ।

२४ भदौमा २८ कारागार र बालसुधार गृह तथा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका सहित कुल १४ हजार ४३ जना कैदीबन्दी र थुनुवा भागेका थिए । तीमध्ये अझै करिब ५ हजार कैदीबन्दी र थुनुवा पक्राउ परेका छैनन् । 

२३ गते सुरु भएको जेनजी आन्दोलन र २४ गतेको प्रदर्शनपछि पनि आ-आफ्ना माग राखेर विभिन्न समूह आन्दोलन र प्रदर्शनमा उत्रिएका छन् । यस्ता समूहका आन्दोलनमा समेत भागेका कैदीबन्दी र थुनुवा तथा लुटिएका हतियार प्रमुख चुनौतीका रुपमा रहने ब्रिफिङ सुरक्षा निकायहरुले सरकारलाई गराइसकेका छन् । 

जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बीच २४ भदौमा ‘आपराधिक गतिविधि’ मा संलग्न रहेको आरोपमा प्रहरीले देशभरबाट २ सय ३७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, कोशीबाहेक सबै प्रदेशबाट प्रहरीको हातहतियार, व्यक्तिगत सम्पत्ति लुटपाट, आपराधिक उपद्रव र अभद्र व्यवहारको कसुरमा उनीहरू पक्राउ परेका हुन् । ‘जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा आपराधिक गतिविधिमा संलग्न आरोपितहरू प्रहरी हिरासतमा छन्, कतिपय हाजिर जमानतमा छुटेको अवस्था पनि छ,’ उनले भने, ‘कसुरअनुसार मुद्दा दर्ता पनि भइरहेका छन् ।’

सम्बन्धित समाचार 

२४ भदौका २३७ पात्र पक्राउ

प्रहरी रिपोर्ट : १२७६ थान राइफल र पेस्तोल लुटिए, ९८ हजार ४९१ थान गोली अभिलेखबाट हराए 

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully