संसद् र अदालत जलाउनेदेखि व्यक्तिका घरबाट औंठी र चप्पलसमेत चोर्ने समातिए
What you should know
काठमाडौँ — ‘भिक्टर कन्ट्रोल (काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष) ले पनि सुन्नुस्, किलो वान (काठमाडौं प्रहरी परिसर प्रमुख, एसएसपी) सरले पनि सुन्नुस्, किलो फोर (काठमाडौं प्रहरी परिसरका डीएसपी) सरले पनि सुन्नुस्, पिटर वान (प्रहरी महानिरीक्षक) सरले पनि सुन्नुस्, हाम्रा पुलिसका हाकिम सबैले सुन्नुस् । हामी मर्ने अवस्थामा छौं । तपाईंहरूले हामीलाई रेस्क्यु गर्नुभएन । हाम्रो अन्तिम आवाज सुन्नुस् सेटबाट । हामी ४०–५० जना छौं । तपाईंहरू आफू र अरू मात्रै सुरक्षित हुनुस् । हामी मर्ने अवस्थामा छौं । पाँच मिनेटभित्र मर्ने अवस्थामा छौं । हाम्रो अन्तिम स्वर सुनाइदिनुस् । ए साथी हो, भनौं सबैले । (सामूहिक आवाज– हामी मर्ने अवस्थामा छौं...)’
२४ भदौका दिन महाराजगन्जमा प्रहरी मारिन थालेको भन्दै असई होमबहादुर विक सञ्चार सेटमा गुहार माग्दै थिए । आत्तिएका उनी रुँदै र झोक्किँदै पनि थिए । त्यतिबेला प्रहरीमाथि हमला भइरहेको थियो । महाराजगन्जका असई मिलन राय र जवान उत्तम थापाको हत्या हुन पुग्यो । उता कोटेश्वरमा प्रहरी सहायक हवल्दार अमृत गुरुङ पनि प्रदर्शनकारीबाट मारिए । यी घटनामा संलग्न केही पक्राउ परेका छन् ।
प्रहरी वृत्त महाराजगन्जका असई राय र जवान थापाको हत्यामा संलग्न आरोपमा काभ्रे स्थायी घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी, मकवानपुर घर भई चन्द्रागिरि बस्दै आएका २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल थिङ, धुम्बाराही बस्दै आएका ६२ वर्षीय होमप्रसाद पौडेल र ललितपुर–८, बालकुमारी बस्ने २८ वर्षीय टीकाराम विक पक्राउ परेका छन् । उनीहरूविरुद्ध ज्यान र आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा दायर भएको छ ।
‘कल डिटेल रेकर्ड (सीडीआर)’ अनुसार युवराज बिहान ६:४७ बजे विशालनगर क्षेत्रमा सक्रिय थिए । उनी ८:५४ देखि १०:१५ बजेसम्म चक्रपथ नजिकै कुमारी मार्ग, बिहान ११:३७ मा उत्तर ढोका, दिउँसो १२:१५ देखि ५:२६ बजेसम्म कुमारी मार्ग, ६ देखि ७ बजेसम्म नारायणगोपाल चोक वरिपरि देखिन्छन् । प्रहरीलाई दिएको बयानमा अर्का आरोपित तामाङले पनि कसुर स्विकारेका छन् । पौडेलले पनि काठको चिर्पटले हिर्काएको स्विकारेका छन् । थापालाई कार्यालयबाट लछारपछार गर्दै तानेर सुरुमा बाहिर ल्याइएको थियो । त्यसपछि भाटभटेनी सुपर मार्केट पछाडिको भित्री सडकको कुनामा ल्याएर ज्यान मार्ने उद्देश्यले लाठी, फलामको रड, चिर्पट, इँटा, ढुंगालगायतका धारिलो हतियार अन्धाधुन्ध प्रहार गरिएको थियो ।
गम्भीर घाइते बनाएपछि समेत ‘अपमानजनक’ व्यवहार गरिएको थियो । सञ्चार सेटमा गुहार माग्ने असई विकसहितका घाइते अन्य प्रहरीलाई भने सेनाको हेलिकोप्टरबाट उद्धार गरी नेपाल प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार प्रहरी हत्यामा संलग्न नौ जनामध्ये चार जना पुर्पक्षका लागि थुनामा छन् । प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको मुद्दामा अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो । ‘बाँकी पाँच जनालाई हिरासतमा राखेर अझै अनुसन्धान गरिरहेका छौं,’ उनी भन्छन् ।
यस्तै, जनसेवा प्रहरीको गाडी तोडफोड र भवनमा पेट्रोल बम प्रहार गरेर आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी स्थायी घर भई वसन्तपुर बस्ने २२ वर्षीय सुजन शाह भनिने सुजल शाह सोनार र भारतीय नागरिक २५ वर्षीय रोहित सारवगी छन् । प्रहरीले सीसीटीभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरेको थियो । सुजन वसन्तपुरमा फुटपाथमा कपडा बेच्दै आएका थिए । चिनजानका साथी रोहित हातमा लाठी र मोटरसाइकलको एउटा हेलमेट बोकेर आएपछि प्रदर्शनकारीसँगै गएको उनले बयान दिएका छन् । रोहितले चाहिँ आफ्नो स्थायी ठेगाना भारतको राजस्थान भए पनि बुबाले नेपाली नागरिकसँग विवाह गरेकाले यहीं जन्मी/हुर्किएको र गाडी चालकका रूपमा काम गर्दै आएको बताएका छन् ।
त्यसैगरी प्रहरीले टेकुमा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयमा तोडफोड र आगजनी गर्ने भारतीय नागरिक २२ वर्षीय नीरज पोद्दार, दोलखा घर भएका लक्ष्मण थामी र काठमाडौंका २७ वर्षीय सजन तामाङलाई पक्राउ गरेको थियो । उनीहरू कार्यालयबाट लुटिएको हतियारसहित प्रदर्शनमा उत्रिएका थिए । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बीच २४ भदौमा ‘आपराधिक गतिविधि’ मा संलग्न रहेको आरोपमा प्रहरीले देशभरबाट २ सय ३७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, कोशीबाहेक सबै प्रदेशबाट प्रहरीको हातहतियार, व्यक्तिगत सम्पत्ति लुटपाट, आपराधिक उपद्रव र अभद्र व्यवहारको कसुरमा उनीहरू पक्राउ परेका हुन् । ‘जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा आपराधिक गतिविधिमा संलग्न आरोपितहरू प्रहरी हिरासतमा छन्, कतिपय हाजिर जमानतमा छुटेको अवस्था पनि छ,’ उनले भने, ‘कसुरअनुसार मुद्दा दर्ता पनि भइरहेका छन् ।’
डीआईजी दिनेशकुमार आचार्यका अनुसार, गण्डकीमा जेलबाट कैदी भगाउन सहयोग गर्नेदेखि प्रहरीको बर्दी लुटपाटमा संलग्नसमेत गरी १३ जना पक्राउ परेका छन् । बागमती प्रदेश प्रमुख डीआईजी अरुण पौडेलका अनुसार, काभ्रे र चितवनमा लुटपाट भएका गोली र हतियारसहित ६ जना समातिएका छन् । मधेशमा पनि व्यक्तिगत सम्पत्ति लुटपाट, प्रहरीको हतियार खोस्ने र आतंक मच्चाउनेहरूबारे अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलिया बताउँछन् । डीआईजी ओमबहादुर रानाका अनुसार, सुदूरपश्चिममा यस्ता गतिविधिमा संलग्नमध्ये १८ जनालाई विभिन्न जिल्लाबाट नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरेर छाडिएको थियो भने चार जनालाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ । ‘कैलालीमा चार जना चाहिँ हतियारसहित फेला परेका थिए, कारबाहीका लागि काठमाडौं पठाएका छौं,’ रानाले भने । केन्द्रीय प्रहरी प्रवक्ता घिमिरेका अनुसार पक्राउ पर्नेमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकाका छन् ।
पूर्वराष्ट्रपति भण्डारीको घर आगजनी आरोपमा युवासंघका कार्यकर्ता समातिए
२४ भदौमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगजनी गरेको आरोपमा प्रहरीले एमाले भ्रातृ संगठन युवासंघका कार्यकर्ता सोनाम थेबेलाई पक्राउ गरेको छ । उनी पहिले गुन्डा नाइके भनेर चिनिएका चक्रे मिलनसँग समेत नजिक थिए । प्रहरीले सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा प्राप्त भिडियो, तस्बिरका आधारमा अनुसन्धान गरिरहेको छ । त्यस्तोमा उनी पनि आगजनीमा संलग्न देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
तर थेबेले प्रहरीसँग बयान दिँदै आफू भंगाल पुग्नुअघि नै त्यहाँ आगो लागिसकेको दाबी गरेका छन् । उनले आफूमाथि लगाइएको आरोपसमेत अस्वीकार गरेका छन् । युवासंघका प्रवक्ता निरोज पौडेलले विज्ञप्ति जारी गर्दै थेबे संगठनको कुनै पनि जिम्मेवारीमा रहेको व्यक्ति नभएको जिकिर गरेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘उहाँ एमाले र गुन्डागर्दी पृष्ठभूमि भएका व्यक्तिसँग नजिक रहेको देखिएको छ, अरू विषयलाई थप पुष्टि गर्ने कोसिस गरिरहेका छौं ।’
देउवाको घरको शंख र गगनको घरको फ्रिज चोर्ने पनि पक्राउ
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरबाट शंख र मूर्ति चोरीमा संलग्नलाई पनि प्रहरीले पक्राउ गरेको छ । चितवनका विजय लामा चोरिएको शंख, बुद्ध र गणेशको मूर्तिलगायत सहित पक्राउ परेका हुन् । उनले चोरी गरेको नभई सडकमा भेट्टाएर ल्याएको दाबी गरेका छन् । बुढानीलकण्ठ पुगेका प्रदर्शनकारीले देउवा दम्पतीलाई कुटपिटसमेत गरेका थिए । पछि सेनाले उद्धार गरेर उनीहरूलाई सैनिक अस्पताल छाउनी पुर्याएको थियो । प्रहरी वृत्त गौशालाले कांग्रेस महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी गरेको आरोपमा सिन्धुली घर भई हाल रातोपुलमा डेरा गरी बस्दै आएका ४० वर्षीय रमेश थामीलाई पक्राउ गरेको छ । उनको साथबाट फ्रिज र उफरसमेत बरामद भएको छ । विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा लुटपाटमा संलग्न भएको आरोपमा १८ वर्षीय सरोज आलम पक्राउ परेका छन् ।
ललितपुर–११ मा रहेको शाक्यको घरमा लुटपाट गरेको आरोपमा पक्राउ परेका उनी अहिले पुर्पक्षका लागि नख्खु कारागारको थुनामा छन् । सोही प्रकरणमा पक्राउ परेका फुर्साङ लामा, २२ वर्षीय सहजाद मियाँ मन्सुरी र २९ वर्षीय मनीष सुनार धरौटीमा छुटेका छन् । पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरमा भएको लुटपाटमा संलग्न आरोपमा उदयपुर घर भएका २९ वर्षीय सुजन सेवा र महोत्तरी स्थायी घर भएका ३० वर्षीय सञ्जय परियार पक्राउ परेका छन् । ‘उनीहरूलाई अदालतमा उपस्थित गराइकोमा धरौटीमा छाड्ने आदेश भएको छ,’ ललितपुर प्रहरीका एक अधिकृतले भने ।
यसैगरी आन्दोलनका क्रममा गोकर्णेश्वर नगरपालिका–९ मा डेरा गरी बस्नेको कोठामा समेत चोरी भएको पाइएको छ । रेस्ता तामाङसहित ३ जनाले आन्दोलनका क्रममा कोठामा प्रवेश गरेर आईफोन ११ सहित औंठी, सिक्री, नगद ८५ हजार रुपैयाँ, घडी, ज्याकेट, हेडफोन, चप्पल र माक्ससमेत चोरेको भन्दै पीडित स्मृति लामाले जाहेरी दिएकी छन् । रेस्ताले सीसीटीभीमा देखिएको व्यक्ति आफू भएको स्विकारेकी छन् । तर, चोरीमा संलग्न नभएको उनको दाबी छ । प्रहरीमा दिएको बयानअनुसार, रेस्ताका श्रीमान् प्रेम तामाङको तीन वर्षअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि चार वर्षका छोरालाई लिएर उनी अर्काको घरमा बसेर कपडा धुने काम गर्दै आएकी थिइन् ।
वाणिज्य बैंक लुटपाटमा संलग्न किशोर पक्राउ
संसद् भवनको पश्चिमतर्फ रहेको राष्ट्रिय वाणिज्य बैंकको लुटपाटमा संलग्न रहेको आरोपमा २७ वर्षीय दीपक श्रेष्ठ र अर्का एक किशोर पक्राउ परेका छन् । बैंकका शाखा प्रबन्धक प्रद्युम्न कार्कीले दिएको जाहेरीअनुसार २४ भदौमा बैंकमा एटीएम मेसिनसमेत तोडफोड गरेर ४ करोड १३ लाखभन्दा बढी क्षति पुर्याइएको थियो । कर्जा लगानी गरी सुरक्षणबापत ग्राहकले धरौटी राखेको १७ किलो ७६९.४१ ग्राम सुन लुटपाट भएको प्रहरीको जाहेरीमा उल्लेख छ ।
घटनाको तीन दिनपछि संलग्न किशोरलाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । उनको साथबाट ३ लाख ५० हजार रुपैयाँ, तिलहरी, मंगलसुत्र, औंठीसमेत बरामद भएको थियो । उनी कोटेश्वरबाट भागेर माइक्रो बस चढी सिराहा जाने क्रममा काभ्रेको भकुन्डेबेसीमा पक्राउ परेका थिए । उनको साथमा नगद र सुन भेटिएपछि काभ्रेबाट खटिएको प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।
यस्तै, २४ भदौमा ‘टीओबी’को टिसर्ट लगाएर मोटरसाइकल ‘पड्काउँदै’ हिँड्नेहरूबारे समेत प्रहरीले छानबिन गरेको छ । अरू कसुरबिना टिसर्ट र ज्याकेट लगाएकै आधारमा मात्र कारबाही गर्न नसकिने अधिकृतहरूको निचोड छ । त्यही बेला ‘टीओबी’को टिसर्ट लगाएर बिजुलीबजार पुलमा पिस्तोल देखाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो । त्यसरी पिस्तोल देखाउने युवा तेन्जेन दावा अहिले प्रहरी हिरासतमा छन् । उनले त्यो पिस्तोल सक्कली नभएको र भिडियो प्रयोजनका लागि बनाएको दाबी गरेका छन् । प्रहरीले उनीसँग जोडिएका अरू विषयमा समेत छानबिन गरिरहेको छ ।
जेनजी भन्दै धम्क्याउने पनि हिरासतमा
जेन–जीका नाममा सरकारी कर्मचारीलाई धम्की दिँदै हिँडेको आरोपमा अर्जुन शाही पक्राउ परेका छन् । उनी प्रधानमन्त्री सुशीला कार्कीको बालुवाटारमा भएको शपथमा समेत देखिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार उनको साथबाट प्रहरीको परिचयपत्रसमेत भेटिएको छ । ‘प्रहरी टोलीले गएर ल्याउँदा प्रहरीको आईडी कार्ड भेटिएको छ,’ थापाले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’ उनको साथमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) को परिचयपत्र भेटिएको हो । परिचयपत्रमा कुमार शर्माको नाम छ । शर्माको हराएको परिचयपत्र फेला पारी दुरुपयोग गरेर उनले विभिन्न व्यक्तिलाई धम्क्याएको हुन सक्ने आशंका अनुसन्धान अधिकृतहरूको छ । उनको गतिविधिलाई लिएर गुनासो आएपछि प्रहरीले पक्राउ गरेको थियो ।
जेन–जी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले केरकार गर्दै आएका थिए । नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीले उनको गतिविधिबारे गुनासो गरेका थिए । युट्युबरका साथ कार्यालयहरूमा पुग्ने उनले कर्मचारीको राजीनामा माग्ने गरेका थिए । पछि शाहीबारे खोजी हुँदा उनी वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको थियो । उनलाई २८ वैशाख २०८२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले कोरिया पठाउँछु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।
२३ भदौमा भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेन–जीमाथि राज्यपक्षले दमन गर्दा एकै दिन कम्तीमा २२ जनाको गोली लागेर ज्यान गएको थियो । भोलिपल्टको प्रदर्शनले विध्वंसको रूप लिएको थियो । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित महत्त्वपूर्ण संरचनामा आगजनी भएको थियो । शीर्ष नेता, पार्टी कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका घरमा समेत आगजनी र तोडफोड भएको थियो । धेरै ठाउँमा लुटपाट पनि भएको थियो । अहिले प्रहरीले आन्दोलनका नाममा घुसेका ‘आपराधिक मानसिकता र पृष्ठभूमिका’ व्यक्तिहरूबारे अनुसन्धान गरिरहेको छ । दोस्रो दिनसमेत गरेर जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
