नितुका बुबा भन्छन्– ‘बाबुलका कारण छोरीको ज्यान गयो’

नितु पौडेलको परिवारको जाहेरीपछि प्रहरीले गायक तथा संगीतकार बाबुल गिरीलाई आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

कार्तिक ७, २०८२

विवेक पोख्रेल

Neetu's father says - 'My daughter died because of Babul'

What you should know

काठमाडौँ — गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीको स्टुडियोमा गत शनिबार आफैंमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । उपचारको क्रममा शुक्रबार बिहान साढे ८ बजे पौडेलको मृत्यु भएपछि गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा अस्पताल पुर्‍याइएकी नितुको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । पौडेलको परिवारको जाहेरीपछि प्रहरीले गिरीलाई आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

आत्मदाहको प्रयास गर्नुअघि गत शनिबार नितुले सामाजिक सञ्जाल फेसबुक स्टाटसमा आफूले ठूलो निर्णय लिने भन्दै पोस्टसमेत गरेकी थिइन् । नितुका बुबा रमेशप्रसाद पौडलले बाबुल गिरीले विवाहको झुटो आश्वासन दिएर शारीरिक शोषण मात्र गरेकोले छोरीले आत्मदाह गरेको बताए । ‘हामीले छोरीलाई विवाहको प्रस्ताव गर्दा उनी आनाकानी गर्थिन् । टेन्सन मान्नु पर्दैन म आफैं गर्छु भन्थिन् । बिहेको बेला भएपछि म दाजुलाई भन्छु पनि भनिन्,’ नितुका बुबा पौडेलले भने, ‘छोरी बाबुल गिरीसँग ८ वर्षदेखि प्रेम सम्बन्धमा रहिछ । दुई वर्षअघि कान्छी बहिनीलाई बाबुल गिरीसँग विवाह गर्छु नत्र गर्दिनँ भनेकी थिई रे । ’

गिरीका बुबा बितेपछि आफ्नै ममीसँग पनि नितुले कुरा गरेकी रहिछन् । दसैंमा गिरीसँग कुरा गरेर बिहेको कुरा टुंग्याउने भनेकी उनको मृत्युको खबरले पौडेल परिवार अहिले शोकमा छ । नितुको आत्मदाहपछि उनका नजिकका मानिसहरुलेसमेत एक वर्षअघिदेखि बाबुलका कारण उनी तनावमा रहेको बताउँछन् । ‘बाबुलको परिवारलेसमेत मेरो छोरीलाई धम्काउने, मानसिक यातना दिने, चरित्रहीनको आरोप लगाउने र यसबाट घर चल्दैन भनेर भनेको कुरा उनले साथीहरुलाई भनेकी रहिछन्,’ रमेशले भने, ‘केही समयदेखि छोरी मलिन अनुहारमा पनि थिइन् । सञ्चो छैन भन्थिन् ।’

उनका बुबाले प्रहरीमा दिएको जाहेरीमा उक्त दिन बाबुलले नितुलाई प्रेम सम्बन्धको बारेमा टुंगो लगाउनु छ भन्दै स्टुडियोमा बोलाएका थिए । बाबुलले 'दिदी अञ्जली, मिना र दाइ हाम गिरीलगायत परिवारका सदस्यहरुले तिमीसँगको सम्बन्धलाई स्वीकार गर्न मानेका छैनन् त्यही कारण विवाह हुन सक्दैन' भनी भनेको कुरा उल्लेख छ । वादविवाद पछि छोरीले विवाह हुन नसक्ने भनेपछि आफ्नो प्रगाढ प्रेमका कारण आत्मदाह गरेको जाहेरीमा उल्लेख छ ।

बुबा रमेशले बाबुल सामान्य अवस्थामा हुँदा छोरीबाट प्राप्त सहयोग लिएको र केही गीत चलेपछि बेवास्ता गरेकोसमेत आरोप लगाए ।

केही वर्षयता भने बाबुलका गीतहरू हिट हुन थाले । ‘दिन दिनै आउँछु, म त आमाको पाउ ढोगेर आएँ, सपनाको भारी, अटल बाचा गरो, अंश मलाई देऊ, बस्यो माया, यो हो नि तरिका, मन त सधैं लक्का जवान, ड्याम ड्याम, सिरूपाते जुंगा, मनको बाघले, उनभित्र गुण फुल्ने, वा वा वा, मयालाई चिनो, नारीलाई त सुहाउँछ नि सारीमा, अमेरिकासम्म’ लगायतका गीतमा संगीत र स्वर दिएका बाबुलका गीतहरू चर्चामा आएसँगै बाबुल चिनिन थालेका थिए ।

बाबुलको पछिल्लो गीत ‘घामै राजा’, ‘सुतेर उठेको पैसामा’ पनि चर्चामा थियो । नितु र बाबुलले केही गीतमा सहकार्य पनि गरेका थिए । ‘सत्य राम कसम’ गीतमा बाबुलको शब्द तथा कम्पोज थियो भने नितुले रवि ओडसँगै गाएकी थिइन् । ‘उसको नजरमा के’ गीतमा पनि उनले बाबुलसँगै स्वर दिएकी थिइन् । तीज गीतमा पनि बाबुल र नितुको सहकार्य भएको देखिन्छ । दुई वर्षअघिको ‘हाइ हाइ शिव हाइ हाइ’ गीतमा नितुको स्वर र बाबुलको शब्द तथा संगीत थियो ।

नितु एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय थिइन् । उनले ७ वर्षअघि संगीत सिकेकी पनि थिइन् । नितुको स्वरमा ‘आँखैमा पियार मनमा तिर्सना’ गीतले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाएको छ । उनी गायनसँगै मोडलिङमा पनि सक्रिय थिइन् । ३० वर्षकी नितुले गायनसँगै क्याफे पनि सञ्चालन गर्दै आएकी थिइन् । उनको क्याफे र बाबुलको स्टुडियो नजिकै पर्छ । नितुको परिवार रसुवाबाट बसाइँ सरेर २५ वर्षदेखि काठमाडौंमा बस्दै आएको छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully