गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीसँगको विवादपछि उनले आत्मदाहको प्रयास गरेकी थिइन् ।
What you should know
काठमाडौँ — अनामनगरस्थित एक स्टुडियोमा गत शनिबार गायिका नितु पौडेलले आत्महत्याको प्रयास गरिन् । घटनाको छैटौं दिनमा उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । यो मृत्यु प्रकरणको पृष्ठभूमि र घटनासँग सम्बन्धित अन्य आयामबारे हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।
१. नितु पौडेल मृत्यु प्रकरण खासमा के हो ?
गत कात्तिक १ गते गायिका नितु पौडेलले आफ्नै जिउमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरिन् । अनामनगरस्थित एक स्टुडियोमा उनले आफूलाई आगो लगाएकी थिइन् । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीसँगको विवादपछि उनले आत्मदाहको प्रयास गरेकी थिइन् । प्रहरीका अनुसार उनलाई बचाउने क्रममा बाबुल पनि सामान्य घाइते भएका थिए । आत्मदाहको प्रयास गर्नुअघि सोही दिन नितुले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमा आफूले ठूलो निर्णय लिने भन्दै पोस्टसमेत गरेकी थिइन् । घटनालगत्तै नितुलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । सोही क्रममा शुक्रबार बिहान उनको मृत्यु भयो ।
२. नितु र बाबुलबीचको सम्बन्ध के हो ?
पारिवारिक स्रोतका अनुसार नितु र बाबुल सात वर्षदेखि प्रेम सम्बन्धमा थिए । अनामनगरस्थित बाबुलको स्टुडियो नजिक नितुले खाजाघर सञ्चालन गरेकी थिइन् । बाबुलले संगीतमा संघर्ष गरिरहेको बेलामा नितुले सहयोग र भरथेग गरेको नितुका नजिकका व्यक्तिहरू बताउँछन् । लामो समयको प्रेम सम्बन्धलाई नितु विवाहमा परिणत गर्न चाहन्थिन् । तर बाबुल र उनको परिवारसँग केही वर्षयता नितुको सम्बन्ध चिसिँदै गइरहेको थियो । झण्डै एक वर्षअघि बाबुलका बाको निधन भयो । बाको वार्षिकीपछि विवाह गर्न नितुले बाबुललाई मनाउन खोजिरहेकी थिइन् । किनकि उनी लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न चाहन्थिन् । बाबुल र नितु निकटका साथीहरूसँग कुरा गर्दा तर केही महिनायता उनीहरूबीच विवाद चुलिँदै गएको थाहा हुन्छ ।
३. नितु र बाबुलबीचको पृष्ठभूमि के हो ?
नितु र बाबुल सांगीतिक पृष्ठभूमिका व्यक्ति हुन् । नितु एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय थिइन् । उनले ७ वर्षअघि संगीत सिकेकी पनि थिइन् । नितुको स्वरमा ‘आँखैमा पियार मनमा तिर्सना’ गीतले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाएको छ । उनी गायनसँगै मोडलिङमा पनि सक्रिय थिइन् ।
नितुजस्तै सांगीतिक संघर्षमा बाबुल २०७२ सालदेखि थिए । केही वर्षयता भने बाबुलका गीतहरू हिट हुन थाले । ‘दिन दिनै आउँछु, म त आमाको पाउ ढोगेर आएँ, सपनाको भारी, अटल बाचा गरेँ, अंश मलाई देऊ, बस्यो माया, यो हो नि तरिका, मन त सधैँ लक्का जवान, ड्याम ड्याम, सिरूपाते जुंगा, मनको बाघले, उनभित्र गुण फुल्ने, वा वा वा, मयालाई चिनो, नारीलाई त सुहाउँछ नि सारीमा, अमेरिकासम्म’ लगायतका गीतमा संगीत र स्वर दिएका बाबुलका गीतहरू चर्चामा आएसँगै बाबुल चिनिन थालेका थिए ।
बाबुलको पछिल्लो गीत ‘घामै राजा’, ‘सुतेर उठेको पैसामा’ पनि चर्चामा थियो । नितु र बाबुलले केही गीतमा सहकार्य पनि गरेका थिए । ‘सत्य राम कसम’ गीतमा बाबुलको शब्द तथा कम्पोज थियो भने नितुले रवि ओडसँगै गाएकी थिइन् । ‘उसको नजरमा के’ गीतमा पनि उनले बाबुलसँगै स्वर दिएकी थिइन् । तीज गीतमा पनि बाबुल र नितुको सहकार्य भएको देखिन्छ । २ वर्षअघिको ‘हाइ हाइ शिव हाइ हाइ’ गीतमा नितुको स्वर र बाबुलको शब्द तथा संगीत थियो ।
४. यो प्रकरणमा प्रहरीले के गरिरहेको छ ?
बिहेको टुंगो लगाउन भन्दै बाबुलले स्टुडियोमा बोलाएको परिवारको दाबी छ । परिवारले बाबुलविरुद्ध जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइसकेको छ । काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार आत्महत्या दुरूत्साहन मुद्दामा उनलाई पक्राउ गरिएको हो ।
५. अब अनुसन्धान कसरी अघि बढ्छ ?
पौडेलको मृत्यु जलनको कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पौडेलको पोस्टमार्टम लगायतको काम बाँकी नै छ । जाहेरी नआए पनि घटनापछि प्रहरीले गिरीलाई अनुसन्धानमा राखेको थियो । शुक्रबार पक्राउ परेका गिरी माथि प्रहरीले अनुसन्धान सुरु गरेको भट्टराईले बताए ।
शुक्रबार सार्वजनिक बिदा परेकाले अदालतमा म्याद थपका लागि उनलाई उपस्थित गराउन नसके पनि अदालत खुलेको दिन म्याद लिएर उनको बयानको काम भने सुरु गर्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
