नियमित महाधिवेशन मंसिरभित्र गर्ने कि फागुन २१ को चुनावपछि भन्नेमा संस्थापन पक्षभित्रै मतभेद देखिन थालेको छ ।
What you should know
काठमाडौँ — पार्टीभित्र सहमति नजुटेपछि कांग्रेस महामन्त्री गगन थापाले मंसिर २७–२९ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्न सकिने कार्यतालिका सार्वजनिक गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि बिहीबार बिहानको कार्यसम्पादन समितिको बैठकमा थापाले वडादेखि केन्द्रसम्मका सबै तहका अधिवेशनको तालिका प्रस्ताव गरेका थिए । केन्द्रीय कार्यसमितिमा एजेन्डा लैजान छलफलमा ल्याएको उक्त प्रस्तावलाई संस्थापनपक्षीय नेताहरूले नमानेपछि थापाले शुक्रबार सबैको जानकारीका लागि सार्वजनिक गरेका हुन् । यसले कांग्रेसभित्र थप विवाद चर्किँदै गएको छ ।
थापाले सार्वजनिक गरेको तालिकामा कात्तिक २१ गतेभित्र क्रियाशील सदस्यताको नवीकरण र नयाँ सदस्यताको टुंगो लगाएर अधिवेशन सुरु गरिने उल्लेख छ । उनको प्रस्ताव अनुसार कात्तिक २१ गतेसम्म नयाँ र नवीकरण सदस्यता टुंग्याउने, कात्तिक मसान्तभित्र निर्वाचन समितिलाई सदस्यताको नामावली बुझाउने, मंसिर ५ मा देशभर एकैदिन वडा अधिवेशन, मंसिर ८ मा गाउँ/नगर, उपमहानगर/महानगरपालिकाको अधिवेशन गर्ने, मंसिर १२ मा प्रदेशसभा र क्षेत्रीय अधिवेशन गर्ने उल्लेख छ । त्यसैगरी मंसिर १५ मा प्रतिनिधिसभा क्षेत्रीय र त्यसैदिन विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन गर्ने, मंसिर १८ मा जिल्ला, मंसिर २१ मा प्रदेश अधिवेशन सम्पन्न गरेर मंसिर २७–२९ गतेसम्म केन्द्रीय अधिवेशन गर्ने प्रस्ताव छ ।
केन्द्रीय कार्यसमिति र कार्यसम्पादन दुवैमा संस्थापन पक्षको बाहुल्य रहेकाले महामन्त्री थापाको उक्त प्रस्ताव औपचारिक रूपमा अघि बढ्न पाएको छैन । केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको कार्यतालिका लैजाने विषयमै संस्थापन पक्ष अनुदार भएपछि थापाले मंसिर मसान्तसम्म सकिँदै गरेको कार्यसमितिको कार्यकाल थप्ने प्रस्ताव समेत नलैजाने बताउँदै आएका छन् ।
‘मंसिरभित्रै नियमित महाधिवेशन गर्न तयार नहुने हो भने विशेष महाधिवेशनमा जानुपर्छ र त्यसको तयारी पनि सँगसँगै गर्नुपर्छ भन्ने महामन्त्री थापाको योजना छ,’ थापा निकट एक केन्द्रीय सदस्यले भने ।
संस्थापन पक्षभित्रै विभाजित मत
मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा संस्थापन पक्षभित्र नै विभाजित मत देखिन थालेको छ । कार्यवाहक सभापतिसहित पूर्वपदाधिकारीहरूको समूह निर्वाचनपछि मात्रै नियमित महाधिवेशनमा जानुपर्ने तर्क गरिरहेका छन् । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने संस्थापन पक्षकै सदस्यहरूमध्ये आधा दर्जनभन्दा बढीले मंसिरभित्रै नियमित महाधिवेशनको माग गरेका छन् ।
केन्द्रीय सदस्यहरू भरतकुमार शाह, पुष्पा भूषाल, डिला संग्रौला, अर्जुनकुमार जोशी, जीपछिरिङ लामा, मुक्ताकुमारी यादव, कैकुलाल वाल्मीकि, नारायणी रायमाझीलगायतले सभापति शेरबहादुर देउवाले समयभित्रै महाधिवेशन गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिको स्मरण गर्दै मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए । संस्थापनपक्षीय सदस्य जोशीले सभापतिले दिएको अभिव्यक्तिलाई आफूअनुकूल व्याख्या नगरी मंसिरभित्रै नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखे ।
‘नेताहरूले सत्तालाई निजी सम्पत्ति र पेवा ठान्दा आज यो अवस्था आएको छ । आज सबैको घर–घरमा जेन जेड छन् । घरभित्रै चुनौती छ । कित्ता र गुटको नाममा आँखा चिम्लिएर बस्दा यो अवस्थामा पुगेका छौं,’ जोशीको भनाइ थियो, ‘महाधिवेशनलाई चुनावअगाडि कि पछि भनेर बस्ने बेला होइन । समयभित्रै महाधिवेशन गर्न जरुरी छ ।’
केन्द्रीय सदस्य पुष्पा भूषाल र डिला संग्रौलाले विशेष महाधिवेशनले पार्टीभित्र विभाजित मानसिकता बनाउने भन्दै पार्टी एकतावद्ध बनाउन पनि मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने बताए ।
केन्द्रीय सदस्य जीपछिरिङ लामाले कांग्रेस र एमालेको गठबन्धनले अहिलेको यो स्थिति उत्पन्न गराएको बताए । ‘कहिले कुलमानलाई हटाउने, कहिले राज्यमन्त्रीलाई हटाउने र सरकारको सही मूल्याङ्कन नगर्ने कामले अहिले यो स्थिति उत्पन्न भयो,’ उनले भने, ‘५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरिसकेको अवस्थामा मंसिरभित्र नियमित महाधिवेशन गर्नु उपयुक्त विकल्प हुन्छ ।’
अर्की सदस्य मुक्ताकुमारी यादवले अब देश हाँक्ने भनेका युवा जमात नै हुन् भन्दै केन्द्रीय कार्यसमितिमा मंसिरभित्रै नियमित महाधिवेशनको तालिका आउनुपर्ने बताइन् ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको विद्रोहको सम्बोधन, विशेष महाधिवेशनको माग, युवाहरूको संलग्नता वृद्धि तथा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५औं महाधिवेशनमा जानुपर्ने बताएका थिए ।
‘यसले मात्र ताजा जनादेशसहितको नेतृत्व र नीति लिएर पार्टी नयाँ ऊर्जाका साथ अगाडि आउनेछ । नयाँ युवाको प्रवेश बढ्नेछ । यसले मात्र देशको समस्या हल गर्ने सामर्थ्य राख्नेछ,’ पौडेलको भनाइ थियो, ‘विशेष महाधिवेशनको प्रस्ताव गर्ने साथीहरूलाई धन्यवाद । अहिलेको अवस्थामा यो वा त्यो बहानामा पार्टी अधिवेशन पर सार्ने वा म्याद थप्ने विषयले पार्टी र देशलाई गम्भीर संकटमा धकेल्ने भएकाले त्यसतर्फ सोचिनु हुँदैन । ११औं महाधिवेशन ६० दिनमा सम्पन्न भएकाले यो अवस्थामा सजिलै नियमित महाधिवेशन गर्न सकिन्छ ।’
गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनको मागलाई समर्थन गर्दै यसले नियमित महाधिवेशन समयमै गर्नका लागि बल पुगेको बताए । शर्माले सभापति देउवाले भदौ २३ र २४ को घटनाक्रम किन भयो भनेर समेत प्रस्ट पार्नुपर्नेमा किन नआएको प्रश्न उठाए । ‘यो अवस्था आउनुमा कांग्रेसको शासकीय बेथिति पनि जिम्मेवार छ, यसमा कांग्रेसले क्षमा माग्नुपर्छ,’ शर्माको भनाइ थियो ।
संस्थापन पक्षका धेरैजसो नेताहरू भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रामक ढंगले प्रस्तुत भएका थिए । सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति वीरबहादुर बलायर, कोशी प्रदेश कार्यसमितिका सभापति उद्धव थापा, सरस्वती बजिमय, सुशीला थिङ सबैभन्दा बढी आक्रमक भएका थिए । बलायरले म्याद गुज्रिएका महाधिवेशन प्रतिनिधिहरूलाई जम्मा गरेर विशेष महाधिवेशनको मागको कुनै औचित्य नभएको भन्दै नियमित महाधिवेशन समेत फागुन २१ को निर्वाचनपछि हुनुपर्ने बताए ।
थापाले चुनावअगाडि किन महाधिवेशन चाहियो भन्ने प्रश्न गर्दै फागुन २१ को निर्वाचनअगाडि पार्टीको महाधिवेशन गर्न नहुने तर्क अघि सारे । थिङले विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गर्नेहरूलाई बोलाएर कारबाही गर्नुपर्ने माग गरिन् ।
शुक्रबारको बैठकमा बोल्ने २७ केन्द्रीय सदस्यमध्ये संस्थापन इतरपक्षका शेखर कोइराला पक्षीय सदस्यहरूले विशेष महाधिवेशनको सन्दर्भमा उल्लेख नगरी मंसिरमै नियमित महाधिवेशनको माग गरेका छन् । तर, महामन्त्रीहरू नजिकका सदस्यहरूले भने नियमित महाधिवेशन हुन नसकेमा विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका छन् । कांग्रेसको बैठक शनिबार पनि जारी छ ।
