चाबहिलको एक होटलमा प्रहरीको परिचय पत्र देखाएर बसेका थिए शाही
What you should know
काठमाडौँ — जेन-जीको नाममा सरकारी कर्मचारीलाई धम्कयाउँदै हिँडेको आरोपमा पक्राउ परेका अर्जुन शाहीको साथबाट नेपाल प्रहरीको परिचयपत्र समेत फेला परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार अनुसन्धान अधिकृतहरुले उनी चाबहिलको एक होटलमा प्रहरीको परिचय पत्र देखाएर बसेको भेटिएको बताए । ‘प्रहरी टोली गएर ल्याउँने क्रममा उनीसँग प्रहरीको आईडी कार्ड भेटियो ।’ थापाले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
अधिकृतहरुका अनुसार उनको साथमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत् प्रहरी सहायक निरीक्षक (असई) को परिचय पत्र भेटिएको हो । उक्त परिचयपत्रमा कुमार शर्माको नाम लेखिएको छ । उक्त परिचयपत्रबारे पनि प्रहरीले अनसन्धान जारी राखेको छ । शाहीले यही परिचय पत्र प्रयोग गरेर विभिन्न व्यक्तिलाई धम्क्याएको हुनसक्ने आशंका पनि अनुसन्धान अधिकृतहरुको छ । उनको गतिविधिलाई लिएर गुनासो आएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी परिसरले काठमाडौंले शाहीलाई पक्राउ गरेको थियो ।
जेन–जी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले केरकार गर्दै आएका थिए । त्यसै क्रममा उनले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीले उनको गतिविधिबारे गुनासो गरेका थिए ।
युट्युबरका साथ कार्यालयहरूमा पुग्ने उनले कर्मचारीको राजीनामा माग्ने गरेका थिए । पछि शाहीबारे खोजी हुँदा उनी वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको थियो । उनलाई २८ वैशाख २०८२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले कोरिया पठाउँछु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरेर बुझाएपछि वैदेशिक रोजगार विभागले अनुसन्धान गरिरहेका बेला उनीमाथि प्रहरी वृत्त, महाराजगन्जमा बैंकिङ कसुरको अर्को जाहेरीसमेत थियो । त्यस्तोमा शाही छुट्ने अवस्थामा बुझाइदिन भन्दै अनुसन्धान अधिकृतले विभागलाई पत्र लेखेको पाइएको छ । त्यसबेला जाहेरी दिने श्रीकृष्ण फुयालले समेत आफ्नो स्टुडियोको सामान लगेर सम्पर्कविहीन भएको बताएका छन् ।
‘त्यसबेला १ लाख ८० हजार र २ लाख गरी दुई वटा चेक दिएर बााकी फेरि दिने भन्दै उनीहरू फरार भएका थिए,’ फुयालले भनेका छन्, ‘चेक साट्ने दिन बैंकमा जाँदा एक रुपैयाँ पनि थिएन, त्यसपछि उनीहरूले कोरियामा भयंकर कार्यक्रम गर्न लागेको भन्दै हिँड्नुस् भनेका थिए ।’ बारम्बार भन्दा समेत उनले पैसा फिर्ता नगरेको फुयालले बताएका छन् ।
शाही इलाम २ मा भएको उपचुनावमा समेत उम्मेदवार बनेका थिए । त्यतिबेला उनले जम्मा ५५ मत पाएका थिए ।
यो पनि पढनुहोस्
