मन्त्रालयले ‘आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अघि नबढाइने’ भन्दै ९ असोजमा जारी गरेको विज्ञप्तिबारे गौरीबहादुर कार्की आयोगले स्पष्टीकरण दिएपछि कारबाही प्रक्रिया अघि बढेको हो ।
What you should know
काठमाडौँ — २४ भदौको प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न पक्राउ पर्न थालेका छन् । आन्दोलनमा सहभागीलाई धरपकड नगर्न भन्दै गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि प्रहरी कारबाही सुस्त मात्र भएको थिएन, काठमाडौंमा हिरासतमा रहेका ५८ जना हाजिर जमानतमा छुटेका थिए ।
तर, मन्त्रालयले ‘आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अघि नबढाइने’ भन्दै ९ असोजमा जारी गरेको विज्ञप्तिबारे गौरीबहादुर कार्की आयोगले स्पष्टीकरण दिएपछि कारबाही प्रक्रिया अघि बढेको हो ।
आयोगका सदस्य विज्ञानराज शर्माले २१ असोजमा फौजदारी कसुरमा संलग्नलाई सरकारका संयन्त्रबाट अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने स्पष्ट पारेका थिए । आयोग र मन्त्रालयबाट फरक–फरक विज्ञप्ति आएपछि प्रहरी अधिकारीहरूले समेत मन्त्रालयमा छलफल गरेका थिए ।
आन्दोलनका क्रममा प्रहरी अधिकारीलाई समेत लखेट्ने र कुट्ने काम भएकाले मनोबल उठाउनसमेत कारबाही गर्नुपर्ने उनीहरूको मत थियो । त्यस्तोमा मन्त्रालयका अधिकारीहरूले ‘आफूहरूलाई आन्दोलनमा गएकै भरमा मात्र सीसी टीभी हेरेर पक्राउ नगर्न’ भनेको भन्दै निर्देशन सच्याएका थिए । यसपछि फेरि अनुसन्धान अघि बढाएको प्रहरीले पहिले छुटेकाहरूविरुद्ध समेत मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ ।
२४ भदौमा बन्दुक तेर्स्याउँदै गरेको भाइरल फोटोमा भएका व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्वोच्च अदालतबाट प्रहरीको एसएलआर लुटपाट गरेर देखाउँदै हिँड्ने सम्राट भनिने राजु परियारलाई पक्राउ गरेको हो ।
एसएसपी रमेश बस्नेतका अनुसार, प्राविधिक पक्षको विश्लेषण गरेर प्रहरीले आन्दोलनलगत्तैदेखि उनलाई खोजी गरिरहेको थियो । प्रहरीका अनुसार, पक्राउपछि परियारले सर्वोच्च अदालतमा ड्युटीमा भएका प्रहरीले छाडेको हतियार लिएर गएको बयान दिएका छन् । ‘उनले हतियार नेपाली सेनालाई बुझाएको भनेका छन्, तर त्यसको कुनै प्रमाण भेटिँदैन,’ अनुसन्धानमा संलग्न अर्का अधिकृतले भने, ‘त्यसमा थप खोज्नुपर्ने देखिन्छ ।’
प्रहरीका अनुसार, उनीविरुद्ध २० माघ २०६४ मा काठमाडौं र १४ असोज २०७० मा ललितपुरमा ज्यान मार्ने उद्योगमा मुद्दा चलेको देखिन्छ । पछि १३ पुस २०७५ मा उनी ठगी कसुरमा समेत प्रतिवादी बनाइएका थिए ।
कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, उनीविरुद्ध प्रहरी वृत्त, महाराजगन्जमार्फत १७ पुस २०७९ मा बैंकिङ कसुर, ललितपुर प्रहरीमा ७ साउन २०८० मा ठगी, १० भदौ २०६५ र १३ पुस २०७५ मा अभद्र व्यवहार र १९ वैशाख २०७१ मा प्रहरी वृत्त, स्वयम्भूमार्फत ठगीसम्बन्धीमा मुद्दा दर्ता भएको थियो । उनले दोस्रो दिनको प्रदर्शनमा सहभागी भएर अराजकता मच्चाएका थिए । ‘यस्ता थुप्रै पटके अपराधीहरू आन्दोलनको दोस्रो दिन सडकमा गएर मौकाको फाइदा उठाएको देखिन्छ,’ एक अधिकृतले भने ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार जेन–जी भन्दै कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाहीलाई समेत पक्राउ गरेको छ । उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार, उनको गतिविधिलाई लिएर गुनासो आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । जेन–जी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले केरकार गर्दै आएका थिए । नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीले उनको गतिविधिबारे गुनासो गरेका थिए ।
युट्युबरका साथ कार्यालयहरूमा पुग्ने उनले कर्मचारीको राजीनामा माग्ने गरेका थिए । पछि शाहीबारे खोजी हुँदा उनी वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको थियो । उनलाई २८ वैशाख २०८२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले कोरिया पठाउँछु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरेर बुझाएपछि वैदेशिक रोजगार विभागले अनुसन्धान गरिरहेका बेला उनीमाथि प्रहरी वृत्त, महाराजगन्जमा बैंकिङ कसुरको अर्को जाहेरीसमेत थियो । त्यस्तोमा शाही छुट्ने अवस्थामा बुझाइदिन भन्दै अनुसन्धान अधिकृतले विभागलाई पत्र लेखेको पाइएको छ । त्यसबेला जाहेरी दिने श्रीकृष्ण फुयालले समेत आफ्नो स्टुडियोको सामान लगेर सम्पर्कविहीन भएको बताएका छन् ।
‘त्यसबेला १ लाख ८० हजार र २ लाख गरी दुई वटा चेक दिएर बाँकी फेरि दिने भन्दै उनीहरू फरार भएका थिए,’ फुयालले भनेका छन्, ‘चेक साट्ने दिन बैंकमा जाँदा एक रुपैयाँ पनि थिएन, त्यसपछि उनीहरूले कोरियामा भयंकर कार्यक्रम गर्न लागेको भन्दै हिँड्नुस् भनेका थिए ।’ पछि बारम्बार भन्दा समेत उनले पैसा फिर्ता नगरेको फुयालले बताएका छन् । शाही इलाम २ मा भएको उपचुनावमा समेत उम्मेदवार बनेका थिए र ५५ मत पाएका थिए ।
प्रहरी वृत्त, महाराजगन्जमा असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न आरोपमा काभ्रे स्थायी घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुर घर भई चन्द्रागिरि बस्दै आएका २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल थिङविरुद्ध बुधबार अदालतमा मुद्दा नै दर्ता भएको छ । प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा दुवै जनाविरुद्ध ज्यान र आपराधिक उपद्रव गर्न नहुने कसुरमा सजाय माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा दायर गरेको हो ।
प्रहरीका अनुसार महाराजगन्जमा खटिएका प्रहरी जवान थापालाई कार्यालयबाट लछारपछार गर्दै तानेर सुरुमा बाहिर ल्याइएको थियो । त्यसपछि भाटभटेनी सुपर मार्केट पछाडिको भित्री सडकको कुनामा ल्याएर ज्यान मार्ने उद्देश्यले लाठी, फलामको रड, चिर्पट, इँटा, ढुंगा लगायतका धारिलो हतियार अन्धाधुन्ध प्रहार गरिएको उल्लेख छ । गम्भीर घाइते बनाएपछि समेत अपमानजनक व्यवहार गरिएको थियो ।
प्रहरीले संकलन गरेको कल डिटेल रेकर्डमा युवराज बिहान ६ः४७ बजे विशालनगर क्षेत्रमा देखिन्छन् भने ८ः५४ देखि १०ः१५ बजेसम्म कुमारी मार्ग, बिहान ११ः३७ मा उत्तर ढोका, दिउँसो १२ः१५ देखि ५ः२६ बजेसम्म चक्रपथ नजिकै कुमारी मार्ग, ६ देखि ७ बजेसम्म नारायणगोल चोक वरिपरि देखिन्छन् । सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा अर्का आरोपित तामाङले पनि कसुर स्विकारेका छन् ।
महाराजगन्जमा कार्यरत असई होमबहादुर विकले आन्दोलनकारीले प्रहरी सहायक निरीक्षक राय र जवान थापालाई कार्यालय परिसरबाटै लछारपछार गरेर कुटपिट गरेको देखेको बयान दिएका छन् । ‘मसहित अन्य साथीहरू आगजनी भएको कार्यालय भवनको माथिल्लो तलामा बसेका थियौं, पछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो,’ उनले भनेका छन् ।
विक तिनै प्रहरी अधिकारी हुन्, जसले प्रहरीको सञ्चार सेटमा उपत्यका प्रहरी कार्यालयका प्रमुखलाई ‘बाहिर रोडमा पनि पुलिस मरेको छ, कसरी हुन्छ बचाउनुपर्यो, श्रीमान्’ भन्दै गुहार मागेका थिए । पछि उनले झोक्किँदै आफूहरू ५ मिनेटभित्र मर्ने अवस्थामा रहेको भन्दै सबैलाई अन्तिम स्वर सुनाइदिन भनेका थिए । पछि उनीसहितलाई उद्धार गरेर नेपाल प्रहरी अस्पताल भर्ना गरिएको थियो । २४ भदौमा प्रहरी प्रभाग, कोटेश्वरमा प्रहरी सहायक हबल्दार अमृत गुरुङको पनि हत्या भएको थियो ।
प्रहरीले टेकुमा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रवेश गरेर तोडफोड, आगजनी गर्ने भारतीय नागरिक २२ वर्षीय निरज पोद्दार, दोलखा घर भएका लक्ष्मण थामी र काठमाडौंका २७ वर्षीय सजन तामाङलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार, उनीहरू कार्यालयबाट लुटिएको हतियारसहित प्रदर्शनमा उत्रिएका थिए ।
