बैंकको लकरमा राखिएको धनमाल कति सुरक्षित ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

बैंकले दिने लकर सेवा लिएका सेवाग्राहीले लकरभित्र राखेका धनमाल जले, हराए वा क्षति पुगेमा के हुन्छ ?

आश्विन २९, २०८२

यज्ञ बञ्जाडे

How safe is the money kept in the bank locker? Find out in five quizzes

What you should know

काठमाडौँ — जेन‌-जी आन्दोलनपछि सिर्जित परिस्थितिका क्रममा निजी र सरकारी भवनमा मात्रै आगजनी र विध्वंश भएन, बैंक तथा वित्तीय संस्थाका संरचनामा पनि क्षति पुग्यो ।

बैंक तथा वित्तीय संस्थाका ५२ शाखा र ७३ एक्सटेन्सन काउन्टर १ सय एटीएममा तोडफोड तथा आगजनी भएको बैंकहरूले नै जनाएका छन् । यस्तो बेला धेरैमा जिज्ञासा उठेको छ, के बैंकले दिने लकर सेवा लिएका सेवाग्राहीले लकरभित्र राखेका धनमाल यस्ता घटनामा जले, हराए वा क्षति पुगेमा के हुन्छ ? हामीले यही विषय बुझाउन राष्ट्र बैंक, लकर सेवा प्रदान गरिरहेका बैंकका प्रतिनिधिसँग सोधेर पाँच प्रश्नोत्तर तयार पारेका छौं । 

१) बैंकको लकरमा राखिएको धनमाल (सम्पत्ति) कत्तिको सुरक्षित हुन्छ ?

सेवाग्राहीले आफ्नो घरमा भन्दा बढी सुरक्षा बैंकमा हुने विश्वासमा निश्चित शुल्क तिरेर लकरमा धनमाल राखेका हुन्छन् । त्यसैले यो सुरक्षित छैन भन्न मिल्दैन । बैंकमा उच्च तहको सुरक्षा हुने भएकाले सामान्यतया चोरी र लुटपाटको सम्भावना न्यून हुन्छ । तर, चोरी, लुटपाट, आगलागी वा विध्वंस हुँदै हुँदैन भन्नेचाहिँ होइन । तर यस्ता घटनामा लकरमा रहेका धनमाल हराएमा वा क्षति पुगेको अवस्थामा बैंक जिम्मेवार भने हुँदैन । किनकि बैंकले सेवाग्राहीलाई नै लकरको साँचो दिएका हुन्छन् । लकरमा सेवाग्राहीले राखेका धनमालको विवरण बैकसँग पनि हुँदैन । तर बैंकको लापरबाहीका कारणले चोरी वा लुटपाट भएमा वा अरु कुनै कारणले धनमाल चोरी वा नष्ट भएको पुष्टि भएमा बैंक जिम्मेवार हुन्छन् । अन्यथा प्राकृतिक प्रकोप, आन्दोलन, लुटपाट, आगलागी वा अरु कुनै करणले लकरमा राखिएको धनमाल चोरी, क्षति वा नष्ट भएमा बैंक जिम्मेवार हुँदैन ।    

२) बैंकमा रहेको लकर चोरी भए वा जलेमा वा कुनै कारणले नष्ट भएमा क्षतिपूर्तिको व्यवस्था छ कि छैन ?

यस्तोमा क्षतिपुर्तिको व्यवस्था छैन । तर यसो भन्दैमा लकरहरु पूर्ण रुपमा असुरक्षित भने हुँदैनन । किनकि बैंकहरुले घाम, पानी, आगोबाट सजिलै नष्ट नहुने खालको लकर बनाएका हुन्छन् । लकरको सेवा सञ्चालन गर्दा राष्ट्र बैंकले पनि त्यस्ता कुराहरुको नियमन गरेको हुन्छ । तर, प्राकृतिक प्रकोप, आगलागी, लुटपाटलगायत कारणले लकरमा रहेको धनमाल क्षति भएमा बैंकबाट क्षतिपूर्ति पाइँदैन । 

३) लकरमा राखिएका धनमालको बिमा हुन्छ ?

बैंकको लकरमा राखिएको धनमालको बिमा हुँदैन । त्यसैले लकरमा के कस्ता र कति सामान राखिएका छन् भन्ने विवरण बैंकसँग हुँदैन । लकर प्रयोग गर्नका लागि बैंक र ग्राहकबीच सम्झौता भएको हुन्छ । त्यस्तो सम्झौतामै कानुनले वर्जित गरेका सामाग्री जस्तै: सीमाभन्दा बढी नगद रकम तथा विदेशी मुद्रा, बन्दुक र तिनका गोली आदि लकरमा राखिनेछैन भनेर स्वघोषणा गर्नुपर्छ । यसकारण यदि कसैले लकरमा कानुनले वर्जित गरेका सामाग्री राखेको भेटिएमा पनि सम्बन्धित ग्राहक नै जिम्मेवार हुनुपर्छ । 

४) लकरमा रहेको सामानका बारेमा बैंकको जिम्मेवारी के हुन्छ ?

बैंकको जिम्मेवारी भनेको बलियो अनि आगो र पानीले नष्ट गर्न नसक्ने लकर सेवाग्राहीलाइ उपलब्ध गराउनु हो । यससँगै लकरको उचित सुरक्षा प्रबन्ध गर्ने जिम्मेवारी पनि बैंकको नै हो । लकर सञ्चालन गर्नु अगावै सुरक्षाको लागि सीसीटीभी जडान गर्ने, चोरी तथा आगलागी हुनु अघि सूचना दिन अलार्म पद्धति जडान गर्ने जस्ता व्यवस्था पनि बैंकले गर्नुपर्छ । यस्तो अलार्म पद्धतिबाट सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख सुरक्षा अधिकृतसम्म सूचना प्रवाह गर्न सकिने किसिमको व्यवस्था अनिवार्य रुपमा हुनुपर्छ । 

५ ) लकर सेवाबारे सेवाग्राहीले थाहा पाउनुपर्ने कुराहरु के हुन् ?

लकर सुविधा लिनुअघि ग्राहकले धेरै कुरा जानकारी लिनुपर्ने हुन्छ । सबैभन्दा पहिले ग्राहकले बैंकसँग भएको सम्झौतापत्र राम्रोसँग अध्ययन गर्नुपर्छ । लकर सुरक्षासम्बन्धमा राष्ट्र बैंकको निर्देशन, सुरक्षण व्यवस्था लगायत धेरै कुरा सम्झौतापत्रमा उल्लेख हुने भएकाले लकर प्रयोग गर्नुअघि त्यसको राम्रोसँग अध्ययन गर्नुपर्छ । अर्को कुरा लकर सुविधा बैंकले आफ्ना ग्राहकलाई उपलब्ध गराएको अतिरिक्त सेवा हो । यसकारण सम्झौतामा ग्राहकले मेरो धनमाल तिम्रो बैंकको लकरमा राख्छु, त्यसबापत शुल्क पनि तिर्छु मलाई स्थान उपलब्ध गराउनु भन्ने कुरा उल्लेख हुन्छ । यसकारण लकरमा रहेको सामाग्री बैंकका कर्मचारीबाटै चोरी तथा लुटपाट भयो, वा अरु कुनै बैंककै कमजोरीले क्षति पुगेको अवस्थामा बाहेक बैंकले कुनै जिम्मेवारी लिदैन । सम्पूर्ण जिम्मेवारी सेवाग्राहीकै हुन्छ । 

सम्बन्धित समाचार 

बैंक लकरमा आगजनी भए सेवाग्राहीले क्षतिपूर्ति पाउँछन् ?

यज्ञ बञ्जाडे बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully